काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारहरूलाई अझै तीव्र पार्ने उल्लेख गरे ।
चौथो र पाँचौँ वर्षको बजेटलाई सुधार मार्फत नभई आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनले बताए । उनले वर्तमान सरकारले आगामी पाँच वर्ष मुलुकको आर्थिक क्षेत्रमा रूपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महसुस गर्न सक्ने धारणा राखे ।
निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि नसक्ने भन्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको स्पष्ट पारे। अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय हुन सक्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सबै क्षेत्रमा परेको बताए । बैंकहरुमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनले बताए।
उनले सरकारले एमआरपी लागू गरेपछि व्यापार क्षेत्रमा धेरै असुविधा सिर्जना गरेको गरेको गुनासो गरे ।












प्रतिक्रिया