दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ? | Khabarhub Khabarhub

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर केही गीत यस्ता छन्– जुन बज्न थालेपछि हामीलाई दशैँको महसुस हुन्छ । अर्थात् ‘फेस्टिभ मुड’ ल्याउने गीत हामीले सदियौंदेखि सुन्दै आएका छौं ।

त्यही मध्यको एक गीत हो– सशस्त्र प्रहरीको गीत ‘धानकै बाला झुलौला’ । सो गीतमा भिडियोको प्रमुख भूमिकामा दीपक कोइराला छन् । उनी वरिष्ठ हवलदारकाे भूमिकामा छन् ।

पहिला टेलिभिजनको जमाना होस् या अहिले सामाजिक सञ्जालको यो गीतले उत्तिकै स्थान पाएको पाइन्छ । अहिले यो गीतको बारेमा सामाजिक सञ्जालमा मिम (जोक) बन्ने गर्छ । मिममा दीपककै तस्बिर प्रयोग हुन्छ ।

उनीबारे बनेका मिम यस्ता हुन्छन् :

‘यो दाइले यसपाली बिदा पाए कि पाएनन् ?’

‘यो पटक चाहिँ यी दाइले बिदा पाउनु नै पर्छ ।’

‘यो दाइले यो पटक पनि बिदा पाएनन् दशैँ नै खल्लो हुने भयो ।’

‘मेरी हजुरआमालाई यो दाइले बिदा पाएको हेर्ने अन्तिम इच्छा छ ।’

यी मिमका बारे दिपक पनि जानकार छन् । साथीभाइ, परिवार र आफन्तले समेत उनलाई मेसेजमा यी मिम सेयर गरिरहेका हुन्छन् ।

भन्छन्, ‘प्रायः कमेन्टहरुमा म इन्जोय गर्छु । केही परिवारसँग बसेर पढ्नै नमिल्ने पनि कमेन्ट आउँछन् । म ती कमेन्टलाई पनि उहाँहरुको अज्ञानता हो भनेर स्वीकार गर्छु ।’


‘यसले पिण्ड खायो होला’, ‘यो कता खाडीमा चौकीदारी गर्दैछ होला’ भन्ने कमेन्ट छोरा–छोरीले पढेर नरमाइलो मान्ने गरेको पनि घटना उनीसँग छ ।

भन्छन्, ‘छोरा–छोरीले यस्ता कमेन्ट पढ्दा रहेछन् र ममीलाई बाबाको बारेमा यस्तो भनेछन् भनेर सुनाउँदा रहेछन् । मलाई त खासै फकर पर्दैन उनीहरुलाई नराम्रो लाग्दो रहेछ ।’

यस्ता मिमले दर्शकसामु आफूलाई अध्यावधिक बनाएका कारण पनि उनी खुसी छन् । भन्छन्, ‘मिम नबनेको भए दर्शकले मलाई बिर्सनुहुन्थ्यो । मिमले बिर्सन दिएको छैन । हरेक वर्ष मेरो पूरानो अनुहार मिममा आइरहन्छ ।’

यी त भए मिमका कुरा । दशैँकाे बिदाबारे दीपकको व्यक्तिगत किस्सा पनि छ ।

‘म बद्री, रातो टिका र जमरा लगाएर फिल्ड निस्कँदा बूढाबूढा बाआमाले चिन्नुहुन्छ । उहाँहरुलाई साँच्चिकै यसले बिदा पनि पाएको छैन र पीडामा छ भन्ने लाग्दो रहेछ,’ उनी सुनाउँछन्, ‘अनि उहाँहरुले सहानुभूति देखाउनुहुन्छ र सुम्सुम्याउँदै भन्नुहुन्छ– मेरो बाबा तिमी यसपाली पनि घर जान पाएनौ है ।’

गीतको कुरा

‘वर्षमा दिनको यो बडादशैँ कमेरो लाइएन
देश र जन्ता भन्दामा भन्दै घर जान पाइएन’

यो गीत उनले सुरक्षा सेवामा रहेर बिदा नपाएको, श्रीमती र छोरा छोरीले घरमा दशैँका लागि कुरिहरेको शब्द बुनेका छन् । साथै उनले गीतमा छोराले बिदा नपाएका दशैँमा घर नआउँदा आमालाई नरुन आग्रह गरेका छन् ।

यो गीतको शब्द मात्रै होइन भिडियो पनि भावुक बनाउने छ । सोहीकारण आजको दिनमा पनि यसको चर्चा हुन्छ ।

यो पूरा गीतमा दीपकको मात्रै स्वर छैन । शब्द भने उनी स्वयंको हो ।

यो गीतको छायांकन हुँदा दीपक सइको जिम्मेवारीमा थिए । भिडियोमा वरिष्ठ हवलदारको भूमिकामा देखिनुको कारणबारे उनी भन्छन्, ‘गीतमा अटाएका मानवीय संगठनका सबै पदाधिकारीमा हुन्छ ।म माथिल्लो दर्जामा बसेर घर जान पाइनँ भनेर दर्शकसँग याचना गर्न पदीय मर्यादाले दिँदैन ।’

उपल्लो दर्जाको राष्ट्र सेवकमा अरुलाई सम्झनाउने जिम्मेवारी पदीय र नैतिक जिम्मेवारी हुने उनको बुझाइ छ । उनी थप्छन्, ‘माथिल्लो दर्जाको सेवक जिम्मेवारीमा बसेर मलाई गीतमा जसरी दर्शक र जनतासामु याचना गर्ने अधिकार छैन । त्यही भएर मैले हवलदारको फुली लगाएको हुँ ।’


को हुन् त दीपक ?

