सीके राउतसँग मिल्न खोज्दा नाउपामा फेरि किचलो, रेशम सुरिँदा रञ्जिताले चाहिनन् एकता | Khabarhub Khabarhub

सीके राउतसँग मिल्न खोज्दा नाउपामा फेरि किचलो, रेशम सुरिँदा रञ्जिताले चाहिनन् एकता



काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद फेरि छताछुल्ल भएको छ । डा. सीके राउत नेतृत्वको जनमत एकीकरणलाई लिएर पति–पत्नीबीच विवाद चुलिएको हो । यो विवादका कारण पार्टी नै फुट्ने आंशका कार्यकर्ताले गर्न थालेका छन् ।

रेशमले पार्टीमा देखिएको विवादबारे सामाजिक सञ्जालमै आएर बोलेका छन् । उनले जनमतसँग एकता अगाडि बढिसकेकाले कसैले रोकेर नरोकिने चुनौती दिएका छन् । तर उनकी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे जानकारी दिइएको छैन । रञ्जिता र रेशमको दूरी बढेका कारण पार्टीमा संकट देखिएको छ । नाउपामा निर्वाचन कानुनले रञ्जितालाई आधिकारिक अध्यक्षमा रुपमा चिन्छ । संरक्षक पद लिएका रेशमको नाउपामा संस्थापक अध्यक्षबाहेक कुनै कानुनी हैसियत छैन ।

हुन त सजाय माफी मिनाहा भएपछि रिहा भएको केही महिनाबाटै रेशम र रञ्जिताको विवाद सुरु भएको थियो । रञ्जिता भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री भएकै बेला रेशम ०८० जेठ १५ गते रिहा भएका थिए । त्यसबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशमले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।

छुटेको केही समयसम्म दुईबीच कुनै समस्या थिएन । तर सरकारमा जाने नजाने विषयमा खटपट चलिरहेको थियो । प्रचण्डसँग नजिक रहेका रेशमले नै असार ३० गते केपी शर्मा ओली नेतृत्व सरकारमा नजाने निर्णय गरेपछि फेरि दुईजनाबीच बोलचालै हुन छाडेको बताइन्छ । त्यसअघि सुदूरपश्चिम सरकार फेरबदल हुने बेलामा पनि दुई जनाको झगडाका कारण मुख्यमन्त्री पद गुमेको थियो ।

रेशम अहिले कान्छी श्रीमती आशा चौधरीसँग घरमा छन् । यता, रञ्जिता प्रतिनिधि सभा सदस्य भएकाले काठमाडौंमै बस्छिन् । रेशम र रञ्जिताका एक छोरा आमासँगै बस्छन् । उता, कान्छी श्रीमती आशासँग पनि रेशमकी एक छोरी छन् । उनीहरू अहिले एकैठाउँ रहेको रेशम आफैँले सामाजिक सञ्जालमा होली मनाएको पोस्टबाट थाहा पाउन सकिन्छ । भारतको महाकुम्भ मेलामा पनि रेशम कान्छी श्रीमती आशालाई लिएर गएका थिए ।

स्रोतका अनुसार रञ्जितासँग सम्बन्ध बिग्रिएपछि रेशम कान्छी श्रीमतीसँग बस्न थालेका हुन् । कान्छी श्रीमतीसँग बसेपछि रञ्जिताले पनि रेशमलाई वास्ता गर्न छाडेकी छन् । शुक्रबार रञ्जिताको जन्मदिन हो, तर रेशमले शुभकामना दिएका छैनन् । क्षेत्रीय र जातीय नारा दिएर राष्ट्रिय राजनीतिमा आएको नाउपा पारिवारिक कलहका कारण निरन्तर संकटोन्मुख छ ।

रेशम जनमतसँग मिल्ने, रञ्जितालाई थाहा छैन

सुदूरपश्चिम केन्द्रित नाउपा र मधेसकेन्द्रित जनमतबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारे रञ्जितालाई औपचारिक जानकारी छैन । पार्टी संरक्षक रहेका रेशमले मात्रै आफूखुसी एकिरण तयारी गरेका छन् ।

रञ्जितानिकट नेताहरूका अनुसार जनमतसँगको एकताबारे रेशमले डा. सीके राउतसँग आफू मात्रै छलफल गर्ने गरेका छन् । रञ्जितालाई बेवास्ता गर्दै उनले आफूअनुकुल पार्टी बनाउन खोजेको ती नेताको आरोप छ । ‘जनमतसँग एकीकरणको कुरा चलेको रहेछ । रञ्जिताज्यूलाई कुनै जानकारी छैन’, नाउपाका एक सांसदले खबरहबलाई भने, ‘वैधानिक र कानुनी रूपमा पार्टी अध्यक्ष रञ्जिता नै हो । श्रीमती–श्रीमानको इखाइखले पार्टी सक्नुभएन । अध्यक्षलाई त मान्नुपर्छ नि ।’

यता राउत नेतृत्वको जनमतका प्रवक्ता शरदसिंह यादवका अनुसार एकीकरणबारे छलफल संरक्षक चौधरीसँग मात्रै भएको छ । उनले खबरहबलाई भने, ‘हामीले पार्टी संरक्षक रेशमजीसँग वार्ता गरिरहेका छौँ । छिटै एकता हुन्छ ।’ नाउपाबाट प्रतिनिधि सभामा ४ सांसद छन् । सूदुरपश्चिम प्रदेश सभामा ६ जना छन् ।

एकीकरणको विपक्षमा रञ्जिता

रेशमले जसरी पनि जनमतसँग एकता गर्ने दाबी गरिरहेका छन् । प्रक्रिया अगाडि बढिसकेकाले अब एकता भइछाड्ने दाबी गर्छन् । तर, अध्यक्ष रञ्जिता विपक्षमा छिन् । उनी कुनै हालतमा जनमतसँग एकता नगर्ने पक्षमा छिन् । उनीनिकट नेताका अनुसार रञ्जिताले पार्टी केन्द्रीय कमिटी बैठकमा यसबारे बोल्ने भएकी छन् । अहिलेसम्म केन्द्रीय कमिटीका नेताहरू एकताको पक्ष र विपक्षमा खुलेका छैनन् । चैतमा नाउपाको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिलेसम्म मिति तय भएको छैन ।

रञ्जितानिकट तीन नेताले खबरहबलाई भने, ‘अध्यक्षज्यू पार्टी एकताको पक्षमा हुनुहुन्न । उहाँसँग छलफल भएको छैन । उहाँलाई बाइपास गर्न संरक्षकज्यूले एकताको चाल रच्नुभएको हो’, ती नेताले भने, ‘पार्टी फुटेपनि एकता गर्छु भनेर रेशम सर लाग्नुभएको छ, तर यो सम्भव छैन ।’

यता रेशमले फेसबुक लाइभमा बसेर जनमतसँग एकता गर्न पैताला अगाडि बढाइसकेकाले फिर्ता नहुने बताइरहेका छन् । ‘नागरिक उन्मुक्तिको अध्यक्ष हाम्रो पनि हो । उहाँ एकताको विपक्षमा जानुहुन्न जस्तो लाग्दैन’, उनले भनेका छन्, ‘हामी प्रक्रियागत रूपमा अगाडि बढिसकेका छौँ, अब पछाडि हट्दैनौँ ।’ यसरी सांकेतिक रूपमा अध्यक्षलाई सम्बोधन गरेर लाइभ बसे पनि उनीहरूबीच भेटवार्ता भएको देखिँदैन ।

यतिमात्रै होइन, उनले त्यसक्रममा सीके राउतको प्रशंसा गरेका छन् । राउत पढेलेखेका विद्वान भएको उनले बताएका छन् । राउतलाई हौसाएर चौधरीले राजनीतिक संस्कार भएको बताएका छन् । उनले राउत आफूलाई एयरपोर्टमै छाड्न जाने गरेको भन्दै हौसिएका छन् ।

रेशमले श्रीमतीलाई अध्यक्षबाट हटाउने कोसिस नगरेका होइनन् । २७ पुस २०८० मा नाउपाको अध्यक्षमा चौधरी सर्वसम्मत चयन पनि भए । टीकापुरमा सम्पन्न महाधिवेशनबाट चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको थियो ।

तर अदालतबाट हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था भएकले आयोगले रेशमलाई अध्यक्षको कानुनी मान्यता दिएन ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुने योग्यतासम्बन्धी व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका चौधरीलाई निर्वाचन आयोगले मान्यता दिएन । उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा अदालतमा हालेको मुद्दा विचाराधीन छ ।

रेशमले आफू अध्यक्ष हुन नपाएको र अनुकूलको व्यत्तिलाई अध्यक्ष बनाउन नसकेपछि नयाँ पार्टीमा राउतलाई अध्यक्ष मानेर आफू दोस्रो दर्जामा बस्ने योजना बनाएका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए नाउपालाई पनि असर पर्न सक्छ । स्रोतका अनुसार केही सांसद र नेताहरू दल फुटाउने तयारीमा छन् ।

जनमत तयार

जनमतले फागुन २६ गते केन्द्रीय कमिटी बैठक राखेर नाउपासँग एकीकरणका लागि कार्यदल बनाइसकेको छ। राउत नेतृत्वमा बसेको जनमत बैठकले नाउपार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाइसकेको छ ।कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । तर, नाउपाले अहिलेसम्म निर्णय गरेको छैन ।

जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले निर्णय गरिसकेकाले अब नाउपाको पर्खाइमा रहेको बताउँछन् । ‘हामीले त एकीकरण गर्न केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाइसक्यौँ,’ प्रवक्ता यादवले खबरहबलाई भने, ‘नाउपाका साथीहरूसँग कुरा भइरहेको छ । संरक्षक रेशम हामीसँग वार्तामा हुनुहुन्छ । अध्यक्ष रञ्जितलाई पनि यसबारे जानकारी छ ।’

नाउपाबाट केन्द्रीय कमिटीले निर्णय गरेपछि मात्र एकीकरण गर्ने या नगर्ने निर्णय आउने नेताहरूको दाबी छ ।

यसअघि नै ९ बुँदे एकता प्रस्ताव तयार गरेर रेशम भित्रभित्रै एकताको तयारीमा छन् । यो कुरामा रेशमले नै भनिसकेका छन् ।

केन्द्रीय कमिटीले निर्णय गर्ने

नाउपा सांसद गंगाराम चौधरीका अनुसार संसदीय दलको बैठक केही दिनअगाडि बसेको थियो । त्यसबेला केन्द्रीय कमिटी बैठकमार्फत् एकीकरणबारे छलफल चलाउने निर्णय भएको छ ।

‘एकीकरणबारे औपचारिक निर्णय गर्न भ्याएका छैनौँ । चैतभित्रै पार्टी केन्द्रीय कमिटी बैठक बस्छ,’ चौधरीले खबरहबलाई भने, ‘केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोलेपछि मात्रै बहुमतले निर्णय गर्छ । अहिले केही भन्न सकिन्न ।’

उनले बहुमत सदस्यबाट औपचारिक निर्णय आउने बताए । पार्टी अध्यक्ष र संरक्षकबीच विवादले समस्या निम्त्याएको हो भन्ने प्रश्नमा उनले भने, ‘हामीले देख्दा विवाद भए जस्तो लाग्दैन । पार्टी अध्यक्षले यसबारे कुरा गर्नुभएको छैन । संरक्षकले पनि झगडाबारे केही भन्नुभएको छैन ।’

उनी आफूखुसी भन्दा पार्टीबाट निर्णय गरेर एकीकरणबारे निर्णय आउनुपर्ने दाबी गर्छन् । यता रञ्जिता भने यसबारे प्रतिक्रिया दिन मानिन् ।

केन्द्रीय कमिटी डाक्न रेशमको माग

पार्टी संरक्षक चौधरीले लाइभमै पत्नी तथा पार्टी अध्यक्ष रञ्जिताले डेढ वर्षदेखि केन्द्रीय कमिटी बैठक नराखेको आरोप लगाएका छन् ।

अध्यक्षले चाँडोभन्दा चाँडो बैठक राख्नुपर्ने माग उनले गरे । ‘नागरिक उन्मुक्तिमाथि कुठाराघात गर्ने अधिकार कसैलाई छैन । विधि र पद्धति मान्नुपर्छ’, उनले भने, ‘हामी जनमतसँग एकीकरणको पक्षमा छौँ । कसैले मन नदुखाऊँ । हातेमालो गरौँ । एक ठाउँमा उभिऊँँ । पार्टी एकीकरण हुँदा सबैलाई फाइदा हुन्छ, साना पार्टी मिलेर जानुपर्छ ।’

उनले कसैको पद नगुमेकाले डराउनु नपर्ने बताए । ‘कसैको पनि पदीय मर्यादा गुमेको छैन । जनमत राष्ट्रिय पार्टी हो’, उनले भने, ‘हामी क्षेत्रीय पाटी हौँ । एकतापछि हामीलाई उहाँहरूले सम्मानजनक जिम्मेवारी दिनुहुन्छ ।’

यतिमात्रै होइन, एकीकरणका लागि ९ बुँदे ड्राफ्ट पनि तयार भइसकेको चौधरीले बताएका छन् । उनले उक्त ड्राफ्ट केन्द्रीय कमिटी बैठकमा राख्न पाउनुपर्ने माग गरेका छन् । भने, ‘हामीले एकीकरणका लागि ९ बुँदे ड्राफ बनाइसकेका छौँ । म संरक्षक भएकाले यो ड्राफ केन्द्रीय कमिटीमा राख्न पाउनुपर्छ ।’ रेशमले जनमतसँग मात्रै होइन, अन्य विचार मिल्ने शक्तिसँग पनि एकतामा जान सकिने जिकिर गरे ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ०५ बजे

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा