विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको ठूलाे क्षति | Khabarhub Khabarhub

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको ठूलाे क्षति


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ यसपटक ।

विभागकानुसार यस वर्षको मनसुन करिब अन्त्यको चरणमा पुग्नै लाग्दा देशव्यापी रूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमति, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेका छ । आज साँझपख एकैछिन घाम लागे पनि प्रभावितमा खुसीको सञ्चार भयो ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण उपत्यकाका नदी तटीय क्षेत्रका अधिकांश तरकारी बजार, सार्वजनिकस्थल, विद्यालय, सडक पूर्वाधार, बल्खु आसपासका अधिकांश थोक बजारमा बाढी पसेको छ । बिहीबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित मात्रै भएको छैन, उपत्यका प्रवेश गर्ने सडक नाका, मुख्य राजमार्ग अवरुद्ध छन् ।

काठमाडौं उपत्यकामा ३४ जनाको निधन भएको छ भने १७ जना बेपत्ता छन् । यहाँ दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकानुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको निधन भएको छ । काठमाडौँमा एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजका लागि चार हजार पाँच सय १० जना प्रहरी परिचालन गरिएका छन् ।

यस्तै, स्थानीयस्तरमा पनि युवाले स्वतःस्फूर्त रूपमा उद्धार तथा खोजकार्य गरेका थिए । ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेकालाई स्थानीय युवाले उद्धार गरेको विषय दिनभर नै सामाजिक सञ्जालमा चर्चामा रह्यो ।

वर्षाका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा राजधानी काठमाडौँको आधाभन्दा बढी स्थान प्रभावित भए । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकानुसार वर्षाका कारण अवरुद्ध भएको बिजुली आपूर्ति सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ । अत्यधिक मात्रामा पानी जमेका स्थानमा पोल तथा तार व्यवस्थापनमा समस्या भए पनि प्राधिकरणले आवश्यक प्राविधिक उपकरणसहितको जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिए ।

यस्तै, मुलुककै सबैभन्दा ठूला जलविद्युत् उत्पादन केन्द्रका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको बाँधस्थल तथा बालुवा थिग्य्राउने पोखरीमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

नियमित बिजुली प्रवाहमा समस्या आउँदा दूरसञ्चार सेवा प्रवाहमा समेत सामान्य असर देखियो । फोन गर्दा नसुनिने, बोल्दा बोल्दै काटिनेजस्ता समस्या आज देखिएका थिए । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मातहत निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर विपद्को समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बेलकनदेखि वर्षाको स्तर विस्तारै कम हुँदै जाने बताए । उनकानुसार नदीमा जलस्तर क्रमशः कम हुँदै जाँदा जोखिम पनि कम हुनेछ । जलस्तर कम हुँदै जाँदा खोज, उद्धार र राहतमा जुटन सहज हुनेछ ।

“समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । चौबिस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । मुलुकभर एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह पार गरेको थियो”, शाखा प्रमुख पराजुलीले भने ।

आजै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन समन्वयात्मक बैठकले वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेको छ । बैठकले अवरुद्ध भएका सबै सडक अविलम्ब खोल्ने, मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मनसुनको अवधि लम्बिदै गएको तथा पानी पर्ने प्रवृत्तिसमेतमा परिवर्तन भएको सन्दर्भमा जोखिम न्यूनीकरणका लागि सचेतना वृद्धि र पूर्वतयारीको कामलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जानकारहरूको भनाइ छ । मौसम पूर्वानुमान प्रणाली विश्वसनीय र भरपर्दो बन्दै गएको सन्दर्भमा पूर्वतयारीको कामलाई गति दिनु अत्यावश्यक भइसकेको उनीहरूको मत छ ।

जलवायु एवम् वातावरण विषयका जानकार डा पपुुलर जेन्टल मनसुनको दुई वा तीन महिनामा नै कूल वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुँदै आएको सन्दर्भमा सावधानी अपनाउनु नै पहिलो शर्त भएको बताउँछन् । विकास र वातावरणबीचको सन्तुलन बिग्रन जाँदा नदी तटीय क्षेत्रमा बढी जोखिम परेको उनको भनाइ छ । “हाम्रो विकास नदी किनारमा केन्द्रीत छ । सोही कारण नदीको प्राकृतिक प्रवाहमा अवरोध उत्पन्न हुनपुगेको छ । यसलाई ध्यान दिनैपर्छ”, उनले भने, “प्रि मनसुन र पोष्ट मनसुन क्रमशः घट्दै गएको अवस्थामा एकैपटक धेरै वर्षा हुँदा जनधनको ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सुरक्षित हुने उपायको खोजी गरिनुपर्छ ।”

मौसम पूर्वानुमानलाई थप व्यवस्थित र आममानिसको तहसम्म पुग्ने बनाउनुपर्नेमा डा जेन्टलको जोड छ । “विभागले यसपटक गरेको पूर्वानुमान शत्प्रतिशत मिलेको छ । धान नकाट्न, यात्रा नगर्न आग्रह गरिएको थियो । त्यसैले आममानिसमा सूचना पुग्न सकेन कि भन्ने प्रश्न रहेको छ”, उनको भनाइ छ,“पूर्वसूचनालाई ध्यान नदिँदा वा वास्ता नगर्दासमेत जनधनको क्षति हुन पुगेकाले आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । घाम लागेपछि हामी क्रमशः विपद्को क्षति बिर्सदै जान्छौँ । अर्को वर्ष उस्तै पुनरावृत्ति हुन्छ तर अब यस्तो हुनुहुँदैन ।”

मनसुन नेपालका लागि प्राणवायु जत्तिकै महत्वपूर्ण छ । खेतीपाती एवम् मुलुकको अर्थतन्त्रसमेत मनसुनसँग प्रत्यक्ष जोडिएकाले जोखिम कम गर्दै पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्नु जरूरी भइसकेको धेरैको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : १५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले