विदेशीसँगको बिहेले सुखी जीवनको सपना भताभुंग ! « Khabarhub

विदेशीसँगको बिहेले सुखी जीवनको सपना भताभुंग !


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो।

सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो। काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाएको नागरिक दैनिकमा खबर छ। बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए। हङकङ गएर पैसा कमाउन पाइयो भने त परिवारलाई भरथेग हुन्छ भनेर सुनिता चिनियाँसँग बिहे गर्न राजी भइन्। दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग बिहे गरेर पठाउन खोजेका थिए। तर नाबालक भएकाले उनी दलालको चंगुलमा पर्नबाट बचिन्।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विवाह गरी चीन आएकी थिइन्। राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए। उनले अमानवीय व्यवहार भोग्नुपर्‍यो। ‘मलाई सासूससुरा र लोग्नेले बारम्बार पिट्थे,’ उनले भनिन्, ‘तँलाई ल्याउन एक लाख चिनियाँ युआन खर्च भएको छ, त्यसको पुरताल गर्नुपर्छ भन्दै उनीहरूले मलाई बारम्बार यातना दिन्थे।’ सुनितालाई नेपालमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि दिइएन।

सुरुमा उनी चिनियाँ भाषा बुझ्दिनथिन्। बिस्तारै उनले चिनियाँ भाषा सिकिन्। उनले पछि थाहा पाइन्, पति यिनले उनीभन्दा पहिले दुईपटक बिहे गरेका रहेछन्। पहिलोपटक उनले भियतनामीसँग बिहे गरेका रहेछन्। सो विवाह सफल नभएपछि उनले नेपालबाटै शेर्पा चेलीसँग दोस्रो विवाह गरेका रहेछन्। ब्रेन ट्र्युमर भएपछि उनलाई नेपाल फर्काइदिएछन्। सुनिता उनकी तेस्री पत्नी थिइन्। दुई वर्षअघि सासूससुराको निधन भएपछि सुनिता नजिकैको एक प्लास्टिक उद्योगमा काम गर्न थालिन्। त्यहाँका साहुले सुनिताले काम गरेको पारिश्रमिक उनका पतिलाई नै दिन्थे। परिश्रमी सुनिताको कामबाट प्रभावित भएर पछिल्लो समय भने कम्पनीले केही पैसा उनलाई पनि दिन थालेको थियो।

सुरुसुरुमा त पति यिनले भिसा अवधि थपाउन सुनितालाई अध्यागमन कार्यालय लिएर जान्थे। पछि भिसा अवधि नथपिएपछि उनी २१ महिनादेखि अवैध रूपमा चीनमा बस्दै आएकी थिइन्। उनी वैवाहिक–पारिवारिक भिसामा बसोबास गरिरहे पनि चीन सरकारबाट भिसा लिनु अनिवार्य थियो। पतिले भिसाका लागि चासो देखाएनन्।

उनले सुनिताको राहदानी पनि लुकाइदिए। आफूले काम गरेको पैसा पनि नदिने र नेपाल जाने वैधानिक बाटो पनि बन्द भएपछि उनले बिनाभिसा राखेको भन्दै प्रहरीकोमा उजुरी गर्ने धम्की दिइन्। सुनिताले उजुरी गर्ने भनेपछि पति यिन केही हच्किए। त्यसपछि यिन आफैंले सुनितालाई वैशाख २३ मा प्रहरीकहाँ लिएर गए। प्रहरीले बेइजिङको अध्यागमन कार्यालयलाई पत्र लेखी दुवैलाई बेइजिङ पठायो। चिनियाँ भाषामा लेखिएको सो पत्रमा के थियो उनले बुझिनन्।

बेइजिङ गएपछि नेपाल फर्किन पाइन्छ कि भन्ने सुनितालाई लागेको थियो। उनले केही लुगाकपडा झोलामा राखेकी थिइन्। त्यसभित्र उनले काम गरेर पाएको केही पैसा पनि लुकाएर राखेकी थिइन्। जेठ १ गते बेइजिङ हिँड्ने बेलामा हपेई प्रहरीले उनलाई झोला लान नपाउने बतायो। कमाएको केही पैसा झोलामा प्रहरी चौकीमै छुट्यो। बेइजिङान सुनिताको सिमकार्ड प्रहरीले जफत गर्‍यो। पति यिनलाई प्रहरीले पाँच हजार चिनियाँ युआन जरिवानासहित १० दिन हिरासतमा राख्यो भने सुनितालाई जेठ २ गते प्रहरी निगरानीमा खुन्मिङ पु-याएर नेपाल जाने जहाज चढायो।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : २८ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख