धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले सरकारतिर भन्दा जनतातिर बढी केन्द्रित भएको बताए ।
डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउने तिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’
सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार गलत गर्ने आफन्तलाई बचाउने र विरोधीलाई छानीछानी कारबाही गर्ने पक्षमा देखिएको बताए ।
‘सगरमाथा संवादमा विदेशी नेताको दौडधूप अन्यथा होइन’
नेपालमा भारत र चीनका नेताहरुको दौडधूप बारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले सगरमाथा संवादका विदेशी नेताहरूको आगमन भएको बताए । उनले सरकारले आमन्त्रण गरेकाले उनीहरू उपस्थिति रहेकाले अन्यथा लिन नहुने बताए ।
‘सरकारले बोलाइएको हुनाले आएका हुन्, चिनबाट मात्रै होइन, भारत र अन्य देशबाट पनि धेरैको सहभागितामा संवाद आयोजना हुने भएकाले उनीहरूको उपस्थिति रहेको हो, यसलाई अन्यथा लिनु हुँदैन । प्रचण्डले भने ।
‘वाम एकता ०८४ मा असम्भव’
वाम एकता बारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले २०८४ को चुनावसम्म सम्भावना नरहेको बताएका छन् ।
‘एकताकै लागि प्रयास गरियो, एक पनि भइयो, पार्टी एकीकरण नै गरियो, तर नराम्रोसँग धोका खाइयो,’ प्रचण्डले भने, ‘हामीभन्दा बढी जनतालाई धोका भयो, केपीजीसँग मिल्ने चाहना तत्काल सम्भव छैन ।’
‘हुलाकी यात्रा असाधारण रूपमा सफल’
प्रचण्डले हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियान असाधारण रुपले सफल भएको बताएका छन् ।
उनले गरिब, मजदुर, मधेसी, थारुसहितका विपन्न समुदायको बसोबास क्षेत्रमा पुगेर जनतासँग जोडिनु माओवादीका लागि ऐतिहासिक सफलता भएको बताए । ‘अभियानका क्रममा १ करोड बढीसँग प्रत्यक्ष भेटघाट भयो ।’ उनले भने ।
‘डडेल्धुरा पुग्दा देउवाको स्वागत’
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले त्यहाँबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेको बताए ।
देउवाले डडेल्धुरामा स्वागत भनेको प्रचण्डले प्रसङ्ग निकाले । प्रचण्डले हुलाकी राजमार्ग जागरणसँगै मध्यपहाडी लोकमार्गमा हुने अभियानका लागि पनि सकारात्मक माहोल तयार भएको बताए ।
पहाडको जनसङ्ख्या रोक्न उत्पादन र अवसर आवश्यक
प्रचण्डले भ्रमणका क्रममा डडेल्धुरालाई राम्रो र सुन्दर जिल्ला भएको बताए । ‘मीठो चिसो, यति राम्रो हावापानी र हरियाली साथै उत्पादनको पनि प्रचुर सम्भावना छ, धेरै राम्रो लाग्यो ।’ उनले भने ।
प्रचण्डले पहाडको जनसङ्ख्यालाई रोक्न उत्पादन र अवसरका विषयमा राज्यले ध्यान दिनु पर्ने बताए । सुदूरपश्चिमलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले इञ्चार्ज नै सिनियर नेतालाई जिम्मा दिएको बताए । पार्टी सत्ताको अवसरमा पनि सुदूरपश्चिमलाई अनिवार्य स्थान दिने गरेको बताए ।
‘माओवादीले सुदूरपश्चिमलाई कति ध्यान दिन्छ, धेरै प्रमाणित कुरा छन्,’ उनले भने, ‘पार्टीमा कहिलेकहीँ समस्या जस्तो देखिए पनि त्यो विधिवत् रूपमै टुङ्गिसकेकाले अब चाहिँ सुदूरपश्चिमले गति लिन्छ ।
सङ्क्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर हुन आवश्यक
प्रचण्डले सङ्क्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर हुनु पर्ने धारणा राखे । समझदारीको आधारमा, विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै पीडितलाई ध्यानमा राखेर समाधान गरिनु पर्नेमा उनले जोड दिए ।
प्रचण्डले पार्टी उपाध्यक्ष, महासचिवसहितका नेताहरूलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गराएका हुन् । सम्मेलन प्रेस सेन्टरले आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गको उद्घाटन माओवादीले बैतडीको पाटनबाट सुरु गर्दै छ । समापन सोलुखुम्बु पुगेर गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया