ट्रम्प-सी भेटवार्ता : थामिएला दुई 'महाशक्ति' बीचको व्यापार युद्ध ? | Khabarhub Khabarhub

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका छन् । यो वार्ता दक्षिण कोरियाको बुसान शहरस्थित सैन्य परिसरमा भएको थियो । भेटवार्तालाई ‘अत्यन्तै सफल’ भन्दै ट्रम्पले चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् ।

उनका अनुसार यस भेटपछि चीनले रेअर अर्थ मेटेरियल्स भनिने तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ ।

रेअर अर्थ मेटेरियल्स अत्याधुनिक उपकरणको निर्माणका लागि नभइ नहुने पदार्थ मानिन्छ । यो खनिज पदार्थ लडाकु विमान, विद्युतीय सवारी, रोबोट र उच्च प्रविधिका उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छ । यसको उत्पादन, प्रशोधन र आपूर्तिमा चीनको एकछत्र पकड रहँदै आएको छ । पछिल्लो समय चीनले यसको निर्यातमा कडाइ गरेको थियो ।

दुर्लभ खनिज पदार्थदेखि लिएर सोयाबिन र बन्दरगाह शुल्कसम्मका विषयमा चलेको व्यापारिक द्वन्द्वले विगत केही वर्षयता विश्व बजारमा ठूलो अस्थिरता ल्याएको र आपूर्ति श्रृङ्खलामा अवरोध उत्पन्न गरेको थियो ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय विशेष विमान एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।”

पछिल्लो समय अमेरिकामा फेन्टानिल नामक घातक लागूऔषधको दुव्र्यसनीको सङ्ख्या बढिरहेको ट्रम्प प्रशासनको बुझाइ छ । यसको उत्पादनका लागि आवश्यक रसायन चीनले अमेरिका र छिमेकी मेक्सिकोतर्फ पठाउने गरेको आरोप लाग्ने गरेको छ । सोही लागूऔषधको नियन्त्रण गर्नका लागि भन्दै ट्रम्पले चीनमाथि भन्सार शुल्क वृद्धिको घोषणा गरेका थिए ।

गत वर्षदेखि ट्रम्प प्रशासनले चीनमाथि चरणबद्ध रूपमा नयाँ कर लगाउँदै आएको छ । अक्टोबर १० मा चीनले रेअर अर्थ मेटेरियल्स निर्यातमा प्रतिबन्ध कडा पारेपछि ट्रम्पले १०० प्रतिशत आयात करको धम्की दिएका थिए । तर, हालको सहमतिको परिणामस्वरूप यो दर ४७ प्रतिशतमा झरेको छ । ट्रम्पको यो घोषणा तत्काल लागू हुने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भन्सार शुल्क घटाउने ट्रम्पको कदमपछि चीनमाथिको कुल भन्सार कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको छ ।

“शून्यदेखि १० को मापनमा १० सबैभन्दा राम्रो हो भने म यो बैठकलाई १२ भन्नेछु”, राष्ट्रपति ट्रम्पले हाँस्दै भने । उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए । साथै, उनले अमेरिकी प्रविधि कम्पनी एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए ।

ट्रम्पले ‘धेरै चाँडै’ दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गरे । “हामीबीच अहिले ठूला अवरोधहरू बाँकी छैनन्”, उनले भने ।

तर, दुई मुलुकबीचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ । विश्वका ठूला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् । करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गरे ।

बैठक अघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।

चीनका राष्ट्रपति सीले पनि अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिएको चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

उनले मतभेदका बाबजुद सँगै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “हाम्रो फरक राष्ट्रिय पृष्ठभूमिका कारण कहिलेकाहीँ दृष्टिकोण फरक हुन सक्छ, तर सहकार्य अपरिहार्य छ ।”

उनले दुई देशबीच ‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सकारात्मक अन्तरक्रिया हुन आवश्यक’ रहेको बताएका छन् । उनले दुवै पक्षका वार्ता टोलीहरूले ‘महत्त्वपूर्ण आर्थिक र व्यापारिक मुद्दाहरूमा गहिरो विचार–विमर्श गरी तिनको समाधानका लागि सहमति प्राप्त गरेको’ उल्लेख गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।

राष्ट्रपति सीले भने, “दुवै पक्षका टोलीहरूले सकेसम्म चाँडो अनुगमन कार्यलाई परिष्कृत गरी अन्तिम रूप दिनुपर्छ । सहमतिलाई स्थायी र कार्यान्वयन योग्य बनाउँदै चीन, संयुक्त राज्य अमेरिका तथा विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने ठोस नतिजा प्रस्तुत गर्नुपर्छ ।”

यो भेटले अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ पाना पल्टाउने आशा गरिएको छ । यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा पनि पर्ने विश्वास गरिएको छ ।

उक्त वार्तालाई ‘जी–२ बैठक’ का रूपमा व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई अमेरिका र चीनको विश्व अर्थतन्त्रमा अग्रणी भूमिकाको प्रतीक रहेको टिप्पणी गरे ।

यस भेटवार्तापछि पुँजी बजारमा सकारात्मक प्रतिक्रिया आएको छ । अमेरिकी सेयर बजारमा पनि व्यापारिक आशा बढेको देखिएको छ । तर, विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन् ।

पूर्वअमेरिकी अधिकारी जे ट्रुसडेलले भने, “राष्ट्रपति सीले चीनलाई भरपर्दो साझेदारका रूपमा स्थापित गर्न र कर नीतिबाट असन्तुष्ट मुलुकहरूसँग सम्बन्ध सुदृढ गर्न यो अवसरको उपयोग गर्न चाहनुहुन्छ ।”

फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ निर्देशक क्रेग सिङ्गलटनका अनुसार दुवै देशले अहिलेको सहकार्यलाई अस्थिरता नियन्त्रण गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, प्रतिस्पर्धा भने कायम नै छ ।

अब राष्ट्रपति सी दक्षिण कोरियामा एपेक शिखर सम्मेलनका लागि केही दिन बस्नेछन् भने राष्ट्रपति ट्रम्प वासिङ्टन फर्कनेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ०१ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