ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ | Khabarhub Khabarhub

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ



काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बसेको हो । भक्तपुरको गुण्डुमा बसेको बैठकमा केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरूको सहभागिता थियो ।

बैठकमा आफ्नो कारणले जेनजी आन्दोलन उग्र भएको विषयमा अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि रुपमा आत्मालोचना गरेनन् । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी आन्दोलन हुने सार्वजनिक भएको थियो । तत्कालीन प्रधानमन्त्री रहेका ओलीको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शनमा उत्रेका जेनजीले भ्रष्टाचार र अनियमितताको अन्त्य हुनु पर्ने पनि माग राखेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनबाट एमालेका अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएका थिए । तर, आज बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले कुनै पनि रूपमा आत्माआलोचना गरेनन् । ओलीले आफ्नो पुरानै अहमता प्रस्तुत गर्दै देशी–विदेशी अराजक तत्त्व मिलेर जेनजी आन्दोलन चर्काएको बैठकमा स्पष्टोक्ति दिए ।

नेताहरूले भने– चलखेल भयो भन्दै भाग्ने कुरो हुँदैन

जेनजी आन्दोलन हुनुमा नेकपा एमाले मुख्य रूपमा जिम्मेवार रहेको आफ्नै पार्टीका नेताहरूले अध्यक्ष ओलीसामु प्रस्तुत गरेका छन् । सचिवालयका नेताहरूले ओलीलाई सरकारले गरेको कमी कमजोरीका कारण देश नै संकटमा गएको भन्दै यसको जिम्मेवारी तत्कालीन अवस्थामा नेतृत्वमा रहेका व्यक्तिहरूले लिनुपर्ने विचार प्रस्तुत गरेका थिए ।

‘आजको बैठकमा लामो छलफल भयो मुख्यतय जेनजी आन्दोलन र अन्तरिम सरकार गठन प्रक्रियाका विषयमा हामीले छलफल गरेका छौँ । जेनजी आन्दोलन घट्नुमा एमाले पनि मुख्य दोषी हो भनेर हामीले भनेका छौं तर अध्यक्ष ओलीले कति पनि आत्मालोचना गर्नुभएको छैन ।’ एमालेका एक सचिवालय नेताले खबरहबसँग भने, ‘बरु उहाँले देशी–विदेशी शक्ति प्रयोग भएर जेनजी आन्दोलन भयो भन्नुभयो । तर, यो भनेर पन्छिन मिल्दैन भनेर हामीले भनेका छौं । एमालेमाथि प्रश्न उठेपछि यसको छानबिन हुनुपर्छ । यसरी त पार्टी चल्दैन, निर्मम ढङ्गले यसको समीक्षा गरेर नेतृत्व परिवर्तनसम्म नै पुग्नुपर्छ भन्ने हाम्रो माग छ ।’

एमाले सचिवालयका नेताका अनुसार आजको बैठकमा मुख्यतया जेनजी आन्दोलन र अन्तरिम सरकारले प्रतिनिधिसभा विगठन गरेको विषयमा बढी केन्द्रित भएको थियो ।

‘आत्मालोचना गर्नुहुन्न पुरानै ढर्रामा हुनुहुन्छ’

नेकपा एमालेका एक जना उपाध्यक्षले जेनजी आन्दोलनमा प्रधानमन्त्रीको हैसियतले आफू दोषी रहेको विषयमा ओलीले कुनै आत्माआलोचना नगरेको बताएका छन् । केही अराजक तत्त्वले युवालाई सडकमा उतारेर विध्वंश मच्चाएको बताउँदै ओलीले युवाहरूको म्यान्डेटलाई स्वीकार नगएको उनको आरोप छ । ती उपाध्यक्षका अनुसार आजको बैठकमा पनि ओलीले पुरानै ढर्रामा आफूलाई प्रस्तुत गरेका छन् ।

‘गल्ती प्रधानमन्त्रीको पनि थियो । अहिलेको पुस्ता डिजिटल प्रविधिसँग हुर्किएको पुस्ता हो । उनीहरूको मुख बन्द गर्ने काम भएको थियो । अर्को कुरा, डेलिभरीतिर नगएर दुईतिहाइको सरकार खाली सत्ता जोगाउने काम मात्र केन्द्रित भयो ।’ एमाले सचिवालयका एक उपाध्यक्षले भने, ‘हाम्रो अध्यक्षज्यूमा गल्ती स्वीकार गर्ने क्षमता अझै पनि विकास भइसकेको रहेनछ । उहाँले जेनजीहरू केटाकेटी भएको र अराजक व्यक्तिहरूका कारण यो घटना भएको भनेर बताउनुभयो । तर सरकारले जेनजीहरूको माग पूरा गर्नका लागि वार्ता गर्नुपर्ने थियो । त्यो पनि उहाँले गर्न सक्नुभएन ।’

ती उपाध्यक्षका अनुसार ओलीले बैठकमा आफ्नो कुनै गल्ती नै नभएको भाष्य बनाएका थिए । उनले जेनजीहरू सडकमा आउँदा पार्टीलाई कुनै पनि रूपमा घाटा नहुने समेत भन्न भ्याए । तर नेताहरूले ओलीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो धनजनको क्षति र सरकारमाथिको प्रहार भएकाले यसलाई आलटाल गर्न नहुने बताएका थिए ।

जेनजी र वर्तमान सरकारप्रति नै खनिए ओली

आजको बैठकमा ओलीले लामो सम्बोधन गरेका थिए । तर, उनको अधिकांश सम्बोधन जेनजी युवाप्रति लक्षित थियो । यस्तै, उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि असंवैधानिक र अराजकताको एउटा नमूना भएको बताएका थिए । उनले आफू सरकारमा हुँदा सामाजिक सञ्जाललाई नियमन मात्रै गर्न खोजेको स्पष्ट पारे । ।

तर सञ्जाललाई नियमन गर्न खोज्दा आफूमाथि आक्रमण भएको भन्दै आफूले कुनै पनि रूपमा गल्ती नगरेको बताए । यतिमात्रै होइन, ओलीले गणतन्त्र र संघीयतामाथि नै प्रहार भएको भन्दै यसलाई रोक्नका लागि सबै नेताहरू गम्भीर रूपमा समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । यसका लागि अन्य गणतन्त्र र लोकतन्त्रवादी शक्तिहरूसँग मिलेर यसको रक्षाका लागि लड्नुपर्ने आवाज पनि उनले उठाएका थिए । संविधानको नाश गर्नका लागि विभिन्न शक्तिहरूले चलखेल गरिरहेको बताउँदै यसमा गम्भीर समीक्षा गर्नुपर्ने उनको तर्क थियो ।

बैठकमा एमालेका अन्य नेताले जेनजीका नाममा अन्य व्यक्तिहरूले फाइदा उठाएको भन्दै यसको छानबिन हुनुपर्ने तर युवाको आवाज दबाउनु नहुने तर्क गरेका थिए ।

‘अराजक गतिविधिका विषयमा छानबिन हुनुपर्छ । तर, जेनजी र सडकले भ्रष्टाचाररहित समाज, युवामैत्री सरकार, रोजगारीलगायत खोजेको छ । यो आन्दोलन यतिकै घुसपैठको आधारमा मात्रै भएको होइन भनेर हामीले सम्झाएका छौं । ‘एमाले सचिवालयका अर्का नेताले खबरहबलाई भने, ‘हाम्रो पार्टीले गरेका गल्ती र नेतृत्वले गरेका गल्तीलाई हामीले स्वीकारेर अगाडि बढ्नुपर्छ । जेनजी र युवाको भावना अनुसार पार्टी नचले अब पार्टी उँधो गतिमा जान्छ । अबको निर्वाचनमा पार्टीले सम्मानजनक सिट ल्याउन सक्दैन, त्यसकारण यसको गम्भीर मूल्याङ्कन हुनुपर्छ ।’

महाधिवेशन गर्ने कि कार्यकारी दिने भन्ने विषयमा छलफल हुन बाँकी

एमालेको अर्ली महाधिवेशन गर्ने कि कार्यकारी नेतृत्व गरेर अगाडि बढ्ने भन्ने विषयमा आज लामो छलफल हुन नपाएको नेताहरूको भनाइ छ । तर अहिलेको अवस्थालाई हेन्डल गरेर जान नसके नेतृत्वले राजीनामा दिएर अगाडि बढ्नुपर्ने कुरा भने धेरै नेताहरुले उठाएका थिए । सडकको आवाजलाई सम्बोधन गर्न नसक्ने नेतृत्वले पार्टीको आवाजलाई पनि सम्बोधन गर्न नसक्ने भन्दै केन्द्रीय कमिटीको बैठक र आगामी सचिवालयको बैठकबाट पार्टीको अर्ली महाधिवेशन गर्ने कि कार्यकारी नेतृत्व दिएर अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिने नेताहरू बताउँछन् ।

यसबारे अब १९ र २० गते हुने सचिवालय बैठक र २८ र २९ गते काठमाडौँमा हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुने नेताहरु बताउँछन् । एमालेका एक सचिवालय नेताका अनुसार उनी कुनै पनि अवस्थामा आफू नेतृत्वबाट पछि हट्ने मनशायमा छैनन् । बरु उनी महाधिवेशन गरेर पुनः आफू नै अध्यक्षमा दोहोरिने दाउमा देखिन्छन् ।

जेनजी आन्दोलनपछि पनि उनको मुड र व्यवहारमा कुनै परिवर्तन नभएको नेताहरूको भनाइ छ । बैठकमा उपस्थित भएको तस्बिर हेर्दा पनि ओलीको अनुहार मुलायम देखिन्छ । यस्तै, आजको बैठकमा ओलीले सैनिक सुरक्षामा बस्दाको आफ्नो अवस्थाबारे पनि ब्रिफिङ गरेका थिए । उनले विभिन्न नेताको घर जलेको र जलाएको विषयमा पनि सोधपुछ गरेका थिए । पार्टी कार्यालय जलेको र महत्वपूर्ण दस्तावेज जलेका विषयमा पनि ओली गम्भीर देखिएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १० : १५ बजे

गृहको निर्णय सच्याउन बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार