न्युयोर्क– न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएका न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताएका छन् ।
शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजले आफ्ना तीन वटै मस्तुलहरू तोडेको थियो भने पुलमा बसी वसन्त ऋतुको साँझको आनन्द लिइरहेका दर्शकहरू भयभीत बनेका थिए ।
एडम्सले एक्समा लेखेका छन्, ‘यो समयमा जहाजमा सवार २७७ मध्ये दुई जनाको निधन भएको, दुई जना गम्भीर घाइते भएका र १९ जना सामान्य घाइते भएका छन् ।’
अनलाइनमा शेयर गरिएको भिडियोमा मेक्सिकोको नौसैनिक जहाज ‘कुउहाटेमोक’, यसको पालहरू र उत्सवबत्तीहरू लत्रेको देख्न सकिन्छ । जहाजे पुलमुनिबाट अघि बढिरहेका समय जहाजको मुस्तुलले पुलको एक भागलाई ठक्कर दिएको जहाज नदीमा दुर्घटनाग्रस्त भएको थियो ।
यसअघि, मेक्सिकोको नौसेनाले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणका क्रममा पानीजहाज दुर्घटना भएको र यसमा सवार २२ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको थियो ।
न्युयोर्कका प्रहरी प्रमुख विल्सन अरामबोलेसले पत्रकार सम्मेलनमा क्याप्टेनले जहाजलाई चलायमान बनाइरहेका बेला जहाजले शक्ति गुमाएको र ब्रुकलिनतर्फको पुलतर्फ मोडिएको बताए ।
ब्रुकलिनका बासिन्दा २३ वर्षीय निक कोर्सोले पानीनजिकै उभिएका बेला जहाजमा त्रास फैलिएको एएफपीसँग बताए ।
मेक्सिकन नौसेनाले आफ्नो वक्तव्यमा कोही पनि पानीमा नपरेको बताउँदै जहाजको छिट्टै उद्धार गरिने बताए ।
न्युयोर्कको यातायात विभागले एक्समा लेखेको छ, ‘ब्रुकलिन ब्रिजमा संरचनागत क्षतिको कुनै सङ्केत देखिएको छैन तर थप निरीक्षण जारी रहेको छ ।’
दुर्घटनाका कारण ब्रुकलिनबाट म्यानहटन जाने पुल पुनः सञ्चालनमा आउनुअघि करिब ४० मिनेटका लागि अवरुद्ध गरिएको थियो । रासस
प्रतिक्रिया