सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड | Khabarhub Khabarhub

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको मर्मत/सम्भारमा २ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । क्षेत्राधिकारभित्र पर्ने देशभरका सडक मर्मत र खाल्डाखुल्डी पुर्न उक्त रकम खर्च भएको विभागले जानकारी दिएको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ साउनदेखि बैशाख मसान्तसम्म सडक मर्मत तथा सम्भार गर्न २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ खर्च भएको हो ।

सडक विभागअन्तर्गत पर्ने राष्ट्रिय महत्वका तथा रणनीति सडक मर्मतका लागि चालू आवमा ५ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । त्यसमध्ये सडकका खाल्डा खुल्डी र मर्मत सम्भारका लागि बैशाखसम्म करिब ५० प्रतिशत बजेट खर्च भएको हो ।

विनियोजित बजेटबाट चालू आवमा १८ हजार १६४ किलोमिटर सडकको मर्मत गर्ने लक्ष्य लिएकोमा बैशाखसम्म ७ हजार ७७९ किलोमिटर अर्थात ४३ प्रतिशत मात्रै काम भएको छ । जेठ र असार महिनामा पनि मर्मत-सम्भार तथा सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम भइरहेकाले भौतिक प्रगति र बजेट खर्च केही बढ्ने विभागको अनुमान छ ।

विभागले हरेक वर्ष आफ्नो मातहतका सडक मर्मत/सम्भार र खाल्डाखुल्डी पुर्न ५ देखि ६ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नियमित मर्मत र सम्भारबाहेक बाढी, पहिरो, डुबानलगायतका कारण सडक बिग्रेमा वा सुचारु गर्नुपर्ने अवस्थामा विभागले आन्तरिक रुपमा छुट्टै रकम खर्च गर्ने गरेको छ ।

विगतमा नियमित बाहेक बाढी, पहिरो, डुबान र सडक भासिनेलगायतका कारण अवरुद्ध सडक खुलाएबापत खर्च भएको ३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको दायित्व विभागमाथि छ । बैशाखसम्म त्यस्तो दायित्वमा मात्रै २ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको विभागले जनाएको छ ।

चालू आवमा सडक विभागले ४ लाख ७७ हजार २६६ स्क्वायर मिटर सडकका खाल्डाखुल्डी पुर्ने लक्ष्य लिएकोमा बैशाख मसान्तसम्म ४ लाख २५ हजार १२५ स्क्वायर मिटर अर्थात ८९ प्रतिशत सडकका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको हो । खाल्डाखुल्डी पुर्ने काममा भने सन्तोषजनक प्रगति देखिएको छ ।

त्यस्तै, विभागले सोही अवधिमा पटके मर्मत सम्भारअन्तर्गत ८९३ किलोमिटर सडक मर्मत गर्ने लक्ष्य लिएको थियो । जसमा बैशाख मसान्तसम्म ५१८ किलोमिटर सडकमा पटके मर्मत कार्य सम्पन्न भएको छ ।

त्यस्तै, विभिन्न कारणले भासिएर र पहिरोका कारण बिग्रिएको १३१ किलोमिटर सडक पुर्ननिर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य लिएकोमा बैशाख मसान्तसम्म ८८ किलोमिटर सडक मात्रै पुर्ननिर्माण तथा स्तरोन्नति गरिएको विभागले जनाएको छ । असार मसान्तसम्म शतप्रतिशत भौतिक प्रगति हुने विभागले जनाएको छ ।

नियमित रुपमा मर्मत गर्नुपर्ने सडकका लागि हरेक वर्ष विभागले बजेट छुट्याउने गरेको सडक विभाग उपमहानिर्देशक तथा सम्भार महाशाखा प्रमुख प्रभातकुमार झाले बताए । ‘विभागले नियमित मर्मत गर्नुपर्ने, खाल्डाखुल्डी पुर्ने र पटके मर्मत-सम्भारका लागि वार्षिक ५ देखि ६ अर्ब रुपैयाँ बजेट छुट्याउँछ,’ उनले भने, ‘यस वर्ष बैशाखसम्म नियमित मर्मत सम्भारमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ ।’

सडक मर्मत तथा सम्भारको काम विभागअन्र्तगत सम्बन्धित जिल्लामा सडक डिजिभन कार्यालयहरूले गर्दै आएका छन् । आगामी आर्थिक वर्ष २०ं८१/०८२ का लागि पनि विभागले मर्मत सम्भारका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ ।

सडक विभागअन्तर्गत देशभर करिब २० हजार किलोमिटर सडक पर्दछ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : २९ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो