काठमाडौं-डाक्टर ढुण्डीराज पौडेल चिकित्सा क्षेत्रमा परिचित नाम हो । वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमूख डा.पौडेल नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका मनोनित सदस्य पनि हुन् । उनी नेपाल सरकारका ११ औं तहका विशेषज्ञ चिकित्सक हुन् । डा.पौडेल चितवनको रोटरी क्लबको पूर्व अध्यक्ष समेत हुन् ।
उनी आफ्नो विशेषज्ञता अनुसार बिरामी जाँच्नेसँगै चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माध्यमबाट आवाज उठाइरहने व्यक्ति पनि हुन् ।
बुबाको पण्डित बनाउने योजनालाई जितेर डाक्टर
पौडेल वि.सं. २०१८ माघ १८ गते बाग्लुङमा जन्मिएका हुन् । पौडेल ५ वर्षको हुदाँ उनको परिवार चितवन बसाइ सर्यो। बागलुङको खेतीले परिवार धान्न नसकेपछि सुखी जीवनको परिकल्पना गर्दै पौडेल परिवार चितवन सरेको हो । ४ दाजुभाइ र ४ जना दिदीबहिनीसहितको परिवारलाई धान्न पौडेलका बुबाआमालाई चितवनमा पनि निक्कै धौधौ पथ्र्यो । यही समस्यकाबीच उनको औपचारिक शिक्षा चितवनबाटै शुरु भयो ।
अस्पतालमा लापरबाही गर्ने चिकित्सकको छानबिन गरी कारबाही हुनुपर्छ । चिकित्सकलाई हातपात गर्नेलाई पनि कारबाही गरिनुपर्छ। चिकित्सा क्षेत्रको सुधारका लागि राज्यले स्वास्थ्य सेवाको जिम्मा लिनुपर्छ । आकस्मिक सेवा निशूल्क र प्रभावकारी हुनुपर्छ र स्वास्थ्यकर्मी संरक्षित हुनुपर्छ।
पौडेलले सुनाए ‘त्यतिबेला भर्खरै बसाइ सररे आएको ठूलो परिवार थियो, परिवारमा आर्थिक अवस्था नाजुक भएकाले म स्कुल जान पाइन ।’ पौडेलका बाबुले छोरालाई पण्डित बनाउनुपर्छ भनेर गुरुकुलमा संस्कृत पढ्न पठाए । औपचारिक शिक्षाको लागि विद्यालय जान नपाएपनि पौडेलले धार्मिक ज्ञान भने पाए ।
गुरुकुलमा संस्कृत पढ्दै गर्दा पौडेल दाइदिदीका नेपाली र अंग्रेजी पुस्तकहरु पनि घरमै बसेर पढ्थे । उनको रुची संस्कृत भन्दापनि दाइदिदीको नेपाली र अंग्रेजी पुस्तकमै थियो ।
पौडेललको रुची विद्यालयको पाठ्यापुस्तकमा देखेपछि छोरालाई औपचारिक शिक्षा नै दिनुपर्छ भनेर बाबुले ११ वर्षको हुँदा विद्यालयमा भर्ना गर्न लगे । औपचारिक शिक्षा अध्ययन नै नगरेका पौडेललाई बाबुले छोरालाई पण्डित बनाउने सपना त्यागे । पौडेललाई उनका बाबुले ६ कक्षामा भर्ना गर्न लगेपछि पौडेललाई शुरुमा विद्यालयले भर्ना लिनै गाह्रो मान्यो । दुईवटा विद्यालयले त पौडेलको भर्ना समेत लिन माननेन् ।
ती विद्यालयले भर्ना नलिएपनि उनी तेस्रो विद्यालय पञ्चकन्या निम्न माविले लिएको प्रवेश परिक्षामा पास भए र कक्षा ६ मा भर्ना भए । एक देखि ५ कक्षासम्म औपचारिक शिक्षा नै नलिएका पौडेल ६ कक्षामा कसरी पढ्न सक्ला भनेर सबैले सोचेका थिए । तर पौडेलले ६ कक्षाको वार्षिक परीक्षामा कक्षामा तेस्रो भएर सबैलाई चकित पारे ।
‘६ कक्षामा पढ्न सक्छ भनेर कसैले पनि पत्याएका थिएनन्, तर मैले मेहनत गरेर पढे, ६ कक्षाबाट ७ कक्षामा जाँदा तेस्रो भए,’ पौडेलले भने, ‘७ कक्षामा दोस्रो भए त्यहाँ ८ कक्षासम्म मात्रै भएर मैले स्कुल परिवर्तन गर्नुपर्यो ।’
पौडेलले कक्षा ८ देखि १० सम्म चितवनकै रत्न माध्यमिक विद्यालयमा पढे । पौडेलले सोही विद्यालयबाट २०३४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यतिबेला १ सय ३४ विद्यार्थीमध्ये प्रथम श्रेणीमा एसएलसी पास गर्ने एकमात्र विद्यार्थी उनै थिए ।
पहिलो पटक काठमाडौं आउँदा
२०३५ सालमा एसएससीको नतिजा आएपछि पौडेल उच्च शिक्षाका लागि पहिलो पटक काठमाडौं आए । लामो यात्राका क्रममा सिथिल बनाउने गरी भएको वान्ता सँधै उनको मानसपटलमा घुमिरहन्छ ।
‘२०३५ सालमा म पहिलो पटक काठमाडौं आएको थिए, बाटोमा वान्ता भएर काठमाडौं आउन निकै मुस्किल पर्यो,’ पौडेल सम्झन्छन्, ‘हेटौडाको बाटो हुँदै दुई दिन लगाएर काठमाडौं आउँदा बिरामी नै भए, त्यो घटना म कहिल्यै विर्सिदिन ।’
पौडेलले एसएससी परीक्षामा विद्यालयका प्रथम श्रेणीमा पास गरेका विद्यार्थी थिए । त्यतिबेला प्रथम श्रेणीमा पास गर्ने विद्यार्थीलाई ठूलै मान्यता दिइन्थ्यो । उत्कृष्ठ विद्यार्थीलाई जुन विषय पढेपनि विद्यालयहरु छानेरै निशूल्क पढ्ने अवसर सहजै पाइन्थ्यो । तर त्यसका लागि पनि प्रवेश परीक्षामा पनि उत्कृष्ट भने हुँनैपथ्र्यों ।
स्कुल पढ्दै गर्दा उनले इन्जिनियर बनेर ठूला–ठूला, घर,बाटो, पुल निर्माण गर्ने योजना बुनेका थिए । तर समयसँगै उनले आफ्नो भविष्यकको पहिलो सपना भने परिवर्तन गरे । उनी डाक्टर भन्ने सपना लिएर नै काठमाडौं आए ।
डाक्टर बन्न पाँच वर्ष गाउँमा हेल्थ असिस्टेन्ट
२०३५ सालमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा उनले हेल्थ असिस्टेन्टको कोर्ष शुरु गरे । २०३९ सालमा हेल्थ असिस्टेन्टको पढाइ सक्किए पनि एमबीबीएस अध्ययनको लागि ५ वर्ष ग्रामीण क्षेत्रमा हेल्थ असिस्टेन्ट भएर काम गर्नुपथ्र्यों । उनी २०३९ सालदेखि २०४४ सालसम्म रसुवा, शंखुवासभा, दाङ, सल्यान, रोल्पा लगायतका जिल्लामा काम गरे ।
५ वर्ष ग्रामीण क्षेत्रमा हेल्थ असिस्टेन्टको रुपमा सेवा प्रवाह गरेपछि पौडेलले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा दिन पाए । प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको दिन केही समय नाम निस्किँदैन कि भनेर दुःखी भएका उनको नाम प्रथम स्थानमा निस्किएछ ।
३ सातादेखि घाँटीमा हड्डी अड्किएर एकजना बिरामी उपचार गर्न आए, मैले शल्यक्रिया गरेर उनको घाँटीमा अड्किएको हड्डि निकालिदिए । त्यतिबेला बिरामीको ओठमा देखिएको मुस्कान अझै सम्झन्छु
‘प्रवेश परीक्षाको नजिता आउँदा अन्तिमबाट नाम हेर्दै गए, नाम आउँदै आउँदैन, झन्डै बेहोस् नै भइन्,’ पौडेलले भने, ‘एमबीबीएस पढ्न नपाइने भयो भन्दै सोच्न थाँले तर साथीले पहिलो नम्बरमै मेरो नाम रहेको देखाइदियो ।’
पौडेलले त्रिवि शिक्षण अस्पतालबाटै २०५० सालमा एमबीबीएसको अध्ययन पनि सके । एमबीबीएस सकेपछि उनी हेल्थ असिस्टेन्टबाट मेडिकल अफिसर भएर फेरी विभिन्न जिल्लाहरुमा काम गर्न थाले । उनले वीर अस्प्ताल, दोलखा, शंखुवासभा लगायतका जिल्लामा मेडिकल अफिसको रुपमा काम गरे । उनी वीर अस्पतालमा कार्यरत हुँदा २०५१ सालमा नेपाल चिकित्सक संघको कार्यबाहक महासचिवको जिम्मेवारी सम्हाल्ने अवसर समेत पाए ।
२०५६ सालमा पौडेलले नाक, कान तथा घाँटी रोगको विषयमा एमएस अध्ययन शुरु गरे । उनले एमएस अध्ययनरत चिकित्सकहरुको संगठन नेपाल रेजिडेन्ट डाक्टर एसोसियसको संस्थापक अध्यक्ष समेत भए । एमएस अध्ययन पुरा भएपछि पौडेलले विशेषज्ञ चिकित्सको रुपमा २०५९ सालदेखि २०६९ सालसम्म १० वर्ष चितवनको भरतपुर अस्पतालमा काम गरे । उनी नाक, कान घाँटी रोगको सर्जनको रुपमा विभिन्न जिल्लामा हुने शिविरमा समेत जान्थें ।
पौडेलले खुल्ला प्रतिस्पर्धाको परीक्षा उत्तिर्ण गरी २०६१ सालमा नेपाल सरकारको ९ औं तहको चिकित्सक भए । यस्तै २०७१ साल चैतमा पौडेलको ११ औं तहमा बढुवा भयो ।
११ औं तहमा बढुवा भएपछि पौडेलले वीर अस्पतालको नाक, कान तथा घाँटीरोग विभागको प्रमूखको जिम्मेवारी पाए । उनी वीर अस्पतालमा ५ वर्षदेखि नाक, कान घाटी रोग विभागको प्रमूखको रुपमा कार्यरत कार्यरत छन् ।
बिरामी खुसी हुँदा आनन्द लाग्छ
रोल्पाका एक व्यक्तिको ३ सातादेखि घाँटीमा हड्डी अड्किएको रहेछ । दाङमा नाक, कान, घाँटी रोगको सजर्नको रुपमा काम गर्दैगर्दा बिरामी उपचारका लागि आएका थिए। डा.पौडेलले सफलतापूर्ण शल्यक्रिया गरी उनको घाँटीमा अड्किएको हड्डि निकाल्दिए । ३ सातादेखि हड्डि अड्किएर तनावमा रहेका ती बिरामी खुसी भएर घर फर्किए । ती बिरामीले उपचार पाउँदा मुस्काएको पल डा.पौडेल अझै सम्झन्छन् ।
‘३ सातादेखि घाँटीमा हड्डी अड्किएर एकजना बिरामी उपचार गर्न आए, मैले शल्यक्रिया गरेर उनको घाँटीमा अड्किएको हड्डि निकालिदिए,’ डा.पौडेलले विगत सुनाए, ‘त्यतिबेला उपचार भइसकेपछि बिरामी निकै खुसी भए, उनको त्यो मुस्कान म अझै सम्झन्छु ।’
सबै जिम्मेवार भए स्वास्थ्य क्षेत्रको समस्या हट्छ
पछिल्लो समय चिकित्सा पेसामा विभिन्न खालका समस्याहरु देखिएका छन्। अस्पताल तोडफोड, उपचारको क्रममा चिकित्सकको लापारबाही, चिकित्सकमाथी हातपात भएका घटनाहरु बाहिर आउने गरेका छन् । यस्ता घटनाले चिकित्सकप्रति जनताको विश्वास कम र शंका बढी हुने गरेको छ । बिरामीको ज्यान बचाउने डाक्टरमाथी नै हातपात हुनु नकारात्मक कुरा भएको डा.पौडेल बताउँछन् ।
‘चिकित्सकलाई हातपात गर्नेलाई कारबाही गर्ने र कुनै पनि घटनामा उचित छानविन गरी गल्ती गर्ने चिकित्सकलाई गल्ती अनुसारको कारबाही गर्ने नीति हुनुपर्छ,’ डा.पौडेल भन्छन्, ‘चिकित्सा क्षेत्रको सुधारका लागि राज्यले स्वास्थ्य सेवाको जिम्मा लिनुपर्छ, आकस्मिक सेवा निशूल्क र प्रभावकारी हुनुपर्छ र स्वास्थ्यकर्मी संरक्षित हुनुपर्छ ।’
म राजनीतिमा लागेर स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार गर्छु, शिक्षा लाई प्रभावकारी बनाउँछु,’ डा.पौडेलले भने, ‘निस्वार्थ ढंगले सेवा गर्ने उदेश्यले खोलिएको राजनीतिक दलमा आवद्ध भएर कम गर्ने रहर छ
योजना राजनीतिको
डा.पौडेलको सेवाबाट अवकाश पाउन साढे दुईवर्ष बाँकी छ । सरकारी पेसाबाट अवकाश पाएपछि राजनीतिमा लाग्ने डा.पौडेलको योजना छ ।
‘मलाई राजनीतिमा चासो छ, तर सरकारी सेवामा रहँदा पार्टीको सदस्यता लिनु हुँदैन, त्यसैले मैले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको छैन,’ डा.पौडेलले भने, ‘सरकारी सेवामा रहन अढाइवर्ष मात्रै समय बाँकी छ, चिकित्सा पेसाबाट अवकाश पाएपछि म राजनीतिमा लाग्छु ।’
चिकित्सा पेसाबाट अवकाश पाएपछि राजनितिमा लागेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गर्ने डा पौडेलको अठोट छ ।
‘म राजनीतिमा लागेर स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार गर्छु, शिक्षा लाई प्रभावकारी बनाउँछु,’ डा.पौडेलले भने, ‘निस्वार्थ ढंगले सेवा गर्ने उदेश्यले खोलिएको राजनीतिक दलमा आवद्ध भएर कम गर्ने रहर छ ।’
प्रतिक्रिया