गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा | Khabarhub Khabarhub

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको अभाव थियो । मूलबाटै आउने भएर पनि पिउनका लागि समस्या भएपछि शुद्ध बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलो पटक नयाँ विधिले पानी खान थालेका छन् ।

गलकोटका १५ विद्यालयमा १६  ‘आरो विधि’को खानेपानी जडान गरिएको छ । यो विधिले पानीको शुद्धिकरण गरेर सिधै धारोबाटै पिउन योग्य बनाइएको छ । पानी परीक्षण गरेपछि शुद्धिकरणको सुझाव आएको थियो । सो सुझाव अनुसार मूलको पानीलाईसमेत पिउन योग्य बनाइएको हो ।

गलकोट नगरपालिकाले चालु वर्षको २० लाख रुपैयाँको लागतमा माध्यामिक तह सञ्चालन भएका सबै विद्यालयमा यो विधिको धारा निर्माण गरेको हो ।

पहिलो चरणमा मावि तहका विद्यालयमा सञ्चालन भएको यो विधि क्रमशः सबै विद्यालयमा पुर्‍याउने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । ‘हरेक बालबालिकाले शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने मान्यताले यो विधि जडान गरेका छौँ’ उनले भने, ‘एउटै विद्यालयमा आधादर्जन धारा जोडिएका छन् । ती धारा अपाङ्गता र बालमैत्री समेत छन् ।

दुई वर्षअघि गलकोटले बालमैत्री नगर घोषणा गरेको थियो । बालमैत्री नगर दिगोपनाका लागि आवश्यक सूचक पूरा गर्दै लैजाने क्रममा शुद्ध पानीको आवश्यकता देखेर लगानी गरिएको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए ।

यसअघि अधिकांश बालबालिकाले सिधै मूलको पानी खाने गर्थे । प्राविधिक रुपमा परीक्षण गर्दा ती पानीका मुहान पनि आवश्यकता अनुसारको शुद्धता नपाएपछि हरेक विद्यालयमा कम्तीमा दुई ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।

गलकोट माविमा भने विद्यार्थी सङ्ख्या धेरै भएकाले यहाँ भने अन्य विद्यालयको जस्तै दुईवटा प्लान्ट जडान भएको छ । ‘विद्यार्थी सङ्ख्याको आधारमा पनि गलकोट माविमा पानी नपुग्ने भएपछि दुईवटा प्लान्ट जोडेका छौंँ’, भण्डारीले भने, ‘यो विधि अब सबै विद्यालयमा लैजाने लक्ष्य छ ।’ यो विधिको पानी खान पाएपछि पूर्ण स्वास्थ्य र पूर्ण सरसफाइको सूचकमा पनि गलकोट अब्बल बन्ने उनले बताए ।

बालमैत्री नगर घोषणापछि दिगोपनाका लागि धेरै प्रकारका सूचक पूरा गर्नुपर्ने कानूनी र व्यवहारिक बाध्यता छन् । ती सूचक भौतिक निर्माण, शिक्षा र स्वास्थ्यमा बढी छन् । स्वास्थ्यमा त शुद्ध पानी खाने विधि नै पहिलो भएकोले यो लगानी गरेर बालबालिकालाई वितरण गरिएको गैरेले बताए ।

बालमैत्री नगर घोषणा अघि वडा तहमा पूर्ण सरसफाइ घोषणा पनि सुरु भएको थियो । अझै त्यो अभियान भने पूरा भएको छैन । तर खानेपानीका मुहान शुद्ध बनाएर हरेक घरमा वितरण गरिने पानीलाई शुद्धिकरण गर्ने काममा भने नगरपालिकाले योजना पनि बनाइरहेको हो ।

एक घर एक धारा अभियानमा पनि गलकोटले सफलता पाउन लागेको छ । ग्रामीण बस्तीमा बाहेक बजार क्षेत्रमा भने हरेक घरमा धारा, शौचालय र सरसफाइका सूचक पूरा भइसकेका छन् । त्यस बाहेक शिक्षामा गुणस्तर बढाउने अभियानमा पनि नगरपालिकाले काम गरिरहेको छ । भौगोलिक रुपमा टाढा भएका बस्तीका बालबालिकालाई आवास व्यवस्थापन गर्ने काम पनि गरेको छ ।

गलकोट माविमा बालिकालाई महिनावारी भएको समयमा नुहाउने र कपडा फेर्ने कोठासमेत बनाइएको छ भने महेन्द्र मावि नरेठाँटीले सहरी विकास कार्यक्रममार्फत आधुनिक शौचालय र स्नानगृहसमेत बनाएको छ । बजेट र आवश्यकता अनुसार अन्य विद्यालयमा पनि यो विधि लैजाने लक्ष्य राखेको नगरप्रमुख गैरेले बताए । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ०९ बजे

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा