एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय सन्चार माध्यमलाई जानकारी दिएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए।
प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ ।
घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारीहरू न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ ।
विस्फोटको कारण केही गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ । घटनास्थलबाट आत्मघाती आक्रमणकारीले शरीरका अङ्गहरू बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ ।
जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ ।
यद्यपि, सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) ले आक्रमण गरेको जनाएको छ ।













प्रतिक्रिया