चार तलाबाट खसेर मेरुदण्ड भाँचिएपछि चित्रकार बने श्रेष्ठ « Khabarhub

चार तलाबाट खसेर मेरुदण्ड भाँचिएपछि चित्रकार बने श्रेष्ठ



काठमाडौं-रंगले पोतिएका हातका औंला । छेउमा विभिन्न रङका डब्बाहरु र अर्को हातमा ब्रस । कलिलो उमेर । भर्खरै जुँगा रेखी बसेको जस्तै देखिने । काम गर्ने जोश र जाँगर उस्तै ।

काठमाडौंको नारायणटारमा रहेको ‘बीआइए’ नामक एक संस्था छ । जहाँ शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु ह्विचियरमा बसेर राम्रा-राम्रा तस्वीरलाई कागजमा उतारिरहेका हुन्छन् ।

शारीरिक रुपमा अपाङ्गता भएपनि काम गर्न सकिन्छ र जीवन धान्न सकिन्छ भन्ने उदाहरण बनेका करिब २५ जना अपाङ्गता भएका व्यक्तिहरु हरेक दिन चित्र अर्थात् थाङ्का कोर्नमा व्यस्त देखिन्छन् ।

आफुले कारेको तस्वीर एक–अर्कालाई देखाउँदै मख्ख पर्दै आपसमा प्रश्न सोध्दछन ‘कस्तो भयो ? कस्तो देखिएको छ ? आहा ! कति राम्रो भयो है ।’ सायद यसमै उनीहरु रमाइरहेका छन् । आफ्नो खुसीको माध्यम भेटिरहेका छन् ।

संस्थाको एक छेउमा ह्विलचियरमा टुसुक्क बसेका धादिङका विष्णु पुकार श्रेष्ठ । जो तस्वीर कोर्नमै ध्यानमग्न थिए । टेबलमाथि पेपर थियो भने पेपरका वरीपरि विभिन्न रङका भाडाहरु पनि ।

‘आहा ! कति राम्रो बुद्धको तस्वीर बनाउनुभएको’ तस्वीरतिर हेर्दै हामीले सोध्यौं ।
उनी खिस्स हाँसे…. । ‘हो र हजुरहरुलाई राम्रो लाग्यो ?’ उनले प्रश्न गरे ।

‘यति राम्रो तस्वीर कसलाई मन पर्दैन र त्यसमाथि गौतम बुद्धको’ हामीले जवाफ दियौ ।

हामी तस्वीरको तारिफ मात्र गरिरहेका थिएनौं । हामीलाई उनीसँग कुराकानी गर्नु थियो । उनीसँग धेरै खुलेर कुराकानी गर्नुथियो । तर उनको ध्यान भने काम नै केन्द्रित थियो ।

कुराकानीका लागि हामीले अनुरोध गरेपछि भने उनले आफ्ना विगतलाई यसरी कोट्याए ।

वि.स. २०५० सालमा धादिङको सुनौलो बजारमा विष्णुको जन्म भयो । बाआमा, एक दिदी र एक बहिनी र विष्णु रहेको उनको सानो परिवार । परिवारका एक्ला छोरा पनि हुन् उनी ।

धादिङकै एक सरकारी विद्यालयमा अध्ययन गरे उनले । पढाइ पनि राम्रै थियो उनको । शैक्षिकमा भन्दा बढी खेलकूदमा उनको रुची बढी थियो ।

हरेक मान्छेले भविष्यमा के बन्ने भन्ने कुरा बाल्यकालमा नै सोचिरसकेको हुन्छ । अझ भन्ने हो भने उच्च परिवारमा जन्मेकाहरुको सोच हुन्छ ‘भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट बन्ने र त्यहीअनुसार बाटो तय गर्न लागि पर्छन् उनीहरु ।’

तर उच्च परिवारमा जन्मिएकाहरुको मात्र होइन । सपना आखिर हरेक मानिसले बनाएको हुन्छ । कतिका सपना पूरा हुन्छन्् त कतिका अपूरा । विष्णुले पनि भविष्यमा सेना बन्ने सपना देखेका थिए ।

‘मलाई बास्केटबल, किक्रेट र स्विमिङ एकदमै मन पथ्र्यो’ बाल्यकाललाई सम्झदै उनले भने ‘धेरै खेल्थे पनि ।’

