रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए « Khabarhub

रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित विजयी भएका छन्।

३८ वर्षीय महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता महिन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरे। यादवले ८ हजार ५२३ मत प्राप्त गरे।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत ल्याए । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५ हजार ९९२ मत प्राप्त गरे। यस परिणामसँगै सर्लाही–२ मा रास्वपाले मधेशका भेट्रान नेताहरूलाई पाखा लगाइदिएको छ।

को हुन् रविन महतो ?

रविन महतोको सक्रिय राजनीतिक पृष्ठभूमि लामो छैन। तर सामाजिक गतिविधिमा देखिएको सक्रियताका कारण उनी स्थानीय स्तरमा परिचित व्यक्तित्व मानिन्छन्।

२०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मिएका महतोले स्नातकसम्म अध्ययन गरेका छन्। पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महतो स्वास्थ्य क्षेत्रसँग पनि जोडिएका छन्।

उनी विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै जनस्तरमा सेवा प्रदान गर्ने काममा संलग्न रहँदै आएका छन्। यही सामाजिक कामले उनलाई मतदातामाझ परिचित बनाएको मानिन्छ।

अनुभवी नेतामाथि हाबी

सर्लाही–२ को निर्वाचन यसपटक युवा र अनुभवी नेताबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो। महतोले लामो राजनीतिक अनुभव भएका मधेशका स्थापित नेताहरूलाई पराजित गर्दै नयाँ पुस्ताको प्रतिनिधित्व गरेका छन्।

पराजित उम्मेदवार महिन्द्र राय यादव नेपाली राजनीतिमा पुरानो नाम हुन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मा जन्मिएका ८८ वर्षीय यादव २०५१ र २०५६ सालमा सर्लाही–१, २०७० मा सर्लाही–५ तथा २०७४ र २०७९ मा सर्लाही–२ बाट निर्वाचन लडिसकेका छन्।

समानुपातिकतर्फबाट २०६४ सालको संविधानसभा सदस्य बनेका यादव विभिन्न समयमा तीन पटक मन्त्रीसमेत भइसकेका छन्।

उनले २०५१ र २०५६ मा नेकपा (एमाले) बाट चुनाव जितेका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा विजयी भएका थिए। २०७४ मा राजपा नेपालबाट सर्लाही–२ बाट निर्वाचित भएका थिए।

राजेन्द्र महतो

यस निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि प्रतिस्पर्धामा थिए। ६८ वर्षीय महतो २०४८ सालदेखि सर्लाहीबाट निर्वाचन लड्दै आएका नेता हुन्। २०७४ मा भने उनी धनुषाबाट चुनाव लडेका थिए।

महन्थ ठाकुर नेतृत्वको लोसपा र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणपछि उनले राष्ट्रिय मुक्ति पार्टी गठन गरेका हुन्।

यसपटक सर्लाही–२ बाट उम्मेदवारी दिएका उनी पनि पराजित भए। विश्लेषकहरूले यस परिणामलाई मधेशको परम्परागत राजनीतिक प्रभावमा आएको परिवर्तनको संकेतका रूपमा हेरेका छन्। यो पराजयले मधेशका लामो समयदेखि राज गरिरहेका पुराना नेताको अब बिदाइको समय आएको सन्देश पनि गएको छ।

कांग्रेसलाई पनि धक्का

यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा. सरोज कुमार उम्मेदवार बनेका थिए। ४४ वर्षीय डा. कुमार पेशाले चिकित्सक हुन् । उनले एमबीबीएस अध्ययन गरेका छन्। उनी सर्लाही जिल्ला कांग्रेसका कार्यवाहक सभापतिसमेत हुन्।

कांग्रेस नेतृत्वले नयाँ पुस्तालाई अवसर दिने रणनीतिअनुसार उनलाई उम्मेदवार बनाएको थियो। तर पहिलो पटक प्रतिनिधिसभाको चुनाव लडेका डा. कुमारले अपेक्षित मत प्राप्त गर्न सकेनन्।

सर्लाही २ मा उनको पराजयले केन्द्रीय सभापति गगन थापालाई सर्लाही ४ पनि असर गर्ने सम्भावना देखिएको छ। थापा आफैं सर्लाही ४ मा रास्वपाकै डा. अमरेश सिंहसँग ६ हजार मतान्तरले पछि छन् ।

नयाँ राजनीतिक संकेत

सर्लाही–२ को परिणामलाई मधेशको राजनीतिमा नयाँ संकेतका रूपमा पनि हेरिएको छ। लामो समयदेखि प्रभाव जमाएका अनुभवी नेताहरूलाई पराजित गर्दै युवा उम्मेदवार महतो विजयी हुनु परिवर्तनको चाहनालाई मतदाताले समर्थन गरेको उदाहरण मानिएको छ।

सामाजिक काम, स्वास्थ्य सेवा र वैकल्पिक राजनीतिको सन्देशसहित चुनावी मैदानमा उत्रिएका महतो अब प्रतिनिधिसभामा सर्लाही–२ को प्रतिनिधित्व गर्नेछन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ४४ बजे

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

पाल्पा १ मा एमालेको किल्ला भत्कियो, ३४ वर्षपछि कांग्रेसको पुनरागमन जित

काठमाडौं – पाल्पा क्षेत्र नम्बर १ मा ३४ वर्ष लामो