हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्वकीय सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी निकायहरूलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएको बताइएको छ।
बानियाँले आफूले पनि त्यही अभ्यासलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रमुख स्वकीय सचिवमार्फत् विज्ञप्ति निकालेर सरकारी निवासको खर्चदेखि सवारी साधनको इन्धनसम्म निजी खर्चमा व्यवस्थापन गर्दै आएको जनाएका छन् ।
सचिवालयका कर्मचारीहरूले समेत हालसम्म भ्रमण भत्ता नलिई काम गरिरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो सुविधा बापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गरिदिने घोषणा गरेको पनि स्मरण गराएका छन् ।
उनले मनहरी र कैलाश गाउँपालिकामा दुई परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिसकिएको बताउँदै राक्सिराङ गाउँपालिकामा एक घर निर्माणाधीन रहेको जनाएका छन् ।
यी सकारात्मक कार्यलाई ओझेल पार्ने उद्देश्यले केही व्यक्ति र समूहले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत नकारात्मक प्रचार गरिरहेको सचिवालयको आरोप छ ।
विज्ञप्तिमा बिहीबार सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीले निजी खर्चमा हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर भ्रम फैलाइएको जनाइएको छ।
सचिवालयका अनुसार मुख्यमन्त्री बानियाँ त्यही दिन सिन्धुपाल्चोकको मेलम्ची–९ गुफा डाँडामा आयोजित छैटौं जलवायु सम्मेलनमा सहभागी भई सिराहाको कार्यक्रममा पुग्नुपरेको थियो ।
सडक मार्गबाट यात्रा सम्भव नभएकाले बाध्यात्मक अवस्थामा निजी खर्चमा गरिएको यात्रालाई भ्रमपूर्ण ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाइएको छ ।
‘उक्त यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग भएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यथार्थ नबुझी सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत फैलाइएको भ्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
मुख्यमन्त्री बानियाँ सरकारी कोषको दुरुपयोग हुन नदिन सधैं सचेत रहेको उल्लेख गर्दै सचिवालयले सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनु साइबर अपराध भएको भन्दै यस्ता सामग्री सम्प्रेषण नगर्न भनेको छ ।













प्रतिक्रिया