काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको समूहमा संकट चुलिएको छ।
एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि ज्ञवालीले ओलीको साथ छोडेर केन्द्रीय सदस्यमा मात्रै उठ्ने निर्णयले ठूलो हलचल ल्याएको छ।
नेपाली कांग्रेस-एमाले गठबन्धन बन्दा होस् या अन्य राजनीतिक परिवर्तनहरूमा ओलीका वैचारिक र दरिलो सारथि रहेका ज्ञवालीले साथ छोड्नुले ओलीलाई संकटको बेला समस्या पर्ने स्थिति देखिन्छ ।
जुनसुकै संकटमा पनि अध्यक्ष ओलीको प्रतिरक्षामा उत्रिँदै आएका ज्ञवाली अध्ययनशील नेता हुन् । उनी नेतृत्वको रक्षामा खरोसँग उत्रिन्थे । एमालेको संगठन निर्माण र खासगरी नेता-कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षणमा उनको ठूलो योगदान छ । पार्टी स्कुल विभागमार्फत् उनले नेता-कार्यकर्तामा विचार र सिद्धान्तको धार लगाउने गर्थे । निरन्तर प्रशिक्षण भएन भने नेता-कार्यकर्ता भुत्ते हुने बताउँदै आएका उनले देशभर पुगेर पढाउने गरेका थिए ।
जुनसुकै विषयवस्तुलाई तार्किक र बौद्धिक रूपमा जवाफ दिने उनी ओलीका अनेकन गल्तीमा शालीन शैलीले प्रतिरक्षा गर्थे।
एमालेका महत्त्वपूर्ण दस्तावेज लेख र सहमतिका बुँदा निर्माणको कामसमेत उनैले गर्थे । तर ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याएपछि ज्ञवालीको मन फाटेको छ। उनले फाटेको मनसहित केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।
भने : मन एकदमै दुखेको छ।
ओलीले राखेको उपाध्यक्ष पद छाडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि उनले भृकुटीमण्डमा आँसु छछल्काए । त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले एमालेको पदाधिकारीबाट अब कार्यकर्तामा झारेको भावुक टिप्पणी गरे।
भावुक देखिएका उनका आँखामा आँसु पनि देखिए । ज्ञवालीले पार्टी राजनीतिमा जहिले पनि संकटको बेला नेतृत्वलाई साथ दिएको बताउँदै अब पदाधिकारीबाट सामान्य सदस्यमा झरेको निष्कर्ष सुनाए ।
‘एउटै व्यक्तिलाई दोहोर्याई राख्ने प्रवृत्ति ठिक भएन । मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनका हरेक मोर्चामा सधैँ अगाडि उभिएको छु’, ज्ञावलीले भने, ‘म अहिलेलाई केन्द्रीय सदस्यको मात्रै दाबेदार हुँ। पार्टी आन्दोलनका सबैजसो घटनाक्रममा उभिएको छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने र समान अवसर मिल्नछ भन्ने लागेको थियो, तर त्यस्तो भएन ।’
केही समयअगाडि खबरहबसँगको कुराकानीमा ज्ञवाली आफैँले यो महाधिवेशनबाट पार्टी एक ढिक्का र एक चित्त भएर अगाडि बढ्ने दाबी गरेका थिए।
उनले राष्ट्रियसामु असहज परिस्थिति भएकाले ओलीलाई नै साथ दिने बताउँदै एघारौं महाधिवेशनपछि पार्टी वैचारिक रुपमा मजबुत र नैतिक रूप सचेत भएर अगाडि बढ्ने बताएका थिए।
ज्ञवालीले केही समय अगाडि सचिवालय बैठकमा पार्टी नेतृत्वले गल्ती कमजोरी गरेकाले आत्मालोचना गर्नुपर्ने अडानसमेत राखेका थए । त्यतिमात्रै, होइन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे पनि उनले अध्यक्ष ओलीको निर्णयविरुद्ध एकपटक सचिवालय बैठकमा बोलेका थिए।
ओलीलाई हरेकजसो राजनीति निर्णय र संकटमा साथ दिँदै आएका ज्ञवालीले आफूविरुद्ध बोलेको भन्दै केही नेताहरूसँग ओलीले गुनासो पनि गरेका थिए।
त्यसदेखि नै ओलीको मन ज्ञवालीसँग भरिएको हुन सक्ने आकलन सचिवालयकै केही सदस्यले पनि गरेका छन् ।
एमालेमा शंकरको कार्यक्षमता नदेखिएको भन्दै ज्ञवालीलाई महासचिव बनाउनुपर्ने कुरा उठेको थियो । उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि ज्ञवालीलाई महासचिव बनाएर संगठन चलायमान बनाउनुपर्ने मत राखेका थिए ।
तर ओलीले शंकरलाई नै महासचिव दोहोर्याएर आफू झन् शक्तिशाली हुन खोजेका छन् । दशौँ महाधिवेशनपछि महासचिव बनेका पोखरेल कार्यकारी अधिकारसहितको भूमिका भन्दा ओलीको सहयोगी जस्तो मात्रै देखिएका थिए ।
पोखरेल ओलीको सहयोगीमा सीमित भएको भन्दै एमालेबृत्तमा नयाँ महासचिवको खोजी भएको थियो । संगठन निर्माणमा भन्दा पोखरेल ओलीकै वरिपरि सीमित भएको टिप्पणी हुने गरेको थियो ।
ओलीले पोखरेललाई च्यापेपछि भृकुटीमण्डमा ढिलो गरी आएका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै मनोनयन गरे । एक प्रत्यक्षदर्शी भन्छन्, ‘उम्मेदवारी दिएपछि उहाँ भावुक हुँदै फर्किनुभयो ।’
ज्ञवालीले उम्मेदवारी दिँदा प्रस्तावकमा पर्शु पाण्डे रहेका छन्। पाण्डे लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। यस्तै समर्थकमा रामजी ढकाल छन् । उनी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्।
निकटहरूका अनुसार ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर भावुक हुँदै निस्किएका थिए ।
‘ज्ञवाली कमरेड न्यास्रो अनुहार लाएर भावुक हुँदै निस्किनुभएको छ । हामीले अध्यक्ष कमरेडलाई पटक-पटक सम्झाएको हो, तर उहाँले पार्टी संगठनमा काम गरेको व्यक्तिलाई पद नदिएर पुरानै अनुहार दोहोर्याउनुभयो’, उनले भने, ‘ज्ञवाली कमरेड भावुक हुनुहुन्थ्यो। उहाँले पार्टी स्कुल विभागमार्फत् प्रशिक्षण कार्यक्रम चलाएर एमालेलाई जरासम्म पुर्याउन प्रभावकारी भूमिका खेल्नुभएको थियो। यस्तो भूमिकालाई ओलीले देख्नुभएन।’
ज्ञवालीलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो टिममा बोलाएको थियो । तर उनले पोखरेल समूहलाई बेवास्ता गरेर केन्द्रीय सदस्यमा मात्रै उठेका हुन् ।













प्रतिक्रिया