सन्धीखर्क- केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किसानलाई मङ्की एयर गन वितरण गरेको छ ।
कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका आठ वडामा पाँच थानका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।
दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दूक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।
जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली सखाप पार्दै आएको छ । अघिल्ला वर्ष छत्रदेव गाउँपालिकाले गाउँगाउँमा बाँदर हेरालुको व्यवस्था गरेको थियो ।
मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्ष साउनमा मालारानी गाउँपालिकामा एक जनाको ज्यानसमेत गएको थियो ।
प्रतिक्रिया