सभामुख चयन : नेकपाका अध्यक्षद्वयको सामर्थ्यको लडाई | Khabarhub Khabarhub

सभामुख चयन : नेकपाका अध्यक्षद्वयको सामर्थ्यको लडाई


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“मार्क्स भन्छन्, इतिहास दोहोरिन्छ । पहिलोपल्ट, दुखान्त नाटक (ट्राजेडी) बनेर । दोस्रोपल्ट, प्रहसन (फार्स) बनेर ।”

नेकपाको आन्तरिक द्वन्द्वले बिस्तारै प्रहसनको रुप लिदै गएको छ । सभामुख कोलागि आफ्नो तर्फबाट उम्मेदवार तय गर्न नसकेर पटक पटक संसद स्थगित गराउन बाध्य भएको नेकपालाई प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने आरोप लगाको छ ।

यौन प्रकरणमा मुछिएका कारण बाध्यतावश राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराको ठाउँमा अर्को व्यक्ति चयन गर्ने दायित्वलाई स्पष्ट बहुमत प्राप्त दलको नेतृत्वलाई फलामको च्युरा चपाए सरह भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेलाई आफ्नो पदबाट राजीनामा दिन पार्टीको सचिवालय स्तरमा गरिएको निर्देशन उनले अस्वीकार गरेकी छन् ।

सभामुखको राजीनामा प्रकरण देखिएको जस्तो सतही छैन । यसको वास्तविकता बुझ्न आन्तरिक राजनीतिक परिस्थिति बारे विश्लेषण गर्नु पर्ने हुन्छ । तत्कालीन सभामुख महराको बहिर्गमनका लागि तैयार पारिएको ‘हनि ट्रैप’ को पछाडि उनले सरकार द्वारा ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ एमसीसी संसदमा दर्ता भएपनि छलफलमा ल्याउन अवरोध सिर्जना गर्ने प्रयास लाई बुझ्नु जरुरी छ ।

अहिलेको नेपाली राजनीतिमा बहसको केन्द्र विन्दु रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन विधेयकलाई संसदमा पारित गराउनु सरकारका लागि शक्ति प्रदर्शन गर्ने अवसर पनि हो ।

नेकपाको आन्तरिक राजनीतिमा गुटबन्दी झांगिदै गएकोले पनि प्रधानमन्त्री केपी ओलीलाई आफ्नो सामर्थ्य देखाउनु पर्ने अनिवार्यता छ । पार्टी भित्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच जारी शक्ति संघर्ष पनि यसै विधेयक बारे सम्भावित परिणाम को आधारमा तय हुनेछ ।

सभामुख पदका लागि देखिएको शक्ति संघर्षको अन्तर्य उपसभामुखलाई पदमुक्त गर्नमा सीमित छैन । विरलै अन्तर्वार्ता दिने चिनियाँ राजदूतले पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन बारे खुलेर प्रतिक्रिया जनाएकी छिन् ।

पत्रकारसँगको भेटवार्तामा नेपाललाई आफ्नो विकासका लागि धेरै मुलुकको सहयोग आवश्यक भएपनि त्यस्को परिणाम र परिस्थितिको मूल्यांकन आफैले गर्नु उपयुक्त हुने बताएकी थिइन ।

चिनियाँ राजदूतको अन्तर्वार्ता लगत्तै नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड विश्राम गर्ने भन्दै सिन्धुपाल्चोकको रिसोर्टमा रात्री बसाइका लागि पुगेका थिए ।

तत्कालीन माओवादी नेता अग्नि सापकोटाको पुरानो सेल्टर मानिएको सिन्धुपाल्चोकमा कमरेड प्रचण्डको बसाई पछि उनको बोली र अडान रहस्यमयी ढंगले परिवर्तित भएको छ । रिसोर्टमा जानु भन्दा पहिला सभामुख पदका लागि सुवास नेम्वाङको नाममा सकारात्मक रहेका उनी त्यहाँबाट फर्किएर छुट्टा छुट्टै भेटघाट र गुटहरूको बैठकमा व्यस्त भए ।

यसै क्रममा भैंसेपाटीस्थित नेकपा नेता वामदेव गौतम को निवासमा भएको भेटघाट चर्चित बन्यो । यो बैठकमा सभामुखका लागि व्यक्तिका नाममा सहमति हुनु पूर्व उपसभामुखलाई राजीनामा गराउन तय गरियो ।

यसका साथै सोही बैठकमा आफुसंग असन्तुष्ट रहेका नेता गौतमलाई पनि अध्यक्ष प्रचण्डले सहज बनाउने प्रयास गरे । यही बैठकमा तय गरिए अनुरुप अर्को दिन पार्टीको सचिवालय बैठक गरेर उपसभामुख लाई राजीनामा दिन निर्देश गर्ने निर्णय भयो । तर भैंसेपाटी मिटिङबाट रुष्ट भएका प्रधानमन्त्री ओलीले सभामुख पदका लागि आफ्नो तर्फबाट उदासिन व्यवहार देखाए ।

परिणामस्वरूप परिस्थितिको अनुगमन गरिरहेकी उपसभामुखले पनि आफुलाई पार्टीले निर्देशित गर्न नसक्ने अडान लिएकी छिन् । आइतबारदेखि नयाँ सभामुख चयनको प्रक्रिया प्रारम्भ हुने आशा गरिए पनि सो सम्भव भएन र संसदलाई आउदो माघ ६ गते सम्मका लागि पुनः स्थगित गरिएको छ ।

पछिल्लो संसदीय निर्वाचनमा सीटको तालमेल गरेर चुनावमा भाग लिन पुगेको तत्कालीन एमाले र माओवादी पार्टीले सो स्पिरिटलाई पार्टी एकीकरणको लागि बाटो खुला गरिएको दाबी समेत गरेका थिए । औपचारिक रुपमा पार्टीको एकीकरण गर्दै निर्वाचन आयोगमा दर्ता समेत गरिएको छ ।

तर आयोगमा दर्ता भए पनि अहिलेसम्म दुवै दलहरु आ-आफ्नो पहिचान स्थापित राख्न यथासम्भव प्रयत्नशील छन् । दुवै दलको पुरानो कार्यालय यथावत रहेको छ भने कुनै पनि सरकारी नियुक्त हुन लाग्दा पुरानै हैसियत को आधारमा पदको बाँड फाड गरिँदै आएको छ । पार्टीको सांगठनिक संरचनामा पनि दुवै दलको प्रतिनिधित्व कोटा प्रणालीका आधारमा हुने गर्दछ । यसैले पनि नेकपाभित्र अहिले पनि पूर्वएमाले र पूर्व माओवादीको २ खेमा स्पष्ट देखिन्छ ।

यही क्रममा राष्ट्रपति पद तत्कालीन एमालेले पाउदा सभामुख पदमा तत्कालीन माओवादी नेता महरालाई नियुक्त गरिएको थियो । प्रधानमन्त्रीको पदमा दुवै पार्टीको अध्यक्षहरु पालैपालो बस्ने भनिएकोले अहिलेसम्म विवाद स्थगित रहेको देखिन्छ ।

पार्टी एकीकरण भइसके पनि माओवादीलाई सभामुख पद आफ्नै पक्षमा चाहिएको छ । यसका साथै संवैधानिक परिषदमा सबै सदस्य प्रधानमन्त्री पक्षीय मात्र भएकाले पनि सभामुख मार्फत प्रचण्डले आफ्नो उपस्थिति जनाउन खोजेका हुन् ।

अहिलेसम्मको राजनीतिक परिस्थिति बारे विश्लेषण गर्दा संसदको सभामुख पद नेकपाको दुवै अध्यक्ष बीच सामर्थ्य प्रदर्शन गर्ने अवसर र शक्ति प्रदर्शनको लडाई देखिएपनि अन्ततः यसको वास्तविकता अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग पनि जोडिन्छ ।

परराष्ट्र नीतिलाई व्यवस्थापन गर्न नसक्दा नेपाल अहिले भारत, चीन र अमेरिकाबाट प्राप्त हुन सक्ने सम्भावनाहरुलाई उपयोग गर्न सकिरहेको छैन । सार्क सम्मेलनका लागि मरिहत्ते गरिरहेका नेताहरुलाई बिमस्टेकको फाइदा देख्ने फुर्सद छैन ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदा देखाइएको अपरिपक्व कुटनीतिका कारणले भएको क्षतिबारे विश्लेषण गर्नु पर्नेमा महामहिम जिनपिंगको चीन, भारत र नेपाल सम्बन्धी टू प्लस वन अवधारणालाई बेवास्ता गरिएको छ । यसैगरी मिलेनियम च्यालेन्ज सहयोग मार्फत सम्भावित लगानीलाई पनि शंकाको घेरामा पारेर विफल बनाउने प्रयास जारी रहेको देखिन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : ०६ बजे

सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय

सरकारले स्टार्टअप उद्यमीलाई जेठ दोस्रो सातादेखि कर्जा दिने

काठमाडौं – स्टार्टअप उद्यमी (नवप्रवर्द्धक)हरूले जेठ दोस्रो सातादेखि स्टार्टअप कर्जा

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत

उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन

भक्तपुर- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी