मैदान अभावले विश्वकप छनोटको अभ्यास प्रभावित | Khabarhub Khabarhub

मैदान अभावले विश्वकप छनोटको अभ्यास प्रभावित



काठमाडौं-यतिबेला नेपाली राष्ट्रिय फुटबल टोली सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप तथा २०२३ मा हुने एसियन कप छनोटको तयारीमा व्यस्त छ । प्रशिक्षण शुरु भएको एक महिना भन्दा लामो समय भइसकेको छ । स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोलीको कमीकमजोरी नियाल्दै खेलाडीलाई त्यसमा अभ्यस्त बनाउने काम गरिरहेका छन् ।

सोमबार बिहान खबरहब टिम सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुग्दा नेपाली टोलीको प्रशिक्षणमा रहेका अधिकाशं खेलाडी मैदानमा थिए भने केही खेलाडी मैदानको बाँया पट्टीको कुनामा पानी पिइरहेका थिए ।

मैदानमा खेलाडीसँगै कुदिरहेका थिए, प्रशिक्षक योहान कालीन पनि । उनी खेलाडीको बलसँग यताउती गर्दै खेलाडीलाई निर्देशन दिइरकेका थिए । त्यस्तै, सहायक प्रशिक्षक किरण श्रेष्ठ मैदानको छेउबाट खेलाडीलाई प्रभावकारी खेल खेलाउन चर्को स्वरमा निर्देशन दिइरहेका थिए ।

आइतबार राति बर्षा भए पनि सोमबार बिहानको मौसम खुला रहेकाले होला सातदोबाटोस्थित मैदानमा साढे ९ बजे पुग्दा घाम चर्को थियो । असिन पसिन खेलाडी मैदानमा बलका लागि भौतारिइ रहेका थिए ।

यस्तै अभ्यासकै क्रममा चोटग्रस्त भएर १ हप्ता आराम गरेका नेपाली टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठले सोमबारबाटै अभ्यास शुरु गरेका छन् भने मलेसियाविरुद्धको मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका अर्का युवा खेलाडी अञ्जन बिष्ट पनि मैदान पुगेका थिए । उनी अभ्यासमा अभ्यस्त नभएपनि ‘लाइट’ अभ्यास गरिरहेका छन् । अञ्जन अर्को आइतबारबाट नियमित अभ्यासमा लाग्ने बताउँछन् ।

विराज महर्जनले नेतृत्व गरिरहेको टोलीको अभ्यासमा सबैभन्दा जुनियर खेलाडीका रुपमा यु-१८ टोलीका खेलाडी नितिन थापा छन् । ‘तयारी राम्रो भइरहेको छ । दिन दिनै फरक-फरक ‘शीर्षक’मा प्रशिक्षकले अभ्यास गराइरहेका छन् । साेमबारकाे दिन विङ्गरमा रहँदा कसरी दबाबको खेल खेल्ने भन्नेमा अभ्यास केन्द्रीत छ,’ सहायक गोलकिपर प्रशिक्षक नविन महर्जनले बताए ।

विश्वकप छनोटमा समूह ‘बि’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । यी चारवटै टोली नेपालभन्दा सबैकुरामा बलिया छन् । भौतिक संरचना, शारीरिक, मानसिक अवस्था र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिको वरियतामा पनि मजबुद छन् ।

फुटबलमा जति महत्व खेलाडीको खेल कौसलको हुन्छ त्यति नै उनीहरु शारीरिक र मानसिक रुपमा कति बलियो अवस्थामा छन् भन्नेले महत्व राख्दछ । जुन विश्वकप छनोटका अन्य टोलीका खेलाडी भन्दा नेपाली टोलीका खेलाडीसँग कम हुनेछ ।

‘टर्फ’ मैदानमा अभ्यास गर्दा खेलाडीले भोगेको पीडा कसैले महशुस गर्न सकेको छैन् । एसी रुममा बसेर कार्यालय सञ्चालन गरेको एन्फा सचिवालय, युवा तथा खेलकुदको नीति नियम बनाउने र कार्यान्वयन गर्ने युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिवले पनि खेलाडीको पीडा बुझेर त्यसलाई मलहम लगाउने काम गर्न सक्नुपर्छ । अनिमात्र सोचे अनुसार खेलको विकास हुनसक्छ ।

मन्त्रालयले नीति नियम बनाउने, बजेटको व्यवस्थापन र खेलाडीलाई प्रोत्साहन गर्ने गरेको छ । राखेप खेलकुदको पुर्वाधार निर्माणको मसिहा हो भने एन्फा नेपाली फुटबलको सर्वोच्च संस्था हो । फुटबलका सबै काम एन्फा मार्फत नै हुने गरेको छ ।

यी तिनवटै संस्थासँग आवद्ध व्यक्तिहरुको काम नै मैदानमा खेलाडीका लागि खेल्ने उचित वातावरण बनाउनु हो । कसैले पूर्वाधार उपलब्ध गराएर, कसैले उनीहरुको मूल्याङ्कन गरेर र कसैले प्रसस्त खेलको वातावरण बनाइ दिएर । तर, नेपालको हकमा यी तीनवटै संस्थाले नतिजा खोजिरहेका छन् । जुन सकारात्मक वा जीत ।

अघिल्ला बर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाल अन्तिम ४ बाट बाहिरियो । त्यतिबेला नेपाल हार्नुको मुख्य कारण बन्यो मैदान । खेलका क्रममा बर्षा भयो । घाँसे मैदानमा खेहिरहँदा बर्षाभएपछि मैदान हिलाम्मे बन्यो । जहाँ नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

तर, अहिले विश्वकप छनोटको खेल भइरहँदा पनि नेपाली टोली ‘आर्टीफिसियल’ मैदानमै छ । अभ्यास टर्फ मैदानमा गरेपछि घाँसे मैदानमा गएर खेल्नु पर्दा कस्तो किसिमको खेल हाम्रा खेलाडीले पस्किएलान भन्नेमा अहिले सम्बन्धित निकायको खासै ध्यान देखिदैन । एन्फाले पटक-पटक दशरथ रंगशाला उपलब्ध गराउ माग गरेपछि राखेप र खेलकुद मन्त्रालयले सम्बोधन गरेको देखिँदैन । जसका कारण भूकम्पले क्षति पुर्‍याएको ४ वर्ष वितिसक्दा पनि रंगशाला बनेको छैन ।

गएको बर्ष ए डिभिजन लिग सम्पन्न भइसकेपछि राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले खेलाडीका लागि दशरथ रंगशाला सबैभन्दा प्यारो स्थान भन्दै त्यहाँ खेल्न नपाउनु दुखद भनेका थिए ।

उनले झण्डै ७ महिनापछि सोमबार खबरहबकर्मीसँग विश्वकप र एसियन कप छनोटको खेल खेल्नका लागि पनि रंगशाला बन्न नसक्नु दुखद् भनेका छन् । ‘हामी खेलाडीका लागि सबैभन्दा प्यारो स्थान नै खेल मैदान हुन्छ । अझ मैले त त्यहाँ धेरै लिगहरु खेलेको छु । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छु,’ कप्तान महर्जनले भने,‘५-५ बर्षसम्म पनि रंगशाला बनाउन सरकार असफल रह्यो । यसमा के भन्नु ।’ ‘होम’ एण्ड ‘अवे’ पद्धतीमा हुने खेलमा नेपाल छनोटको पहिलो खेल कुवेतसँग ‘होम’ ग्राण्डमा खेल्ने गरी तालिका बनेको छ ।

नेपालले होम ग्राउन्डमा आउने पाहुना टोलीविरुद्ध सानदार प्रदर्शन गर्नुपर्ने हो। तर, पूर्वाधारको विकास नहुँदा खेलाडीले गरेको अभ्यास र मेहनल बालुवामा पानी जस्तै हुने देखिएको छ ।

जसमा नेपालले पहिलो खेल भदौ १९ गते नेपाल र कुवेतसँग खेल्दैछ । तर, कहाँ ? कसैलाई पनि थाहा छैन । कहाँ भन्ने प्रश्नको स्पष्ट जवाफ कसैसँग छैन् ।
नवनियुक्त सदस्य सचिव रमेश सिलवालले शुरुमा खेल रंगशालामै हुन्छ भने पनि ठेक्का दिँदा गरेको सम्झौता अनुसार निर्माण सम्पन्न नभइसक्दा मैदानमा खेल्न नहुने भन्दै चिनियाँ कम्पनीले बताएपछि राखेप नेतृत्व झस्किएको छ ।

एन्फाका महासचिव ईन्द्रमान तुलाधर सरकारले अहिलेसम्म रंगशाला निर्माण गर्न नसक्नुलाई दुखद् भन्छन् । यसैकाबीच एन्फाकाे म‌गलबार बसेकाे केन्द्रीय समितिकाे आकस्मिक बैठकले कुवेतसँगकाे खेल उसैकाे मैदानमा खेल्ने निर्णय गरेकाे छ ।

‘पहिलो खेल घरेलु मैदानमा पर्नु नेपालका लागि राम्रो संकेत थियाे । हामीले घरेलु मैदानमा खेल्नु पर्दा ‘होम’ ग्राउण्डको एड्भान्टेज हुन्थ्यो । तर, अहिले त्याे सम्भव भएन,’ तुलाधरले भने,‘रंगशाला हाम्रो जिम्मा दियो भने हामी बनाउन सक्थ्यौं । तर, दिनसकेको छैन् ।’

यता खेलाडीहरु भने अन्तर्राष्ट्रिय खेल घरेलु मैदान हुँदा दर्शकको साथ महत्वपूर्ण हुने बताउँछन् । कप्तान महर्जन भन्छन्, ‘हाम्रो टिम घरेलु मैदानमा खेल्न पाउने हो कि होइन भनेर चिन्तित छ । एउटा रंगशाला समयमा बनाइदिएको भए घरेलु मैदानमा खेल्न पाउँदा ठूलो राहत हुन्छ । दर्शकको साथले ठूलो महत्व राख्दछ । हामीले होममा खेल्नु जरुरी छ । हामीले घरेलु मैदानमा जित्यो भने अवे खेलमा ‘ड्र’ मात्रै गर्न सकेपनि राम्रो हुन्छ,’ महर्जन भन्छन् ।

महर्जनले टिमको तयारी राम्रो भए पनि घरेलु मैदानमा भन्दा अवेमा खेल्दा बढी दबाब रहने बताउँछन् । सन् २०१४ को विश्वकप छनोटका क्रममा नेपालले जोर्डनसँग अवे खेलमा ९-० को नतिजा भोगेको थियो भने होम खेलमा १-१ बराबरी गरेको थियो ।

यस्तै राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिन पनि टिमको तयारी राम्रो तरिकाले भइरहेको बताउँदै खेलाडीले राम्रो मेहनत गरिरहेको बताउँछन् । ‘तयारी उतार-चढावका साथ अगाडि बढिरहेको छ । हामी अहिले ‘पासिङ’ खेलमा ध्यान दिइरहेका छौं । त्यो सबै सामान्य तरिकाले भइरकेको छ,’ कालिनले भने,‘विपक्षी टोली राम्रो छन् । अस्ट्रेलियासँग उच्च स्तरका खेलाडी छन् । त्यस्तै, जोर्डन, कुवेत र ताइपेइपनि राम्रो टोली छन् । हामीसँग पक्कै पनि खेलका लागि विषेश योजना हुन्छ । त्यसका लागि हामी अहिले देखि नै लागिरहेका छौं ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : १७ बजे

योग र ध्यानमा जोड दिनु आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य

उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’

काठमाडौं–गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएका जनता

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट

टोकियो– जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री