काठमाडौं– सभापति गगन थापाको राजीनामाबारे निर्णय गर्न शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले घोषणा गरेको राजीनामाबारे बैठकमा छलफल हुनेछ ।
सभापतिले राजीनामाको प्रस्ताव पेश गरेपछि बैठकमा यसबारे थप छलफल हुनेछ । थप छलफलपछि केन्द्रीय समितिले यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता चालिसेले खबरहबलाई जानकारी दिए ।
‘अहिले हामीले यसबारे यही निर्णय आउँछ भन्न मिल्दैन । त्यो त कार्यसमिति सदस्यले गर्ने निर्णय हो ।’ चालिसेले खबरहबलाई भने, ‘उहाँले पेश गरेका कारण कार्यसमितिलाई ठीक लागेमा राजीनामा स्वीकृत हुनेछ, अन्यथा उहाँ नै कामय रहने अवस्था बन्न पनि सक्छ ।’
निर्वाचनको समीक्षा गर्न पार्टीको केन्द्रीय समिति बैठक लगातार दुई दिन बस्न लागेको उनले जानकारी दिए । यद्यपि सभापतिको राजीनामाबारे बैठको पहिलो दिनमै निर्णय आउनेछ ।
‘सभापतिको राजीनामाबारे हामीले पहिलो दिनमा नै टुङ्गो लगाउनेछौँ । त्यसपछि निर्वाचनको समीक्षा, संसदीय दलको नेता चयन, प्रशिक्षण, पन्धौँ महाधिवेशनको तयारी जस्ता विषयमा छलफल हुनेछ ।’ उनले भने ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका थिए । तर, सञ्चार माध्यममा भने बिहीबार मात्रै यो विषय बाहिरियो ।
सञ्चार माध्यममा सार्वजनिक राजीनामा पत्रमा सभापति थापाले चुनावमा भोगेको पराजयको जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपी उक्त पत्रको औपचारिकता भने पुष्टि भइसकेको छैन ।
सभापति थापा भोलिको बैठकमा उपस्थित नभए उपसभापति विश्वप्रकाश शर्माले बैठक सञ्चालन गर्नेबारे पनि पार्टीले हालसम्म कुनै निर्णय नगरेको उनले जानकारी दिए ।
‘पार्टीले औपचारिक रुपमा त्यस्तो निर्णय गरेको छैन । भोलि उहाँको उपस्थिती नभएको खण्डमा कार्यसमिति सदस्य मध्येकै एक जनाबाट बैठक सञ्चालन गरिनेछ,’ उनले भने ।
निर्वाचन समीक्षालगत्तै पार्टीलाई सुधार गर्नेतर्फ लाग्ने उनले जानकारी दिए । कांग्रेसले उपसभापति शर्माको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको थियो । बैठकमा शर्माले निर्वाचनमा पार्टीका अधिकांश उम्मेदवार पराजित हुनुका कारणबारे जानकारी दिने उनले बताए ।
कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीका तल्ला निकाय र उम्मेदवारहरूलाई चुनावमा पराजित हुनुका कारणबारे लिखित रूपमा जानकारी पठाउन परिपत्र गरेका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा सभापति थापा आफैँ सर्लाही– ४ बाट पराजित भएका थिए ।
सभापति थापासहित चुनावमा उठेका पार्टीका सबै पदाधिकारी सदस्य पराजित भएका थिए । यसलगत्तै उनले नैतिकताको आधारमा राजीनामा दिने समेत बताइसकेका थिए । विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन । विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । यसबारेको मुद्दा विचाराधीन छ ।













प्रतिक्रिया