कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ? « Khabarhub

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

गगनसहित शीर्ष नेता हारेपछि यस्तो छ अंकगणित



काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् आफूलाई बदलेर फागुन २१ को निर्वाचनमा होमियो ।

विशेष महाधिवेशनको नेतृत्व लिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसमिति गठन गरेर कांग्रे २.० बनाएको सन्देश क्रियाशील सदस्य र मतदातासम्मै पुर्‍याए।

सभापति थापा निर्वाचन लड्ने भएपछि शर्माले झापा १ बाट नउठ्ने घोषणासहित पार्टी मोर्चाको जिम्मा लिए । उनी कांग्रेसबाट चुनावी कमाण्डर पनि बने ।

मधेसबाट कांग्रेसको विरासत फर्काउने ध्ययले सर्लाही क्षेत्र नम्बर ४ झरेका सभापति थापा अन्ततः पार्टीकै पुराना नेता डा. अमरेश सिंहसँग १२ हजार बढी मतको अन्तरले पराजित बने । सभापति थापा मात्रै होइनन्, समग्र जनमतले कांग्रेसलाई प्रत्यक्ष र समानुपातिकसहित केबल ३८ सिटमा खुम्च्याइदियो । अर्थात्, कांग्रेस इतिहासमै कमजोर बिन्दुमा पुग्यो ।

यति कमजोर भए पनि कांग्रेस संघीय संसद्मा प्रमुख विपक्षी दल बनेको छ। माथिल्लो र तल्लो सदन दुवैमा उसको हैसिय प्रमुख विपक्षी दल हो । अब उसको काँधमा सरकार सम्हाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कमी-कमजोरीको खबरदारी गर्ने मुख्य जिम्मेवारी आएको छ।

२०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो पार्टी बनेको कांग्रेसका अहिले सभापति थापासहित शीर्ष तहका नेता सबै पराजित बने । जसकारण संसदीय दलको नेता कसलाई बनाउनेमा अन्योलमा छ ।

त्यसैमाथि दोस्रो विशेष महाधिवेशनमार्फत सभापति बनेका थापामाथि इतर पक्षले नैतिकताका आधारमा राजीनामा माग गर्दै दबाब बढाइरहेका छन् । कतिसम्म भने इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले त अहिले कांग्रेसमा दुईजना सभापति रहेको टिप्पणी नै गरेका छन् ।

अप्रत्यासहित हारको चोटबाट रन्थनिएका सभापति थापाले निर्वाचनको समीक्षासमेत गर्न नपाउँदै मार्गप्रशस्त गर्न दबाब आएको छ। तर यो दबाबबीच अब संसद्को जिम्मेवारी कांग्रेसले कसरी सम्हाल्ला ? दलको नेताकै लागि कांग्रेसमा खडेरी परेको छ । यो संकटबीच कांग्रेसले दलको नेता कसलाई बनाउला ? गम्भीर प्रश्न उठेको छ।

चुनावी अंकगणित हेर्ने हो भने कांग्रेसले प्रत्यक्षतर्फ अहिले १८ सिट जितेको छ । जसमा १५ निर्वाचित उम्मेदवार सभापति थापा पक्षीय छन्। उता तीन अनुहार तत्कालीन सभापति शेरबहादुर पक्षका छन् । अर्थात् उनीहरू विशेष महाधिवेशनको विपक्षमा उभिएको समूहका हुन् ।

कांग्रेसबाट प्रत्यक्ष निर्वाचित उम्मेदवारहरू

फिरदोष आलम, रौतहट–२ निश्कल राई, इलाम-१
अभिषेकप्रताप शाह, कपिलवस्तु–३खड्ग शाही, मुगु
खड्कबहादुर बुढा, जाजरकोट भरतबहादुर खड्का–डोटी
बासना थापा, दैलेख–१योगेश गौचन थकाली–मुस्ताङ
मोहन आचार्य, रसुवासन्दीप राना, पाल्पा–१ 
सन्तोस सुब्बा, तेह्रथुमविष्णु खड्का, सुर्खेत–१
भरत स्वाँर, अछाम–१टेकबहादुर गुरुङ–मनाङ
प्रकाशसिंह कार्की, सोलुखुम्बुजयपति रोकाया–हुम्ला 
नरेन्द्र केरुङ, पाँचथरजनकराज गिरी, बाजुरा 

मुस्ताङबाट निर्वाचित युवा नेता योगेश गौचन थकाली विशेष महाधिवेशनतिर नखुलेका नेता हुन् । स्थानीय प्रभुत्वको आधारमा उम्मेदवार बनेका उनी आफू व्यक्तिविशेषका नाममा अवसर हत्याउने भन्दा पार्टीलाई संस्थागत गर्नेमा जोड दिने बताउँछन् । 

‘हामी मुस्ताङ्गीहरू सधैँ आफ्नै बलबुताले जित्दै आएका छौँ । केन्द्रमा हाम्रो कुनै दाबी र माग छैन । त्यसैले हामी गुट-उपगुटमा कहिले नजोडिएर पार्टीलाई जिम्मेवार र नैतिकवान बनाउन लागिपरिरहेका हुन्छौँ,’ गौचनले भने । यस्तै, पाल्पा-१ बाट निर्वाचित सन्दीप राना देउवा पक्षधर हुन् ।  

‘विशेष महाधिवेशनमा उहाँ कतै खुल्नुभएन, तर पनि जितका लागि विकल्प नरहेकाले उहाँलाई टिकट दिनुपर्नेमा पाल्पा–१ का कांग्रेसीजनको दबाब थियो । त्यहीअनुसार निर्वाचित हुनुभयो । स्थानीयस्तरमा रानाको राम्रो पकड रहेकाले थापा टिमले उहाँको दक्षता र समयको माग हेरेर उम्मेदवार बनायो,’ उनले भने । 

राना निर्वाचित पाल्पा १ मा २०४८ को निर्वाचनयता कांग्रेसले जित निकाल्न सकेको थिएन। उनले पाल्पा–१ मा एमालेको ३४ वर्ष लामो किल्ला भत्काएका हुन् ।

निवर्तमान उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का सुर्खेत–१ बाट निर्वाचित भए । यस्तै, तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालानिकट टेकबहादुर गुरुङ मनाङ र जयपति रोकाया हुम्लाबाट सदन पुगेका छन् ।

जेन–जीको म्यान्डेटमा निर्वाचन गराउन बनेको सरकारले फाल्गुन २१ मा निर्वाचन मिति तोक्यो । यससँगै दलहरू समानुपातिक उम्मेदवार चयनमा लागे । समानुपातिक सूची तयार गर्दै गर्दा कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र नेता शेखर गरी तीन गुट थिए । 

तीनै गुटको सहमतिमा आफूअनुकूल ११० उम्मेदवारको नाम राखियो । जसबाट निर्वाचनमा कांग्रेसले पाएको कूल मत १७ लाख ५४ हजार ६९५ अनुरुप २० मात्रै सांसद चुनिए । तीमध्ये सभापति थापाले सबै पक्षको प्रतिनिधित्व हुनेगरी योग्य उम्मेदवार चयन गरेको स्रोत बताउँछ । 

‘सभापतिले सकेसम्म योग्य र सबै पक्ष समेटिनेगरी समानुपातिक सांसद चयन गर्नुभएको छ,’ कांग्रेसका एक नेताले भने। उनका अनुसार ९ जना सांसद सभापति थापा पक्षका हुनेछन् । अन्य ११ जना विशेष महाधिवेशन इतर पक्षका हुन् । 

महाधिवेशन पक्षका समानुपातिक सांसद इतर पक्षका समानुपातिक सांसद
अर्जुननरसिंह केसी – खसआर्य कोटा सुशीला ढकाल –खसआर्य कोटा
रिना उप्रेती, खसआर्य कोटा रुक्मिणीदेवी कोइराला –खसआर्य कोटा
कालीबहादुर सहकारी, खसआर्य कोटा सीता थपलिया –खसआर्य कोटा
पवित्रा विक–दलित कोटागीताकुमारी सेन्दाङ –आदिवासी जनजाति कोटा
मनमाया विक –दलित कोटागंगालक्ष्मी अवाल –आदिवासी जनजाति कोटा
रेनुका काउचा –आदिवासी जनजाति कोटा गीता गुरुङ –आदिवासी जनजाति कोटा
भीष्मराज आङ्देम्बे – आदिवासी जनजाति कोटानिनुकुमारी कर्ण –मधेसी कोटा
मदनकृष्ण श्रेष्ठ –आदिवासी जनजाति कोटा रेखाकुमारी यादव –मधेसी कोटा
प्रमिलाकुमारी गच्छदार –मधेसी कोटा चन्द्रमोहन यादव –मधेसी कोटा
 हरिनादेवी कामी – दलित कोटा
 शाहजान खातुन

कांग्रेसका समानुपातिक सांसद

प्रतिनिधि सभाको पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गरेरै निर्वाचनमा होमिएका कारण त्यहाँ अब औपचारिकता बाँकी छ । पार्टीको विधान संशोधन गरेरै रास्वपाले साहलाई संसदीय दलको नेता मानेर प्रधानमन्त्री चयन गर्ने बताइसकेको  छ ।

यता मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा रहेको कांग्रेसमा हालसम्म पनि ३८ सासंदमध्ये संसदीय दलको नेता कसलाई बनाउने अन्योल हटेको छैन ।

अनुभवका आधारमा संसद्को पाको उमेरका नेता भएकाले समानुपातिक तर्फका अर्जुननरसिंह केसी यो भूमिकामा बलिया दाबेदार हुन् ।

तर ७८ वर्षीय केसी पटक–पटक लाभको पदमा बसेकोमा आलोचनामा परेका नेता हुन् । त्यसैमाथि उनी सभापति थापाको सुसरा भएकाले पनि उनलाई संसदीय दलको नेता नबनाउन अप्रत्यक्ष दबाब बढेको थापाको सचिवालयका एक सदस्य बताउँछन् । 

‘अनुभव र राजनीतिक चेतका आधारमा अर्जुननरसिंह केसी उपयुक्त पात्र हो । अब सभापतिज्यूकै ससुरा भएकाले उहाँलाई संसदीय दलको नेता बनाउँदा आलोचना हुने हो कि भन्ने त्रास छ,’ उनले भने । 

यद्यपि, उनी गगन थापा सक्रिय राजनीतिमा आउनुअघि नै स्थापित भइसकेकाले नातेदार भनेर व्याख्या गर्नु उचित नहुने कांग्रेसकै नेताहरूको तर्क छ।

२००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा जन्मिएका केसी ०१८ सालदेखि राजनीतिमा सक्रिय छन् । बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा पनि काम गरेका छन् । 

पञ्चायती शासनकालमा ६ वर्ष नौ महिना जेल जीवन बिताएका केसी सह-महामन्त्री र प्रवक्ताका साथै पार्टीका विभिन्न विभागको प्रमुख एवम् केन्द्रीय सदस्यको भूमिकामा निर्वाह गरेका अनुभवी नेता हुन् । 

यस्तै केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवम् सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा काम गरेको अनुभव सँगालिसकेका छन् ।

नेता केसी समसामयिक विषयमा पत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन् । कांग्रेसका वरिष्ठ नेतृत्वको निर्देशनमा केसी ०३६ को जनमत संग्रहपछिको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर संसद् छिर्न सफल भएका पात्र हुन् ।

केसी संसदीय दलको नेता नबन्ने अवस्था रहेमा समानुपातिक सांसदमा चयन भएका भीष्मराज आङ्देम्बेलाई विकल्पमा हेरिएको छ । 

समानुपातिक उम्मेदवारलाई दलको नेता बनाउने नमिल्ने विवादसमेत सुनिन थालेकाले केसी र आङ्देम्बेको विकल्पमा डोटीबाट निर्वाचित भरतबहादुर खड्का अर्का प्रत्याशी हुन् । 

०१४ सालमा साविक खिरसैन गाविसमा जन्मिएका भरतबहादुर खड्का डोटीको पूर्वीचौकी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । उनी ०३२ सालदेखि नेविसंघबाट राजनीति सुरू गर्दै विद्यार्थी नेताका रूपमा उदाए । 

०३९ सालमा स्नातक सकेलगत्तै २३ वर्षकै उमेरमा उनी खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भए । खड्का २०७० सालमा संविधानसभा सदस्य बने । ०७४ मा प्रदेशसभर कांग्रेसले जम्मा ४ सिट जित्दा उनी पनि एक थिए । उनले ०७९ को प्रतिनिधिसभा चुनावमा अवसर पाएका थिएनन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : १० बजे

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो