महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला | Khabarhub Khabarhub

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

बझाङ– ५२ वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।

रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पना मात्र । सुरुमा रोगको वेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशेषज्ञ डा. कविता साहसँग सम्पर्क गरिन् । आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन् ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कदा रोगले च्याप्दै गएको थियो । ‘धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भएँ’ उनले भनिन्, ‘पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।’

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा. साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन् । उनले भनिन्, ‘दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो ।’

लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन् । उनले भनिन्, ‘मेरो समस्या सुनेर घर परिवार मात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो भएको छ ।’

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनको शल्यक्रिया भएपछि उनले पनि समस्याबाट मुक्ति पाएकी छिन् ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा. साहको बुझाई छ । ‘महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुन सक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् ?’ उनले भनिन् ।

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । दुई महिनाको बीचमा डा. साह आएदेखि दुई जना महिलाको सफल शल्यक्रिया भइसकेको छ । ‘म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ,’ उनले भने ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : ५३ बजे

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

माले – माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार

मलेसियामा एक नेपाली युवकको मृत्यु

बैतडी– बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१

आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री

हसिना खान : दुईजनाको निधनपछि अवसर पाइन्, सांसद बनेको २३ दिनमै मन्त्री भइन्

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक