मेलम्चीको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता | Khabarhub Khabarhub

मेलम्चीको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले आइतबार चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।

विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महिनामा पूरा गर्ने गरी कूल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा जिम्मा लिएको हो ।

द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरे ।

सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ ।

सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको छ । यस्तै स्थानीय ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनःनिर्माण, क्याम्पको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सिनोसँग आज बाँकी काम गर्ने विषयमा सम्झौता भएको जानकारी दिए । यस्तै बाँध निर्माणतर्फको सम्झौता पनि केही दिनभित्रै गर्ने तयारी भएको छ । बाँधतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्ग लगायतका काम गर्नुपर्नेछ ।

चिनियाँ कम्पनीले ठेक्का पाउनुभन्दा पहिल्यै आयोजनास्थलको स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिन सरकारसँग आग्रह गर्दै आएको छ । सम्झौता भएलगत्तै आयोजना स्थलमा परिचालन भएर काम शुरु गर्ने विश्वाससमेत चिनियाँ कम्पनीले दिलाएको छ ।

विशेष गरी नेपालको जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको भनेर प्रशंसा पाएको सिनो हाइड्रोसँगको सम्झौता पछि मेलम्ची खानेपानी आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ ।

सिनो हाइड्रोले निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न गर्नेगरी कार्यसम्पादन गरेको थियो । नेपाल विद्युत् प्राधिरकणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाको पनि भौतिक निर्माणको ठेक्का पाएको छ ।

सिएमसीले अलपत्र पारेपछि सरकारले विशेष निर्णय गरेर बाँकी रहेको काम १० वटा प्याकेजमा सक्ने गरी विभाजन गरेको छ ।

सोही क्रममा आज सिनो हाइड्रोसँग सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण पछिको एक वर्षसम्म सुरुङको मर्मतसम्भार तथा आवश्यक अनुगमनसमेत सिनो हाइड्रोले नै गर्नुपर्नेछ ।

खानेपानी मन्त्रालयले राष्ट्रिय आवश्यकता र काठमाडौँवासीको स्वच्छ खानेपानी पिउने अपेक्षालाई मध्यनजर गरेर समयमै काम गर्न सिनो हाइड्रोलाई आग्रह गरेको छ । सरकारले आवश्यक तयारी गरी जनशक्ति, प्राविधिक उपकरण तथा अन्य व्यवस्थापन गरेर तत्काल काम थाल्नसमेत चिनियाँ कम्पनीलाई आग्रह गरेको छ ।

सरकारले शान्तिसुरक्षा तथा अन्य समन्वयको काममा कुनै चिन्ता नलिनसमेत निर्माण व्यवसायीलाई आश्वस्त बनाएको छ । यस्तै मन्त्रालयले सिएमसीबाट पैसा लिन बाँकी रहेका स्थानीय ठेकेदार तथा सामान ढुवानीकर्ताको माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छ । खानेपानी मन्त्री बिना मगरले सबै प्रकारको समस्या समाधान गर्ने र आयोजनामा अब कुनै प्रकारको ढिलाइ हुन नदिने प्रतिबद्धता जनाइसकेकी छन् ।

मन्त्रालयले ठूला कामका लागि सिनो हाइड्रोलाई जिम्मा दिँदा बाँकी रहेका आठ वटा अन्य प्याकेजमा भने स्थानीय ठेकेदारलाई संलग्न गराएको छ । त्यसबाट निर्माणको ज्ञान हस्तान्तरण तथा स्वदेशी कम्पनीबाटै काम गराउन सकिन्छ भन्ने विश्वास प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ४० बजे

राज्यविरुद्धको कसुरमा टिकाराम भुसालमाथि अनुसन्धान सुरु

काठमाडौं–  नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो