नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने | Khabarhub Khabarhub

नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्ने गरी कार्य तालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताए ।

‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्’, उनले भने ।

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्ने गरी कार्य तालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो । यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ ।

इञ्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताए ।  निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित एक सय ९८ जना खटिएका छन् ।

वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ । ‘सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ’, इञ्जिनियर खनालले भने ।

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिए ।

एक सय १३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र तीन सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो ।
रासस

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : ४८ बजे

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा