कम्बोडियाबाट फर्किएपछि नेपाल आएका थिए चिनियाँ ह्याकर | Khabarhub Khabarhub

कम्बोडियाबाट फर्किएपछि नेपाल आएका थिए चिनियाँ ह्याकर



काठमाडौं– एटिएम ह्याक गरेर नेपाली बैंक लुट्ने ५ चिनियाँ नागरिकहरु नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको छ ।

प्रहरीका अनुसन्धानबाट शनिबार साँझ काठमाडौंबाट पक्राउ परेका ५ जना चिनियाँ ह्याकरहरु नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको हो ।

उनीहरुको ‘ट्राभल हिस्ट्री’बारे अनुसन्धान गर्ने क्रममा नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए ।

बयानका क्रममा धेरै कुरा ‘गलत’ बोलेपछि प्रहरीले उनीहरुको ट्राभल हिस्ट्री अध्ययन गर्न थालेको हो । ‘उनीहरुले एउटै विषयमा पनि पटक पटक बयान फर्ने गरेका छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘एक जनाले आफूहरु स्पेनमा बनाइएको योजनाका आधारमा परिचालन भएको बयान दिए । तर, अर्कोले फ्रान्स भने ।’

तर, शनिबार पक्राउ परेकामध्ये ५ जना नै भदौ १३ गते (शुक्रबार) चाइन एयरको उडानमार्फत नेपाल आएको देखिएको छ । ‘उनीहरु कम्बोडियाबाट चीन फर्किएर पुनः नेपाल आएका हुन सक्छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘अहिले हामीले उनीहरुको ट्राभल हिस्ट्री अध्ययन गरिरहेका छौं ।’

प्रहरीले उनीहरुको साथबाट ५ हजार कम्बोडियन मुद्रा समेत फेला पारेको थियो ।

नेपालमा पनि थिए सहयोगी

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चिनियाँ ह्याकरहरुले नेपालमा रहेका सहयोगीको मद्दतबाट ह्याकिङ शुरु गरेको देखिन्छ ।

शुक्रबार नेपाल ल्याण्ड भएका उनीहरुले सोही साँझ इन्टरनेट चलाउन लागि नेपाली सीम प्रयोग गरेको देखिन्छ । उनीहरुले इन्टरनेट चलाउने डाटा कार्ड समेत नेपालमै खरिद गरेको देखिएको प्रहरी अधिकारीले जानकारी दिए ।

‘उनीहरुले इन्टरनेट चलाउनका लागि नेपाली सीम कार्ड प्रयोग गरेको देखिन्छ । तर, ती सीमबाट कल (फोन) गरेको देखिँदैन,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

प्रहरीका अनुसार उनीहरुले चिनियाँ म्यासेजिङ एप ‘वीच्याट’मार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गरेको देखिएको छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा नेपालमा पनि उनीहरुको सहयोगी रहेको देखिन्छ । नेपालमा रहेका सहयोगीहरुले आवश्यक तयारी गरेपछि उनीहरु नेपाल आएका हुन सक्छन्,’ प्रहरी स्रोतले खबरहबसँग भन्यो ।

विमानस्थलबाट पक्राउ परेका व्यक्ति फ्रान्सेली नागरिक ?

प्रहरीका अनुसार शनिबार भएको एटिएम ह्याकिङमा ८ जनाजतिको प्रत्यक्ष संलग्नता देखिएको छ । जसमध्येका १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

शनिबार ५ जना र आइतबार १ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार रहेका प्रहरीको भनाइ छ ।

आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ३६ वर्षीय सु लुसलीसँग फ्रान्सको राहदानी रहेको प्रहरी स्रोतको भनाइ छ । ‘उनी (सु लुसली)सँग फ्रान्सको राहदानी फेला परेको छ । यद्यपि राहदानी सक्कली वा नक्कली कस्तो हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

५ चिनियाँको बयान लिनै मुश्किल

नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा निकाल्ने ५ चिनियाँको बयान लिनै मुस्किल भएको प्रहरी स्रोतको भनाइ छ ।

‘उनीहरु चिनियाँ भाषा नै बोल्छन् । अहिले चिनियाँ भाषामा दख्खल भएका प्रहरीलाई राखेर उनीहरुको बयान लिने काम पनि भइरहेको छ,’ प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘तर, उनीहरु बोल्न नै मानिरहेका छैनन् । हरेक कुरा उनीहरु नबोलेरै टार्दै आएका छन् ।’

मुख्य ह्याकर युरोपमा ?

प्रहरीले शनिबार पक्राउ परेका ५ जना र आइतबार साँझ विमानस्थलबाट पक्राउ परेका १ जना छुट्टा छुट्टै रुपमा परिचालन भएका अनुमान गरेको छ ।

प्रहरीका अनुसार विमानस्थलबाट पक्राउ परेका व्यक्तिले शनिबार पक्राउ परेका अन्य ५ लाई आफूले नचिन्ने भनेर बयान दिएका छन् ।

‘यिनीहरु एउटै कामका लागि फरक फरक समूहमा सक्रिय भएका देखिन्छ,’ प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘अहिलेसम्म भएको अनुसन्धानबाट प्राप्त तथ्यलाई विश्लेषण गर्दा यसको मुख्य योजनाकार व्यक्ति अर्कै रहेको देखिन्छ ।’

५ जना चिनियाँले प्रहरीसँगको बयानका क्रममा युरोपका देश फ्रान्स र स्पेनबाट परिचालित भएको बताएका छन् ।

‘कसैले आफूहरु फ्रान्सबाट आएको निर्देशनका आधारमा परिचालन भएको भनेका छन्, केहीले भने स्पेनबाट निर्देशन आएको भनेका छन्,’ प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘उनीहरुको बयानलाई आधार मान्दा मुख्य योजनाकार युरोपमा भएको बुझ्न सकिन्छ । तर, उनीहरुले आफ्नो बयान फेरिरहेका कारण यसलाई नै अन्तिम आधार मान्न सकिने अवस्था भने छैन ।’

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १२ : ४८ बजे

राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको

बढ्दो अन्तर्राष्ट्रिय अनिश्चितताको सामना गर्दै चिनियाँ अर्थतन्त्र

बेइजिङ– चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको

बालेनलाई संघीय मामिला मन्त्रालयको पत्र- प्रमुख प्रशासकीय अधिकृत गुरागाईं नै हुन्, काम गर्न दिनू

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत

फालेलुङ पर्यटन महोत्सव : घोडा दौडदेखि याक राइडिङसम्म 

काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ वडाको संगमस्थल थाप्ली डाँडामा