धादिङमै एसएलसी पास गरे । एसएलसी सकिएसँगै पैसा कमाउनतिर उसको ध्यान गयो ।

रोजगारको खोजीमा राजधानी प्रवेश

१९ वर्षको उमेरमा रोगजार खोज्दै राजधानी पसेका विष्णुलाई नोकरी पाउन गाह्रो पर्‍यो । काठमाडौंको ठाउँ । काम नगरी बिहान बेलुका खान धौ–धौ । त्यसमाथि डेरा लिएर बस्नेहरुको समस्या उत्तिकै ।

रोजगारका खोजीमा धेरै भौतारिए । कहिलेकाही त उनलाई लाग्थ्यो वैदेशिक रोजगार तिर पो जाऊ कि क्या हो । तर उनले तत्काल कामका लागि विदेश जाने सोच भने बनाएनन् । फेरि त्यति धेरै खर्च गर्न सक्ने अवस्थामा पनि थिएनन् उनी ।

कामको खोजीमा धेरै हिँडे । काम मनपरेका ठाउँमा दाम चित्तबुझ्दो भएन । जसले अवसर पाए र गुमाएपनि ।

पछि उनको भेट घर निर्माण गर्ने ठेकेदारसँग भयो ।

चार तलामाथिबाट बजारिँदा

हिउँदको बेला । टन्टालापुर घाम । सानेपाकोस्थित निर्माण भइरहेको एउटा घर । त्यो दिन सम्झिँदा आज पनि आँखा रसाउँछन् । घरको प्लास्टर गर्न चार तलामाथि पुगेका थिए उनी । साथमा साथीहरु पनि थिए ।

दिउँसोको उज्यालो समय थियो तर उनलागि त्यो दिन जीवनकै अध्यारो बन्यो । प्लास्टरको काम गरिरहेका विष्णु अचानक चार तलामाथिबाट भुँइमा बजारिन पुगे ।

‘होस आउँदा वीर अस्पतालको बेडमा रहेछु’ खबरहबसँगको कुराकानीमा विष्णुले भने ‘काम गर्ने मित्रहरुले अस्पताल पुर्‍याउनु भएछ ।’

ढाँडमा समस्या देखिएको भन्दै वीरअस्पतालमा उपचार नहुने कुरा चिकित्सकले सुनाएको त्यो दिन उनको मानसपटलमा अझै ताजै छ ।

‘अस्पतालले उपचार हुँदैन भन्दा मलाई अब म बाच्नुको कुनै अर्थ छैन झै लाग्यो’ उनले भने ‘कराएँ चिच्चाएँ… तर कसैले सुनेन् जति चिच्याए पनि आखिर मेरो उपचार भएन ।’

वीर अस्पतालले विष्णुलाई नेपाल अर्थोपेडिक अस्पताल नारायणटार रिफर गर्दियो ।

अर्थोपेडिक अस्पतालमा आएपछि चिकित्सक र त्यहाँका अन्य विरामीको कुरा सुनेर विष्णुलाई मनमा लाग्न थाल्यो ‘मैले नयाँ जीवन पाउँछु कि ।’

डाक्टरले भनेका कुराहरु स्मरण गर्दै उनले भने ‘डाक्टरले तपाईंको मेरुदण्ड भाचिएको छ भन्नुभएको थियो ।’ विष्णुले उपचार सम्भव छ कि छैन भनेर सोध्दा डाक्टरले उपचार हुन्छ भन्दै सम्झाउने गर्थे ।

‘मैले चिन्ता लिन्छ भनेर पो त्यसो भन्नु भएको रहेछ’ विगतका दिनहरु सम्झिँदै विष्णुले भने ‘तर म त शारीरिक रुपमा अपाङ्गता भइसकेको रहेछु नि ।’

अस्पतालमा एक वर्षसम्म बसेका उनले उपचारको आशामा १२ लाख सके । अन्त्यमा चिकित्सकले मेरुदण्ड भाचिएको उपचार कहि पनि नहुने भन्दै आराम गर्नुस भनेर घर फर्काइदिए ।

साहरा खोज्दै धादिङ फर्किए

रोजगारले दिएको चोट उनको हृदयमा कहिल्यै मेटिन नसकिने गरी बिझ्न पुग्यो । परिवारको साथमा उनी जन्मथलो पुगे । ‘मज्जाले हिड्न र काम गर्न सक्ने छोरालाई काठमाडौंले अपाङ्ग बनाएको भन्दै बाआमा पिर मानेर रुनुहुन्थ्यो’ आँखाभरी आशु बनाउँदै विष्णुले भने ‘त्यो बेलाको अवस्था देखेर बाआमा मात्र होइन म आफैले पनि धेरै हार खाइसकेको थिएँ ।’

बाआमालाई सम्झाउनका लागि केही शब्द नभेटेको महशूस गर्थे विष्णु । ‘आफ्नो अवस्था देखेर आफैलाई बाच्नुको कुनै अर्थ छैन झै लाग्थ्यो’ खबरहबसँगको कुराकानीमा उनले भने ‘वरपर हिडडुल गर्न सक्ने सामथ्र्य थिएन म सँग कसैको सहारा बिना शौचालयसम्म पनि जान सक्दैन थिएँ ।’

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्विलचियर त थियो विष्णुसँग । तर ह्विलचियरमा हिड्न पनि असहज लाग्थ्यो उनलाई ।

पैसा कमाउन पुनः काठमाडौं

धादिङमा करिब २ वर्ष बेरोजगार भएर बसे विष्णु । त्यससँगै राजधनीको नारायणटारमा बीआइए नामक संस्था खुलेको आफन्तले विष्णुलाई सुनाए ।

‘त्यो संस्था चाहिँ अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिनका लागि विभिन्न सीप सिकाउने भनेर खुलेको रहेछ’ उनले भने ‘मलाई पनि गाउँबाट दाइले नारायणटारसम्म ल्याइदिनुभयो ।’

संस्थामा आएपछि भने बल्ल राहत महशुस भयो उनलाई । कारण–आफूजस्तै थुप्रै व्यक्तिहरु ह्विचियरमा हिडडुल गरेको देखे उनले । त्यसपछि भने आफूलाई पनि केही गर्न सक्छु झैं महशूस भएको उनले सुनाए ।

भगवानका तस्वीर कोर्न थाले विष्णु

‘रहर त सेनामा जागिर खाने थियो नि बहिनी’ उनले दुखी हुँदै भने ‘तर के गर्नु अपाङ्ग शरीरले सेना बन्ने सपना बन्द गरिदियो ।’

उनको शब्दमा निरासा थियो । उनको जीवनमा आइपरेका बज्रपातहरु साँच्चि नै सपना जस्तै थियो । त्यति मात्र होइन उनको मुहार पनि मलिन थियो । जुन विगतको दुख र भोगाइ उनी शब्द र अनुहार प्रष्ट देखाइरहेका थिए ।

संस्थाले दिएको केही महिनाको तालिम पछि विष्णुले राम्रा तस्वीर कोर्न थाले । जीवनले केही परिवर्तन ल्याएको महशूस गर्न थाले उनी र बाच्ने नयाँ आधार पाएको अनुभूति भयो उनलाई ।

शुरु–शुरुमा तस्वीर कोर्न पनि सहज भने थिएन । ‘पेन्सिल समाउँदा धेरै पटक बाङ्गो चित्र पनि कार्थे’ उनले भने ‘तर हार मानिनाँ अब भने यही क्षेत्रमा काम गरेर आफुलाई पाल्नु छ सोचेँ ।’

६ वर्षदेखि तस्वीर कोर्दै जीविकोपार्जन

६ वर्ष बितिसकेको छ उनले भगवानका तस्वीर कोर्न थालेको पनि । संस्थामार्फत विभिन्न तस्वीरहरु उतारिरहेका विष्णु संस्थाले खाना, लगाउन र केही खर्च दिने गरेको बताउँछन् ।

‘आकाशका तारादेखि विभिन्न भगवानका चित्र पेन्सिलले उतार्छु’ खुसी हुँदै विष्णु भन्छन्, ‘अरुले भन्दा छुट्टै काम गरिरहेका छु, यसमै रमाइलो लाग्छ ।’

एउटा तस्वीर राम्रोसँग उतार्न करिब ५ महिनासम्म लाग्छ उनलाई । उनले कागजमा उतारेका तस्वीर संस्थाले ५० हजार रुपैयाँभन्दा माथि बेच्ने गरेको उनको भनाइ छ ।

‘सपना पूरा नभएर के भयो त आज म स्वरोजगार भएको छु नि’ गर्व गर्दै उनी भन्छन्, ‘धेरै अपाङ्गता भएका व्यक्तिहरु वेरोजगार भएर बसेका छन्, उनीहरुलाई पनि केही सीप सिक्नुस् भन्छु ।’

‘ढाँडको मेरुदण्ड भाचियो त के भयो ह्विलचियरमै बसेर भएपनि जीवन पालेको छु’अन्तमा विष्णुले भने ‘शरीर अपाङ्ग हुँदैमा केही हुँदैन मन ठूलो बनाउनुस्, निरन्तर प्रयास र संघर्ष गर्नुस् असफल भन्ने कुरा हुँदैन ।’

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १० : ४१ बजे

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी