बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ ।
एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ ।
राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ ।
विसं २०६७ सालदेखि सुरु भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो ।
रूपन्देहीको सालझण्डीदेखि सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्याउन समस्या भएको उनको भनाइ छ ।
निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरूरी रहेको उपाध्यक्ष कायतको भनाइ छ ।
ढोरपाटन नगरपालिका–९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चमल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताए । पछिल्लो दुई दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उहाँको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउँछन् ।
‘बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्’, उनले भने, ‘पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी–ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।’
सालझण्डी–ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगामनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताए । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउँछन् ।
सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना सुरु भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरूरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ ।
त्यसमध्ये रूपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिइन् । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उनको भनाइ छ ।
बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताउनुभयो । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उनको भनाइ छ ।
उनले सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८ दशमलव २ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको बताए । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गल्मी र बागलुङखण्डमा सातरसात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरु नभएको उनको भनाइ छ ।
प्रतिक्रिया