काठमाडौं- बंगलादेशमा पछिल्लो केही दशकयताकै सबैभन्दा भयानक दादुराको प्रकोप फैलिएको छ। यस प्रकोपका कारण अहिलेसम्म ५०० भन्दा बढी बालबालिकाको ज्यान गइसकेको छ । स्वास्थ्य विभागले गत मार्च १५ देखि सुरु गरेको तथ्याङ्क अनुसार शनिबार मात्रै थप १३ जना बालबालिकाको मृत्यु भएपछि कुल मृतकको संख्या ५१२ पुगेको छ ।
राजधानी ढाकाका अस्पतालहरू दादुराका बिरामीहरूले भरिभराउ भएका छन् । बिरामीको चाप बढेपछि अस्पतालहरूले छुट्टै वार्डहरू स्थापना गरेका छन् । तर त्यहाँ सघन उपचार कक्ष (आईसीयू) बेडको अभाव देखिएको छ ।
चिकित्सकहरूका अनुसार अस्पताल ल्याइपुर्याउँदा धेरैजसो बालबालिका गम्भीर रूपमा बिरामी भइसकेका हुन्छन्। ढाकास्थित शहीद सोहरावर्दी मेडिकल कलेजका बालरोग विशेषज्ञ आइनुल इस्लाम खानका अनुसार दादुरा निकै संक्रामक भए पनि सामान्य अवस्थाका स्वस्थ बालबालिका सामान्य औषधिबाटै निको हुन सक्छन् । तर, अहिले अस्पताल आउने अधिकांश बालबालिकामा श्वासप्रश्वासको समस्याका साथै आँखा, घाँटी र फोक्सोको संक्रमण देखिएको छ।
दादुरा खोपद्वारा रोकथाम गर्न सकिने रोग भए पनि विश्वभर बालबालिकाको मृत्यु गराउने यो एउटा प्रमुख कारण हो । यो भाइरसबाट लाग्ने निकै संक्रामक रोग हो, जुन खोक्दा वा हाछ्युँ गर्दा सर्छ। यसको कुनै ठोस उपचार छैन । यसले मुख्यगरी बालबालिकाहरूलाई असर गर्छ ।
कुपोषित वा खोप नलगाएका बालबालिकामा यसले निमोनिया र मस्तिष्क सुन्निने जस्ता गम्भीर समस्या निम्त्याउँछ, जसले गर्दा ज्यान समेत जान सक्छ। अहिलेको प्रकोपमा धेरैजसो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरू प्रभावित भएका छन्। सरकारले केही प्रभावित क्षेत्रहरूमा संक्रमणको दर घट्दै गएको र प्रकोप नियन्त्रणमा आएको दाबी गरे पनि मृत्यु हुने क्रम भने रोकिएको छैन।
यो संकटको सामना गर्न १७ करोड ५० लाख जनसंख्या भएको बंगलादेशले देशव्यापी रूपमा बृहत खोप अभियान सुरु गरेको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की देश प्रमुख राना फ्लावर्सका अनुसार यस अभियान अन्तर्गत १८ करोड बालबालिकासम्म खोप पुर्याइएको छ। यद्यपि, स्वास्थ्य विभागले यो खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने बताएको छ।













प्रतिक्रिया