छोरा जन्माउने आशामा १३ सन्तान ! | Khabarhub Khabarhub

छोरा जन्माउने आशामा १३ सन्तान !


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्माइन् । १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिइन् । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो ।

‘समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ’, उनले भनिन् । अहिले उनी छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ७० जनाको अभिभावक हुन् । छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेशा–व्यवसाय गरेको देख्दा र सुन्दा उनी खुशी छन् ।

अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो- उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

‘१२ छोरा १३ नाति, हलो र जुवा बूढाको काँधमाथि’ भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमान्‌को साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए ।

‘दुःख गरेर भए पनि धेरै छोराछोरीको राम्रै पालनपोषण गरे, सबैका बिहेदान राम्रैसँग भयो, पहिला दुःख भए पनि अहिले त सुखसन्तोष हुँदै गएको छ, काखमा नातिनातिना खेलाउँदा रमाइलो लागेको छ’, उनले भनिन् ।

पहिला पहिला अशिक्षा र पुरानो संस्कारले जगेडिएको हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई धेरै महत्व दिने चलन थियो । अहिले भने छोरा नै जन्माउनुपर्छ भन्ने पुरानो संस्कार परिवर्तन भएको छ । मेलापात उकाली ओराली गरेर १३ सन्तान हुर्काउन पाउँदा आफूलाई खुशी लागेको विकका श्रीमती ६७ वर्षीय सुमित्रा विक बताउँछिन् ।

श्रीमान् आरन व्यवसाय चलाउने श्रीमती मेलापात घरधन्दा गरेर जीविका चलाउने विक दम्पती अहिले सुखसँग जीवन बिताउँदैछन् । कतिपय छोरा नजन्माएकै कारण महिलालाई घर निकाला, अपहेलना, शारीरिक तथा मानसिक याताना दिने गरिन्छ । विकट र दुर्गम गाउँमा यदाकदा छोरा नै जन्माउनुपर्छ भन्ने धारणा रहे पनि पछिल्लो समय पाल्पामा भने शिक्षाको पहुँच र चेतनाको विकासले छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकतामा परिवर्तन आउन थालेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : ५५ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र