काठमाडौं– शालिकराम पुडासैनी प्रकरणमा छानविनका लागि पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेसँगै आफ्नो भविष्यवाणि मिलेको दाबी गर्ने एक ‘माता’ सामाजिक सञ्जालमा भाइरल छिन् ।
सविता सरु शर्मा नाम गरेकी उनले आफूले पहिले नै रविलाई यस विषयमा सचेत गराएको दाबी गर्दै आएकी छिन् । आफूले रविको फेसबुकमा म्यासेज पठाएको भन्दै विभिन्न युट्युब च्यानलहरुमा अन्तरवार्ता समेत दिँदै आएकी छिन् । उनले दिएका अन्तर्वाता सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
अन्तर्वार्तामा रविलाई संकट आउने र अझै संकट टरिनसकेको भन्ने उनको भविष्यवाणिलाई लिएर रविका केही समर्थकहरुले उनलाई गाली गलौज र अपशब्द समेत लेखेपछि उनीहरुलाई कारबाहीका लागि सविता प्रहरीसमक्ष पुगेकी छिन् । आफूलाई गाली गर्दै कमेन्ट गर्ने र धाकधम्की दिनेविरुद्ध सविताले अपराध महाशाखामा जाहेरी दिएकी हुन् ।
उजुरी दिएपछि माताले मिडियासंग कुराकानी गर्दै भनिन् “मलाई अमेरिकादेखि धेरै ठाउँबाट म्यासेज र फोनमा धम्की आउन थाले । रवि लामिछानेको नाम लिदै मलाइ धम्की आउन थाल्यो जसले गर्दा मलाइ डर त्रास हुन थाल्यो । मैले रवि लामिछानेलाई उनको जीवनमा आउने संकटको बारेमा म्यासेज गरेर भनेको कुरा उल्लेख गर्दा रविको समर्थकबाट अहिले एकोहोरो गाली र धम्की आउन थालेपछि म उजुरी दिन वाध्य भएँ ।’
सविताले रविलाइ अझै अफ्ठ्यारोको समय चलेको बताएकी छिन् । उनले शालिकराम प्रकरणबारे कुनै भविष्यवाणी नगरेको समेत स्पष्ट पारेकी छिन् । सविताले प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया