काभ्रेमा पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै | Khabarhub Khabarhub

काभ्रेमा पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरुआतदेखि गाउँमै जाने कार्यालयले जनाएको हो ।

वास्तविक लाभग्राही पहिचान अभियानअन्तर्गत पहिलो चरणमा भूकम्पका आवास अनुदान लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएर अन्य किस्ता सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाइने कार्यालय प्रमुख शिवप्रसाद लम्सालले बताए । उनले भने, ‘लाभग्राही सम्झौता गरेका तथा सूचीकृत भई सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाउन गाउँगाउँ जाने योजना बनाएका हौँ ।’

प्रवलीकरण लाभग्रहीमा सूचीकृत सयौँ पीडित परिवारले पूर्ण लाभग्राही कायम गरिदिन स्थानीय तहमार्फत निवेदन दिएकाले उनीहरुका अवस्थासमेत अनुगमन गरिने लम्सालले बताए । “सम्झौता गरी पहिलो किस्ता पनि नलैजानेको विशेष चासो दिनेछौँ”, उनले भने ।

सरकारले दिएको अनुदानले घर बनाउन नसक्नेले नबनाएका हुन् कि, वैकल्पिक घर भएकाले नबनाएका हुन्, सबै स्थानीय तहमा गएर अवस्था बुझ्ने प्रमुख उद्देश्य रहेको लम्सालले जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अवासलगायत पूर्वाधार पुनःनिर्माणको काम आउने वर्ष सक्ने योजना बनाएकाले जिल्लास्थित कार्यालय पुनःनिर्माणको अवस्था बुझ्न लागेको हो । लाभग्राहीको अवस्था बुझ्ने अभियानले उनीहरुको समस्या पहिचान गरी निरुपण गर्न कार्यालयले सहजीकरणसमेत गर्नसक्ने लम्सालले बताए ।

उनका अनुसार पहिलो किस्ता लिएर डिपिसी गरेको तर जग्गा संयुक्त नाममा भएका कारण दोस्रो किस्ता नपाएको गुनासो कार्यालयमा निकै आएको छ ।

भूकम्प प्रतिरोधी मापदण्डअनुसार बनाइएका घर सानो भएका कारण वासस्थानका रुपमा प्रयोग नगर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतमा ऋण उपलब्ध नभएकोलगायत समस्याले पुनःनिर्माणको काम प्रभावकारीरुपमा अघि बढ्न नसेकको कार्यालयले जनाएको छ ।

साथै, भौगोलिक कठिनाइका कारण बस्ती स्थानान्तरण तथा भूमिहीन परिवारको व्यवस्थापन प्रक्रियामा ढिलाइ हुँदा पुनःनिर्माणलाई तीव्रता दिन नसकिएको लम्सालले बताए ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ८४ हजार ५७० भूकम्पपीडित परिवारले आवास अनुदान सम्झौता गरेकोमा ९१ प्रतिशत अर्थात ७७ हजार २०५ लाभग्राही परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन् ।

यसमध्ये ७३ प्रतिशतले दोस्रो किस्ता र ६२ प्रतिशतले तेस्रो किस्ता रकम लिएका हुन् । कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ६२ प्रतिशत आवास पुनःनिर्माणको सकिएको जनाएको हो ।

यसैबीच, कार्यालयमार्फत जिल्लामा सञ्चालित पुनःनिर्माणको गतिविधिको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रेपलाञ्चोकले निगरानी गरिरहेको जनाएको छ ।

संस्थाको जिल्ला अधिकृत गङ्गा लामाले अनुदान कार्यालय तथा सञ्चारकर्मीसँगको ‘पुनःनिर्माण चुनौती र प्रगति’ विषयक अन्तक्र्रिया कार्यक्रममा लाभग्राहीले प्रकार बदल्न चाहनु, भौगोलिक कठिनाइ (यातायात), एकापसको समन्वयको अभाव, समय समयमा नीति नियमको परिवर्तन, लाभग्राहीले अनुदान रकम अन्यत्रै खर्च गर्ने, कतिपय लाभग्राहीको घर बनाउने भावना नभएका कारण पुनःनिर्माणको काम प्रभावकारीरुपमा अघि बढ्न नसेकको पाइएकाले सरोकारवाला निकायलाई पत्राचार गरी सुझाइएको बताए ।

त्यसो त, कार्यालयको तथ्याङ्कअनुसार सात हजार ३६५ परिवार अझै आवास अनुदान सम्झौता गरेका छैनन् । लाभग्राहीमा सूचीकृत नभएको भन्दै गुनासो गर्नेको सङ्ख्या पनि हजारौँ रहेको अवस्थामा सूचीकृत भूकम्पपीडित परिवार आवास अनुदान सम्झौता गर्न नआउनु निकै चासोको विषय रहेको देखिएको हो ।

कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५७ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ११ : ४८ बजे

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर

‘एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू’

एजेन्सी– हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले मुलुकलाई

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं– जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको