पूर्वप्रधानाध्यापकको आकर्षक सुन्तला खेती, कम मेहनतमा धेरै आम्दानी « Khabarhub

पूर्वप्रधानाध्यापकको आकर्षक सुन्तला खेती, कम मेहनतमा धेरै आम्दानी



काठमाडौं–बाग्लुङका अनन्त खड्काले आठ रोपनी जग्गामा सुन्तला रोपेका छन् । यतिबेला उनको जग्गामा लहरै देखिने बोटमा हाँगाले भुइँ छुने गरी सुन्तला फलेका छन् । हरिया बोटमा पहेँलै देखिने सुन्तलाका बगैँचामा पुग्दा अनन्तलाई बिछट्टै खुशी मिल्छ ।

‘यी सुन्तलाको बोटको छेउमा आउँदा पनि मनै हल्का हुन्छ,’ प्रधानाध्यापकको जागीरबाट रिटायर्ड भएपछि सुन्तला खेती थालेका अनन्त सुनाउँछन्, ‘यी त सुन्तलाका दाना मात्र होइनन्, मेरो परिवार पाल्ने आधार पनि हुन् ।’

उमेरले साढे ६ दशक पार गरिसकेका छन् उनले । जीवनको यो कालखण्डमा उनले विभिन्न क्षेत्रमा काम गर्दै अहिले सुन्तला खेती गर्न लागि परेका छन् ।

सुन्तला उत्पादनले आफुलाई निकै सन्तुष्ट मिल्ने गरेको बताउँछन् उनी । गाउँमा बाझो हुँदै गएको जमीनको सदुपयोग गर्न सकेमा सहजै सुन्तला उत्पादन गर्न सकिने र राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ ।

सुन्तला खेती गर्न इच्छुक हुनेहरुका लागि खड्का प्रेरणादायी व्यक्तित्व पनि बन्न सक्छन् । जसले बाग्लुङका अन्य किसानलाई समेत सुन्तला खेती गर्न प्रेरित बनाएका छन् ।

खड्का वि.स. २०१० सालमा बाग्लुङको सिगानामा जन्मिए । गाउँमा जन्मिएका खड्काले खेतीपाती बारे राम्रो ज्ञान लिने अवसर अभिभावकबाट पाए ।

बाग्लुङबाटै एसएलसी उर्तीण गरे ०२९ सालमा । अध्ययनकै क्रममा पोखरा र काठमाडौंसम्म आइपुगे उनी । मानविकी र शिक्षा संकायमा स्तानक तह उतीर्ण गरे ।

२४ वर्षको उमेरमा प्रधानाध्यापक

स्नातक तहसम्मको शिक्षा हासिल गरेसँगै खड्काको जागीरे जीवन शुरु भयो । उनी शिक्षण पेशातिर प्रवेश गरे । उनका दिमागमा ती दिनहरु अझैपनि ताजै छन् । जति बेला उनले स्नातक तह उतीर्ण गरेका थिए र शिक्षण पेशातर्फ प्रवेश गरेका थिए ।

वि.स. २०३४ सालमा २४ वर्षको उमेरमा प्रधानाध्यापकका रुपमा बाग्लुङको सुखौरा स्थित महेन्द्र निम्न माध्यमिक विद्यालय पुगे ।

बाग्लुङको दुर्गम क्षेत्रका रुपमा चिनिन्छ–‘सुखौरा’ । उनको घरबाट विद्यालय पुग्न एकदिन लाग्ने हुँदा उनी सुखौरामै बसेर अध्यापन गराउन थाले ।

साढे दुई वर्षसम्म त्यही अध्यापन गराए उनले । त्यो बेला सेवा प्रवेश गर्न सजिलो थियो । ०४३ सालमा स्थायीमा नाम निकालेर माध्यमिक तहको अध्यापनका लागि गए उनी ।

शिक्षाका क्षेत्रमा निकै योगदान पुर्‍याएका उनले माध्यमिक तह अध्यापनको क्रममा १७ वर्षसम्म भीमसेन माध्यमिक विद्यालय बाग्लुङमै बिताए ।

२०५७ सालमा ‘स्रोत व्यक्ति केन्द्र’ खुल्यो जिल्ला शिक्षा कार्यालयमा ।

‘त्यहाँ मैले विद्यालयको निरीक्षण गर्ने र शिक्षकलाई विभिन्न प्रकारका तालिम दिने लगायतका काम गरेँ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘तीन वटा गाविसको एउटा स्रोत केन्द्र हुन्थ्यो, बाग्लुङमा ६० गाविस थिए भने २४ वटा स्रोत केन्द्र थियो । हामीले आफ्नो स्रोत केन्द्रका विद्यालयलाई कार्यक्षेत्र बनाएर काम गथ्र्यौ ।’

१४ वर्षसम्म स्रोत केन्द्रमा काम गरेसँगै उनी त्यहाँबाट सेवानिवृत्त भए । खड्काले ३३ वर्षसम्म शैक्षिक क्षेत्रमा योगदान पुर्‍याए ।

यसरी शुरु भयो सुन्तला खेती

त्यसो त खड्का शिक्षकबाट सेवानिवृत्त भइसकेका व्यक्ति । मासिक रुपमा तलव पनि आइहाल्थ्यो । खाना लगाउनलाई कुनै दुःख थिएन । सेवानिवृत्त हुँदा उनी ६१ वर्षका भइसकेका थिए ।

यसो हेर्दापनि घरमै बसेर खाने उमेर भइसकेका । तर उनलाई त्यसरी बसिरहन मात्र मनले दिएन । जसकारण उनी आफ्नो भएभरको बारीमा सुन्तला उत्पादन गर्ने सोच बनाए ।

वि.स. २०३७ सालतिर उनका बुबाले बारीमा सुन्तला लगाएका थिए । सुरुवाती चरणमा थोरै क्षेत्रफलमा लगाएको सुन्तलाले राम्रो उत्पादन दिएपछि बुबाले क्षेत्र विस्तार समेत गरिसकेका थिए ।

‘आर्मीमा सेवानिवृत्त भएपछि बुबाले सुन्तला खेती गर्नुभएको थियो’ मुस्कुराउँदै खड्काले भने, ‘मैले पनि शिक्षण पेशाबाट निवृत्त भएपछि यही पेशालाई निरन्तरता दिएँ ।’

त्यसो त बुबाले लगाएको सुन्तला खेतीमा उनकी आमाको पनि मेहनत थियो । ‘बुबाको मृत्युपछि पनि आमाले नै सुन्तला उत्पादन गर्नुभयो’ उनले थपे, ‘त्यसकारण पेशा निरन्तर अघि बढ्न पायो ।’

८ रोपनीमा सुन्तला खेती

६ वर्षदेखि भने खड्का सुन्तला खेतीमा उत्साहका साथ लागिपरेका छन् । बुबाले ३ रोपनी क्षेत्रफलमा उत्पादन गर्ने गरेको सुन्तलालाई उनले ८ रोपनीमा विस्तार गरिसकेका छन् । भन्छन्, ‘अहिले पुरै बारीभरी सुन्तला लगाएको छु ।’

अन्य खेती जस्तो सुन्तलालाई मेहनत गरिरहनु पर्दैन । वर्षमा एकपटक उत्पादन हुने हुँदा त्यति धेरै हेरचाहको जरुरी नहरेको उनको अनुभव छ ।

एउटै बोटमा ४ सय किलो सुन्तला

जब दशैं तिहार लगायतका चाडपर्व सकिदै जान्छन् तब सुन्तलामा रस भरिदैँ जान्छ । विस्तारै दाना बढ्दै जान्छन् र पहेलै भएर पाक्न थाल्छन् ।

सुन्तलाबारे बयान गर्दै खड्काले खबरहबसँग भने, ‘सुन्तला पाक्ने सिजन भनेकै मंसिर र पुस हो अहिले बगैँचा पुरै पहेँलो भएको छ ।’

बगैँचामा मात्र उज्यालो भएको छैन । किसानहरुको समेत मन र अनुहार उज्यालो भएको छ । यतिबेला खड्का पनि निकै दंग छन् ।

‘मेहनत गर्न सके सुन्तला राम्रो फल्छ हाम्रोतिर’ उनले भने, ‘एउटै बोटमा ४ सय किलोग्रामसम्म सुन्तला फलेको छ ।’

सुन्तला टिप्न चटारो

‘मंसिरबाट पाक्न थालेका सुन्तला अहिले टिप्न भ्याइनभ्याइ छ’ उनले खबरहबसँग भने, ‘१२ जना जति कामदार टिप्न र प्याक गर्ने, ग्रेडिङ गर्ने, गाडीमा लोड गर्न व्यस्त छन् ।’

अहिले खड्काले ४५ क्विन्टल सुन्तला बिक्री गरिसकेका छन् भने ८ क्विन्टल स्टोरमा राखेका छन् । थप ४० बोट अझै टिप्न बाँकी नै छ ।

खड्काले सेलर स्टोर समेत बनाएका छन् । आफ्नै जमीनमा बनाएको सेलर स्टोरमा उनले सुन्तला बजारमा पठाउन नपाएको खण्डमा २ महिनासम्म पनि जस्ताको त्यस्तै राख्ने गर्छन् ।

सुन्तला उत्पादनका हिसाबले जोन क्षेत्र घोषणा भएसँगै सिडानामा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाइरहेको उनको भनाइ छ । स्थानीय तहले किसानलाई अनुदान पनि दिने गरेकाले किसान थप प्रेरित भएको खड्काले बताए ।

सुन्तलाबाट वार्षिक ६ लाख आम्दानी

खड्काले ठूला दानाको ७० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरिरहेका छन् भने साना दानाको ३० रुपैयाँ प्रतिकेजी । ठूला व्यापारीलाई होलसेल नै दिने गरेको उनले बताए ।

‘राम्रो उत्पादन भएमा वार्षिक रुपमा ६ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’ उनले भने, ‘त्यही अनुसार काँटछाट, मर्मत र टिप्नका लागि कामदार पनि चाहिन्न्छ खर्चिलो पनि छ’ ।

४० वर्षअखि लगाइएका रुखमा पनि राम्रै सुन्तला फलिरहेको बताउँदै उनी भन्छन्, ‘विरुवा रोपेको २ वर्षदेखि फल्न शुरु गर्छ भने बोटको उचित हेरचाह गर्न सकेमा ६० वर्षसम्म त्यसले उत्पादन दिन्छ ।’

सुन्तलालाई वर्षेनि राम्रो उत्पादन गराउनका लागि खड्काले सुन्तला टिपिसकेपछि माघमा र जेठ–असारको महिनामा मर्मत तथा स्याहार–सुसार गर्ने गरेका छन् ।

‘माघतिर सुन्तला टिपेपछि सुकेका हाँगा काट्ने । निलो तुथो र चुना मिसाएर बोरो पेष्ट बनाई रुखको काण्डमा हाल्ने गर्छौ’ उनले भने, ‘पातमा पनि त्यसकै मिक्सर बनाएर छर्कदा बोटले राम्रो उत्पादन दिन्छ ।’

बाँझो बारीमा सुन्तला रोप्न अनुरोध

पछिल्ला समय युवाहरुमा वैदेशिक मोह बढ्दै गइरहेको छ । रोजगारको खोजीमा युवा भौतारिरहेका छन् । जन्मभूमि बाँझो र उराठलाग्दो बन्दै गइरहेको छ ।

गाउँबाट मानिसहरु शहरतिर प्रवेश गरिरहेका छन् । गाउँमा भएका जग्गा जमीन बाँझो बन्दै गएकाले खड्काले अनुरोध समेत गरेका छन् कि ‘भएको जमीनमा सुन्तला लगाइदिनुस् जग्गा खेर नफाल्नुस् ।’

‘बसाई शहरमै भएपनि गाउँका जमीनमा सुन्तला फलाउन सकिन्छ’ अन्तमा उनले भने, ‘दुई–तीन महिना मात्र हो यसको रेखदेख गर्नुपर्ने त्यसकारण आफुसँग भएका जग्गाहरुमा सुन्तला खेती गर्नुस् जग्गा बाँझो रहँदैन फलफूल पनि खाना पाइन्छ आम्दानी पनि राम्रै हुन्छ ।’

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : १६ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका