गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गरेका छन् ।
आइतबार बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद्घाटनपश्चात् उनले नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एनसेल डाटा सेन्टरको निरीक्षण गरे ।
टेलिकम कार्यालयमा निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मालगायतले मन्त्री खरेललाई स्वागत गरेका थिए । उनीहरूले कार्यालयबाट भइरहेका सेवा प्रवाहबारे जानकारी गराए ।
त्यस अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समयसापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्या समाधानका लागि नीतिगत रूपमा गर्नुपर्ने विषयलाई अघि बढाउनेमा आफू तयार रहेको बताए ।
उनले देश निर्वाचनमा अघि बढिसकेको उल्लेख गर्दै देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजान निर्वाचन अपरिहार्य रहेको बताए।
एनसेल डाटा सेन्टरको अवलोकनका क्रममा मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले विविध विषयमा जानकारी गराए ।
मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज शर्मासहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी लिएका थिए ।
उनले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिसँग पनि भेटघाट गरे ।













प्रतिक्रिया