दीपक वर्तमानमा सशस्त्र प्रहरीको डीएसपी हुन् । हाल उनी केन्द्रीय कार्यालय हलचोकमा सांस्कृतिक शाखाको जिम्मेवारीमा छन् ।

भन्छन्, ‘म धेरै मिडियामा नआउने भएकाले विभिन्न नकारात्मक कमेन्ट आएको होला । म सेवामै छु भन्ने थाहा पाएको भए नकारात्मक कमेन्टमा कमी आउन्थ्यो कि ?’

उनी एकै संगठनमा दुई पटक नवआगन्तुक भएका सुरक्षा सेवामा लागेको बताउँछन् । भन्छन्, ‘म सेवामै हुँदा खुला प्रतिस्पर्धा इन्सपेक्टरमा भिडेको हुँ । पहिलो पटक ६० सालमा जागिर भयो । दोस्रो पटक ०६४ सालमा जागिर खाएको हुँ ।’

इन्सपेक्टरको तालिम सकेपछि पत्रकारिता अध्ययन गरेका कारण श्रव्यदृश्य शाखामा जिम्मेवारी पारेकाले गीत र भिडियोमा तथा टेलिसिरियमा काम गर्ने अवसर जुरेको उनी बताउँछन् ।

उनले गाएका करिब दर्जन गीत युटुबमा छन् । भन्छन्, ‘दशैँछेक प्रशारण हुने टेलिसिरियलको बीचमा राख्न मैले दशैँगीत लेखेको हुँ । त्यहीले मलाई धेरै दर्शकमाझ परिचित गरायो ।’

बुवाको कारण सुरक्षा सेवामा

दीपकको पुर्ख्यौली घर दोलखा हो । उनी सानो छँदा बुवा नेपाली सेनामा कार्यरत थिए ।

कोइराला दम्पतीको चौथौ सन्तान हुन् दीपक । उनी सानै छँदा आमा बिरामी परेर उपचारका लागि काठमाडौं आइराख्नुपर्ने बाध्यताबस उनी सहरमै हुर्कन पाए ।

भन्छन्, ‘एक दिदीको विवाह भएको थियो । आमा उपचारका लागि काठमाडौं आउनुपर्ने । हामी साना केटाकेटीलाई घर छोड्न नमिल्ने भयो । त्यसपछि बुवाले हामीलाई पनि यतै ल्याउनुभयो ।’

उनले दोलखामा एक कक्षासम्म पढेका थिए । दुई र तीन कक्षा कोटेश्वरस्थित सरस्वती माविमा पढे । चारदेखि एसएलसीसम्म उनले मध्य बानेश्वरको रत्नराज्य विद्यालयमा पढे ।

भन्छन्, ‘म पढ्नमा राम्रै थिएँ । गीत संगीतमा पनि लगाभ थियो । विभिन्न नाटकहरुमा अभिनय गर्थेँ ।’ पत्रपत्रिका र रेडियोमा नाम आउने लोभले साहित्यतिर झुवाक बढेको उनी सुनाउँछन् ।

भन्छन्, ‘नामकै लाभले गीत कथा, कविता, गजलहरु लेख्न थालियो । यसरी सुरु भयो । पछि यतै झुकाव भयो ।’

आईएमा साइन्स पढ्न अस्कलमा भर्ना भएँ । तर पत्रकार बन्ने योजनाले एक महिनामै अस्कलको पढाइ छाडेर पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भएँ ।

उनले केही वर्ष पत्रकारिता पनि गरे । उनी स्मरण गर्छन्, ‘त्यो बेला पत्रकारिता गर्न गाह्रो थियो । आम्दानी पनि न्यून थियो ।’

पत्रकारिताले ज्यान पाल्न सकिँदैन भन्ने महसुस भएपछि उनी नेपाली सेनामा प्रतिस्पर्धा गर्न गए । भन्छन्, ‘बुवा सेनाको जागिरे भएकाले सेनामा प्रतिस्पर्धा गर्न गएको थिएँ ।’

नेपाली सेनामा लिखित कटाए पनि उनको जागिर भएन । नेपाली प्रहरीको प्रतिस्पर्धामा उनी असफल रहे । विसं २०६० सालमा उनलाई सफलता मिल्यो । त्यो सफलता थियो– सशस्त्र प्रहरीको जागिर ।

भन्छन्, ‘मेरो ऊर्जाशील समय नै जागिरमा बित्यो । उमेरहदले दिनेबेला सम्म सेवामा नै रहन्छु ।’

यो दशैँकाे योजना

दीपक यसपालीको दशैँ काठमाडौंको गोठाटारस्थित आफ्नै निवासमा मनाउने योजनामा छन् । तर उनको बिदाको टुंगो छैन ।

भन्छन्, ‘हाम्रो बिदा भन्ने हुँदैन । कुनबेला कता खट्नुपर्छ यो ठेगान छैन । टीका नथापेसम्म बिदा भयो भन्ने ठेगान हुँदैन ।’ भनेपछि यो पटक बिदा पाउने छाटकाट छ ? भन्ने प्रश्नमा दीपक हाँस्दै भन्छन्, ‘टीकाकै दिन थाहा हुन्छ ।’

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

म्याग्दी– विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट

‘टीका लगाउने संस्कार जनजातिको हो’

लामो समय, इतिहास र सभ्यतासँग दशैँ जोडिएको छ। दशैँलाई हिन्दुहरुले

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय