मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो « Khabarhub

मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि अन्याय र अत्याचार हुने भनेर दिएको अभिव्यक्ति विवमादमा परेको छ। उनको अभिव्यक्तिपछि मुस्लिम समुदायले चर्को आलोचना गरेका छन्।

मंगलबार अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले कुनै पनि धर्मले महिलामाथि हिंसा गर नभनेको बताएकी थिइन् । 

तर, धर्मकै नाममा महिलामाथि अझै पनि हिंसा भइरहेको अभिव्यक्ति दिएकी थिइन् । साथै, उनले मुस्लिम समुदायमा बहुविवाहलाई महिलाहरूले सहर्ष स्वीकारेको बताएकी थिइन् । तर समाज परिवर्तनसँगै त्यस्ता प्रथाहरू हट्दै गएको र २०४६ पछि कानुन निर्माणमा आमूल परिवर्तनसँगै महिलाको अवस्थामा परिवर्तन आएको बताएकी थिइन् ।

विभिन्न आयाम र समुदायबारे बोल्दै गर्दा मुस्लिम र आर्यन महिलाबारे प्रधानमन्त्री कार्कीले यसो भनेकी थिइन्– ‘पुराना अरेबियनहरुको सिस्टम हुन्छ, जहाँकी मुसलमानहरुको प्रवृत्ति र उनीहरुको व्यवहार देख्छौ । यसो हेर्दा आजादी नदिने, पढ्न पनि नदिने देखिएको छ । तर कतिमा उदारता पनि देखिएको छ । पहिलेको मुस्लिम सुडानमा, इजिप्टमा महिलाहरु डाक्टर भएका छन । धनसम्पत्तिमा बलिया भएका छन् ।

तर बहुविवाह भएमा त्यसलाई नराम्रो नमान्ने संस्कार त्यो बेला थियो । विस्तारै–विस्तारै महिलाहरु प्रताडित हुँदै गए । हिन्दू धर्ममा पनि त्यहि भन्छ । पहिले महिलाहरुमा एकदमै आजादी थियो । पहिले आर्यन महिलाहरुको समाज असाध्यै उदार थियो । तर मुसलमानहरुले हमला गर्न थाले । त्यसपछि आर्यनहरुले पनि सात वर्षकी बच्चाको बिहे गर्ने, अरु कुराहरुलाई संकिर्ण बनाउँदै–बनाउँदै गए भन्ने छ ।

त्यसैले धर्मले पनि कहिकतै महिलालाई सताउ, पीडा देउ भनेको छैन । भगवान्हरु फ्रिली बाँचेको देख्छौ । ईश्वरको जिन्दगीमा त्यस्तो केही देखिदैन । हालाकी, सीता र द्रौपतीहरूले अन्याय भोगे । अन्यायको निराकरण पनि सँग-सँगै देखिन्छ । अब यो अवस्थामा हामी के पाउछौ भने नेपालमा २०४६ को आन्दोलनपछि कानुनमा ठूलो परिवर्तन आयो ।’

कार्कीले बोलेको उक्त छोटो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रधानमन्त्री जस्तो व्यक्तिले कुनै एक समुदायबारे तुच्छ टिप्पणी गरेको भनेर आलोचना भइरहेको छ । जेन–जी आन्दोलनका अगुवा तथा कानूनका विद्यार्थी माजिद अन्सारीले एक महिला प्रधानमन्त्रीबाट मुस्लिम समुदायका महिलाहरुमाथि गरिएको टिप्पणीले सामाजिक सद्भाव बिगार्ने बताएका छन् । 

अन्सारीले फेसबुकमा लामै विचार लेखेर प्रधानमन्त्री कार्कीलाई विभिन्न सुझाव दिएका छन् । उनले यसो भने, ‘नेपालमा हाल ५.०९५ इस्लामिक छन् । तर पनि अन्तरिम सरकारको मन्त्रिपरिषद्‌मा एकजना मुस्लिम महिलालाई अटाउन सकेन । राज्य व्यवस्थाबाट बहिष्कृत मुस्लिम समुदायलाई समावेशीकरणको मूलधारमा ल्याउने कुरा परै जाओस्, उल्टै प्रधानमन्त्रीले मुस्लिम समुदायको धार्मिक आस्थाउपर आघात पुग्ने गरी सामाजिक सद्भावसमेत खल्बल्याउने प्रकारका अभिव्यक्तिहरू आउनु दुःखद छ।

भारतीय समाजमा सदियौँदेखि चल्दै आएका विभिन्न कु-प्रथा मुस्लिमहरूले शासन गरेका कारण हिन्दु समाजमा फैलियो भन्ने कुराले विस्तारवादी ‘अखण्ड भारतीय एकल राष्ट्रवाद’ को अवशेषको झल्को दिन्छ । यति शुभचिन्तित प्रधानमन्त्री नेतृत्वमा बनेको मुस्लिम समावेशीता शून्य रहेको मन्त्रिपरिषद्ले मुस्लिम महिलाको शिक्षामा पहुँचका लागि विशेष कार्यक्रम ल्याओस् ।’

त्यसैगरी लेखक तथा महिला अधिकारकर्मी रिता साह लेख्छिन्–‘हामीले महिला प्रधानमन्त्री पायौँ  भन्दै गर्व गर्ने । तर महिला प्रधानमन्त्रीले कहिले मधेसी महिला घुम्टो लगाएको भन्दै मधेसी समुदायलाई र कहिले मुस्लिम समुदायलाई सार्वजनिक रूपमै विभेदपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

हाम्रा प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, उहाँले मधेसी र मुस्लिम महिला सशक्तीकरणको लागि के के विशेष व्यवस्था गर्नुभएको छ ? यदि छैन भने उहाँलाई ‘भिक्टिम ब्लेमिङ’ खेल खेल्न सुहाउँदैन । मधेसी र मुस्लिम समुदाय सबैको फोहरी राजनीतिक खेल खेल्ने थलो होइन ।’

मुस्लिम आयोगका अध्यक्ष महमदिन अली प्रधानमन्त्री कार्कीले एउटा समुदायलाई लक्षित गरेर तथ्यहीन कुरा बोलेको बताएका छन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘मुस्लिम समुदायमा कुनैपनि लैङ्गिक हिंसा छैन । हिंसा थियो र भनेको भए बाटो देखाउनुभयो भन्ने हुन्थ्यो । तर नभएको तथ्यहिन कुरा गर्नुभयो । इस्लामले महिलालाई सम्पत्तिको अधिकार दिएको छ । अन्य पर्याप्त अधिकारसम्पन्न गरेको छ । हामीलाई उहाँको भनाइप्रति दुख लागेको छ ।’ 

‘बरु कानून कार्यान्वयन नभएकोबारे छलफल गरौँ । त्यो त हाम्रो समुदायभित्र मात्र नभइ हरेक समुदायको महिलाहरूमाथि पनि भएको छ ।

कानुनले दिएको हक अधिकार कार्यान्वयनमा छैन भने त्यसको पहलमा लागौँ,’ उनी थप भन्छन्, ‘कुनै पनि समुदाय, धर्म र संस्कृतिबारे बोल्दा त्यसको वास्तविकता ख्याल गर्नुपर्छ । कुरान, इस्लाम र मुस्लिम नियम, प्रथा, परम्परा तथा महिलाको स्थान तथा अधिकारबारे बुझेर मात्रै बोलाैँ ।’

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : १६ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही