काठमाडौं– डाक्टर जेपी जैसवाल मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् । उनले विगत २० वर्षअघिदेखि हजारौं मुटुरोगका बिरामीहरुको उपचार गरेका छन् ।
मुटुरोगका बिरामीको उपचारमा ख्याति कमाएका डा जैसवाललाई चिकित्सा शिक्षा अध्ययनको बाटो र यो क्षेत्रमा प्रवेश गर्न भने त्यति सहज थिएन । विभिन्न समस्याहरुको सामना गर्दै उनी आज मुटुरोग विशेषज्ञ चिकित्सकको रुपमा स्थापित छन् ।
बाल्यकालमा बाबुसँगै स्कुल पनि सरुवा
२०२७ सालमा रौतहटमा जन्मिएका जैसवालको बाल्यकाल विभिन्न जिल्लामा बित्यो । सरकारी जागिरे बाबुको जता सरुवा हुन्थ्यो, उनी पनि त्यतै जानुपर्ने बाध्यता थियो । जैसवाल जन्मिदा उनका बाबु बझाङमा न्यायालयमा थिए । त्यसैले उनले पनि एकवर्ष बझाङमा बिताए । त्यसपछि जैसवालले सप्तरी राजविराज, धनकुटा, बुटवलमा गरी ५ कक्षासम्म हरेक वर्ष नयाँ स्कुलमा पढे ।
बाबुको सरुवा जहाँ भयो त्यही जिल्लामा जानुपर्ने र स्कुल परिवर्तन गर्नुपर्ने अवस्था भएपछि जैसवालका बाबुलाई छोरालाई होस्टेलमा राखेर पढाउन आफन्तहरुले सुझाए । त्यसपछि उनका बुबाले जैसवाललाई काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ६ मा भर्ना गरीदिए । त्यसपछि भने उनले विद्यालय परिवर्तन गर्नुपरेन । जैसवालले सिद्धार्थ वनस्थलीबाट २०४२ सालमा एसएलसीको परीक्षा दिए । उनी प्रथम श्रेणीमा उत्तीर्ण भए ।
कुखुरा बनेको दिन…
वनस्थलीमा पढ्दै गर्दा जैसवाल होस्टेलमा बस्थे । तर उनलाई होस्टेलको खाना र बसाइले दिक्क बनाउथ्यो । उनी साथीहरुसँग मिलेर पढाइ नै छाडेर टिभी हेर्न असनसम्म पुग्थें । स्कुलबाट भागेर टिभी हेर्न जाँदा कुखुरा बन्नुपर्ने हुन्थ्यो ।
‘स्कुल पढ्दा म निकै उट्पट्याङ काम गर्थें, शिक्षकको गाली भन्दापनि शारीरिक पीडा बढी पाइन्थ्यो, स्कुलबाट भागेर टिभी हेर्न जाँदा म धेरैपटक कुखुरा बनेको छु,’ जैसवाल बाल्यकाल सम्झन्छन्, ‘सरले बदमासी गरेको भन्दै रुखमासमेत बाँदिदिन्थें, बनस्थलीतिर जाँदा अहिले पनि बाल्यकालको याद आउँछ ।’
पाइलट बन्ने सपना छोडेर डाक्टरी
एसएसली पास भएपछि जैसवालले सिद्धार्थ वनस्थली क्याम्पसबाटै आइएसी गरे ।
जैसवालले स्कुल पढ्दादेखि नै आफू पाइलट बन्ने सपना बुनेका थिए । तर ठूलो हुँदै जाँदा उनलाई परिवारले पाइलट बनेपछि दुर्घटनाको जोखिम बढी हुने भएको भन्दै पाइलट पढ्न दिएनन् ।
आफुले पाइलट पढ्न नपाएपछि जैसवाल सन् १९८९ मा एमबीबीएस पढ्न भारत गए । उनले छात्रवृत्तिमा भारतको कलकत्ता विश्व विद्यालयमा एमवीवीएस पढ्ने अवसर पाए ।
भारतमा एमवीवीएसको अध्ययन पूरा गरेर उनी साढे ५ वर्षपछि नेपाल फर्किए ।
डाक्टर बनेर आउँदा विशेषज्ञता सोध्दा अचम्मित भए । एमवीवीएस अध्ययन पुरा गरेका विद्यार्थीहरुले कुनै रोगमा विशेषज्ञता हासिल गरेका हुँदैनन् ।
उनीहरु जनरल डाक्टर मात्रै हुन्छन् । तर त्यो समयमा एमवीवीएस गर्ने डाक्टर पनि नेपालमा कमै थिए । एमवीवीएस सकेर डाक्टर बनेर खुसी हुँदै नेपाल फर्किएका जैसवाल दुःखी बने, जब सबैले ‘कुन रोगको विशेषज्ञ डाक्टर बन्यौं ?’ भनेर प्रश्न गर्न थाले ।
‘म त एमवीवीएसको पढाइ सकेर डाक्टर बनेर नेपाल फर्किएको थिए, तर सबैले कुन विषयमा डाक्टरी पढेको ? केको विशेषज्ञ हुनुहुन्छ ? तपाई भनेर प्रश्न गर्नुभयो,’ जैसवाल त्यो पल स्मरण गर्छन्, ‘मेरो मनमा ठूलै चस्को पस्यो, मैले फिल गरे, साढे पाँच वर्ष डाक्टर पढेर पनि केही उपलब्धी नभएजस्तो महसुस भयो ।’
सबैले आफ्नो विशेषज्ञता खोज्न थालेपछि डा जैसवालले एमडी अध्ययन गरेर आफू विशेषज्ञ चिकित्सक बन्ने सोच बनाए । त्यसपछि उनी नेपाल फर्किएको ४ महिनामै फेरि इन्टर्नल मेडिसिनमा एमडी गर्न भारतको बनारसमा रहेको हिन्दू युनिभर्सिटिमा गए । उनले तीनवर्षमा एमडीको पढाइ पूरा गरे । एमडी गरेर फेरि उनी नेपाल फर्किए । तर नेपाल फर्किपछि पनि उनले राम्रो प्रतिक्रिया पाउन सकेनन् ।
‘मैले इन्टर्नल मेडिसिनमा एमडी गरेर नेपाल आए, नेपाल आएर जागिर खोज्दा त तपाईले यो कस्तो भास्ट (वृहत) विषय पढेर आएको, तपाई कुनै रोगको विशेषज्ञ होइन ? भनेर सोध्नुभयो,’ डा जैसवालले भने, ‘म फेरि अचम्मित भए ।’
त्यतिबेला नेपालमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) विस्तार हुँदै थियो । डा जैसवाल गंगालाल अस्पतालको तत्कालिन निर्देशक दामोदर पोखरेलले गंगालाल मुटुरोगको विषयमा एकवर्षको फेलोसिप गर्न विदेश पठाउने बताए । स्वास्थ्य मन्त्रालय र गंगालाल अस्पताल माफर्त मुटुरोगको विषयमा एकवर्षको फेलोसिप गर्न भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा गए ।
भारतका एकवर्षको फेलोसिप पूरा भएपछि डा जैसवालले दुईवर्ष गंगालाल अस्पतालमा काम गरे । त्येतिबेला गंगालाल अस्पतालमा मुटुरोगका बिरामी किनै कम हुन्थे । दिनमा मुस्किकले ५ जना बिरामीहरु आउने गरेको डा जैसवालको सम्झना छ ।
‘अहिले त मुटुका बिरामीले गंगालालमा उपचार गराउन महिनौ पालो कुर्नुपर्ने अवस्था छ, गंगालालमा शुरुको अवस्थामा बिरामी भन्दा डाक्टर धेरै थिए, दिनभरीका ५ जना बिरामी आउथे,’ डा जैसवाल स्मरण गर्छन्, ‘ एकजना डाक्टरले एक, दुईजना बिरामी हेर्न पाउनु पनि मुस्किल थियो, बिरामी नहुँदा दिन विताउन पनि मुस्किल हुन्थ्यो ।’
पत्नीकै लागि भारतमा डाक्टरी
डा जैसवालले भारतमा फेलोसिप गर्दैगर्दा भारतीय नागरिकसँग विवाह गरेका थिए । उनकी पत्नी पूजा त्यतिबेला डाक्टरी पढ्दै थिइन् । आफू नेपाल र पत्नी भारतमा हुँदा उनीहरुको वैवाहिक जीवनमा समस्या उत्पन हुने अवस्था आयो ।
सपछि उनी पत्नीसँगै बस्नेगरी भारतको दिल्लीमा रहेको मेट्रो हार्ट इस्टिच्युटमा ३ वर्ष जुनियर कन्सलटेन्ट भएर काम गरे । पत्नीको पढाइ सक्किएपछि डा जैसवाल पत्नीलाई लिएर सन् २००४ मा नेपाल फर्किए ।
डा जैसवाल भन्छन्, ‘अहिले डाक्टरलाई पनि हाइफाइ बढी चाहिन्छ, कम अवधिमा धेरै चाहना गर्नेहरु धेरै भए, एक करोडदेखि ४ करोडसम्म खर्च गरेर चिकित्सा शिक्षा पढ्नेहरु धेरै भए, उनीहरुलाई कसरी छिटो र धेरै कमाउ भन्ने भावना बढी भयो ।’
नेपाल आएपछि नर्भिक र इवामुरा अस्पतालमा
नेपाल आएपछि उनले नर्भिक अस्पतालमा पार्ट टाइम काम शुरु गरे । डा जैसवाल त्यतिबेला दुईवटा अस्पतालमा कार्यरत थिए । भक्तपुरमा रहेको इवामुरा अस्पतालमा सन् २००५ देखि मेडिकल डाइरेक्टर भएर काम गरे ।
‘मैले भक्तपुरमा रहेको इवामुरा अस्पतालमा काम गर्दा धेरै बिरामीहरु जाँच गरे । बिरामीहरुलाई सस्तोमा सेवा दिन्थें,’ डा जैसवालले भने, ‘त्यतिबेला पैसा नभएपनि मानसम्मान र बिरामीको माया धेरै पाए ।’ डा जैसवाल तीनवर्ष अघिदेखि भने नर्भिक अस्पतामा पूरा समय बिरामीको सेवा गर्छन् ।
चिकित्सा सेवामा सेवा भावना कम
लामो समयदेखि मुटुरोगका बिरामीको उपचारमा खटिएका डा जैसवाल बिरामीहरु अस्पतालबाट ठीक भएर मुस्काउँदै घर फर्किदा आनन्दित हुन्छन् । पहिला– पहिला चिकित्सकलाई बिरामीले भगवानको रुपमा लिन्थे तर आजभोलि चिकित्सा पेसामा बिरामीहरुले शंका गर्ने गर्छन् । चिकित्सा शिक्षामा भएको व्यापारले डाक्टरमा सेवा भाव कम हुँदा पनि यस्तो अवस्था सिर्जना भएको डा जैसवाल बताउँछन् ।
‘पहिला सेवाको भावनाले गरिन्थ्यो, पहिला–पहिला म नै पनि ५० रुपैयाँमा बिरामी जाँच्थें, मैले पढाइमा पनि पैसा खर्च गरिन, छात्रवृत्तिमा पढ्न पाएँ, मलाई थोरै कमाए पनि पुग्छ, सेवाको भावना बढी हुन्छ,’ डा जैसवाल भन्छन्, ‘अहिले डाक्टरलाई पनि हाइफाइ बढी चाहिन्छ, कम अवधिमा धेरै चाहना गर्नेहरु धेरै भए, एक करोडदेखि ४ करोडसम्म खर्च गरेर चिकित्सा शिक्षा पढ्नेहरु धेरै भए, उनीहरुलाई कसरी छिटो र धेरै कमाउ भन्ने भावना बढी भयो ।’
चिकित्सा पेसामा सेवा भन्दा पैसा बढी हावी भएकाले बिरामीले शंका गर्ने वातावरण सिर्जना भएको डा जैसवालको भनाइ छ ।
‘डाक्टरलाई बिरामीले हिजो गर्ने सम्मान आज छैन,यस्तो देख्दा दिक्क लाग्छ,’ डा जैसवाल भन्छन्, ‘म त भन्न चाहन्छु, पैसा कमाउने हो भने डाक्टरी नपढ्नु, पैसा कमाउन चाहना गर्ने डाक्टरलाई बिरामीले सम्मान गर्दैन, चिकित्सा क्षेत्र पनि बदनाम हुन्छ ।’
‘चिकित्सा पेसालाई बदनामीबाट बचाउँन डाक्टर केसीको माग पुरा हुनुपर्छ’
चिकित्सा क्षेत्रमा देखिएको समस्याहरु निराकरणका लागि चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको मागहरु पूरा हुनुपर्ने डा जैसवालको तर्क छ ।
‘चिकित्सा क्षेत्रमा साच्चै सुधारको आवश्यता छ, चिकित्सा शिक्षा र पेसामा सुधार हुन डाक्टर गोविन्द केसीले उठाउनु भएका मागहरुलाई म सपोट गर्छु, किनकी उहाँको माग अनुसार सबैक्षेत्रका विद्यार्थीहरु मेडिकल क्षेत्रमा पढ्ने अवसर पाए भने, शिक्षाको शुल्कमा नियन्त्रण भयो भने पछि अपेक्षा पनि बढी हुँदैन,’ उनी भन्छन्, ‘चिकित्सा पेसालाई बदनामीबाट बचाउँन डाक्टर केसीको माग पुरा हुनुपर्छ ।’
फिल्मको शोखिन
डा जैसवाललाई फिल्म हेर्न सानैदेखि रुची छ । उनी अहिले पनि समय मिलाएर पत्नी र छोराछोरीसँग फिल्म हेर्न हलमा पुग्छन् ।
पछिल्लो समय मुटुरोगका बिरामीहरु बढ्दै गएको डा जैसवाल बताउँछन् । मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएकाले मुटुरोगका बिरामी पनि बढेको डा जैसवालको भनाइ छ
‘मलाई फिल्म हेर्न एकदमै मनपर्छ, सानोमा पनि स्कुलबाट भागेर टिभी हेर्न गाइन्थ्यो, अहिले पनि व्यस्त भएपनि समय म्यानेज गरेर पत्नी, छोराछोरीसँग फिल्म हेर्न जान्छु,’ डा जैसवाल भन्छन्, ‘नयाँ फिल्म आयो भने छुट्दंैन, हेर्न गइहाल्छु ।’
वर्षमा दुईपटक आफ्नै स्वास्थ्य परीक्षण
लामो समयदेखि मुटुरोग बिरामीको उपचार गर्दै आएका डा जैसवालका अनुसार पछिल्लो समय मुटुरोगका बिरामीहरु बढेका छन् । स्वास्थ्य र खानपानमा ध्यान नदिँदा मानिसहरु रोगी बन्दै गएको डा जैसवालको भनाइ छ । स्वास्थ्य रहन समयसमयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने भनिएपनि मानिसहरु बिरामी नभइ अस्पताल नजाने गरेको डा जैसवाल बताउँछन् । स्वास्थ्य जाँच गर्नुपर्छ भनेपनि कतिपय डाक्टरहरु नै समय–समयमा स्वास्थ्य जाँच गराउँदैनन् । तर डा जैसवाल बिरामीको उपचारमा मात्रै होइन आफ्नै स्वास्थ्यप्रति पनि समेत छन् ।
‘म बिरामीको उपचार मात्रै गर्दिन, आफ्नो स्वास्थ्यप्रति पनि सचेत छु, वर्षमा दुईपटक सुगर, प्रेसर, मुटु, मिर्गौला लगायत स्वास्थ्य परीक्षण गराउछु,’ ‘हरेक नेपालीले समय–समयमा स्वास्थ्य जाँच गर्नुपर्छ, अझै ४० कटेका व्यक्तिले त वर्षम दुईपटक आफ्नो स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गराउँनुपर्छ ।’
मुटुका बिरामी बढे
पछिल्लो समय मुटुरोगका बिरामीहरु बढ्दै गएको डा जैसवाल बताउँछन् । मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएकाले मुटुरोगका बिरामी पनि बढेको डा जैसवालको भनाइ छ । मुटुरोगलाई कम गर्न रक्तचाप, मधुमेह नियन्त्रणमा राख्नुपर्ने र स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्ने डा जैसवालको भनाइ छ ।
प्रतिक्रिया