सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा सनसनी मच्चिएको छ।
सम्भवत: गत बिहीबार राति या शुक्रबार बिहानदेखि घरबाट गायब स्थानीय उर्मिला हायुको परिवारका १६ जनाको खोजी तीव्र पारिए पनि अहिलेसम्म कुनै सुइँको मिलेको छैन । हायु परिवारबारे सोमबार बिहान साढे ९ बजे खबर पाएपछि साढे १० बजे घरमा पुगेका गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ घटना रहस्यमय रहेको बताउँछन्।
खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको घरमा पुग्दा कुकुर रोइहरहेको थियो भने अरु चौपाया पनि अलपत्र थिए । वडाध्यक्ष श्रेष्ठ, स्थानीय छिमेकी र प्रहरी हायु परिवारको घरमा पुग्दा बेवारिसे बनेको कुकुर झ्यालमा बसेर रोइरहेको थियो । अहिले हायु परिवारको खोजी व्यापक बनाइएको छ । तर यो परिवारका सबै सदस्यको मोबाइल फोनसमेत बन्द रहेकाले घटना झनै रहस्यमय देखिएको छ । हायु परिवारको खोजीमा जुटेका अध्यक्ष श्रेष्ठसँग हामीले टेलिफोन संवाद गरेका छौँ ।
यो घटनाबारे बताइदिनुस् न !
म अहिले घटनास्थलमै छु । हामीलाई उर्मिला हायुसहित यो घरका १६ जना सदस्य हराएको खबर सोमबार बिहान साढे ९ बजे आएको थियो । म आफैँ पनि यहाँ बिहान साढे १० बजे आइपुगेँ ।
कसरी थाहा भयो परिवारका सबै सदस्य हराएको ?
यो घरवाला (उर्मिला हायु) को भैंसी घरभन्दा करिब ४५ मिनेटभन्दा पर डाँडाको गोठमा बाँधेको रहेछ । आजभन्दा तीन दिनअघिबाट भैंसीलाई घाँस पानी गर्नै कोही नआएको पाइयो । त्यसपछि छिमेकीले शंका लागेर हेर्न आउँदा घर नै रित्तो भेट्नु भयो ।

कस्तो थियो त्यो घरमा तपाईं पुग्दा ?
घरसँगै जोडेर आँगनमा बनाएको भान्सामा आगो लागेको थियो । कुखुरा र बाख्रा बारीमा थिए ।
खोजी गर्नु भएन र ?
अहिले व्यापक खोजी गरिरहेका छौँ । मैले वडा कार्यालयमा हेरेर उहाँहरू सबैको मोइबाइल नम्बरमा फोन गर्दा पनि अफ छ । कसैसँग सम्पर्क हुन सकेको छैन ।
हायु परिवार कहिलेदेखि बेपत्ता भएको हो त ?
मलाई लाग्छ, यो घटना तीन दिनअघिको हो । यो घरमा घटनास्थल हेर्दा उहाँहरू तीन दिनदेखि यहाँ हुनु हुन्न् ।
के देख्नु भयो घरमा ?
घरमा हेर्दा उहाँहरूले बंगुर बिहीबार काटेको देखिन्छ । तीन दिनअघि नै उहाँहरू हिँड्नु भएको हो । बंगुरको मासु गन्हाइसकेकाले पनि यो अनुमान गर्न सकिन्छ ।
छिमेकीले के भन्नु भयो तपाईंहरूलाई ?
डाँडामा बाँधेको भैंसीलाई घाँसपानी गर्न नआएपछि छिमेकीले नै स्याहारिदिनु भएको रहेछ । तर यो परिवारका सदस्यसँग बिहीबार भेट पनि भएको रहेछ । तर तीन दिनदेखि भैंसी बेवारिसे देखिएपछि उहाँहरूलाई शंका बढेको रहेछ ।
छिमेकी कति पर रहेछन् ?
हायु परिवारको भैंसी घरभन्दा अलिक परै बाँधेको रहेछ। उहाँहरू नआएपछि छिमेकीले नै घाँसपानी गरिदिएका रहेछन् । लगातार नआएपछि घरमा हेर्दा कोही नदेखिएपछि घटना थाहा भयो । हायु परिवारको घरबाट दुवैतर्फ छिमेकीको घर पुग्न कम्तीमा १५ मिनेट लाग्छ ।

हराएको १६ जना नै हो त ?
छोरी ज्वाइँ पनि पाहुना आएकाले हराएकाहरूको संख्या १६ नै भन्ने आएको छ । जम्मा परिवारका सदस्य १८ जना हुन् । जसमध्ये एकजना काठमाडौं र एकजना बुहारी विदेशमा रहेको खुलेको छ ।
उहाँहरूबारे तपाईंलाई थप के जानकारी छ ?
उहाँहरू अल्पसंख्यक जातिमा सूचीकृत हुनु हुन्छ । लोपोन्मुख सूचीमा भएकाले हायु परिवारका सबैजना सामाजिक सुरक्षा भत्ता लिन केही दिनअघि वडामा आउनु भएको थियो । नवीकरण पनि आफैं गर्नुपर्ने भएकाले वडामा आएर भत्ता बुझ्नु भएको थियो ।
भूगोल कस्तो छ ?
छिमेकीको घरसम्म पुग्नै १५ देखि २० मिनेट लाग्छ । यो हायु परिवार सडकमा निस्किन खहरे हुँदै तल तल झर्ने गर्छ । यहाँको भूगोल सजिलो छैन । हायु परिवारको घर त झनै एकान्तमा छ ।
के कारण होला त ?
मलाई केही गाउँले भनेअनुसार हायु परिवार ऋणको बोझले तनावमा रहेछ । कोही कोही गाउँलेले ऋणको कारणले लुकेको हो कि भन्ने आशंका गरेका छन् । अर्कातिर भत्ता लिएर आएकाले कसैले केही गरेको हो कि भन्ने आशंका पनि छ । तर त्यति ठूलो परिवारका सदस्यलाई कसैले केही गर्न पनि धेरै सोच्नुपर्ने हुन्छ ।
अहिले घटनास्थलमा के हुँदैछ ?
हामी अहिले सबैतिर सर्च गरिरहेका छौँ । खोल्सा, खहरे र बारीको पाटा सबैतिर खोजिरहेका छौँ । तर अहिलेसम्म केही सुराक भेटिएको छैन । हामीसँगै स्थानीयबासी र प्रहरी पनि खोजीमा लागेका छन् ।
प्रतिक्रिया