राजनीतिक दलको कब्जामा सामुदायिक वन ! | Khabarhub Khabarhub

राजनीतिक दलको कब्जामा सामुदायिक वन !



अरुणखोला (नवलपुर)– शिक्षा, स्वास्थ्यदेखि वन, खानेपानी तथा सामुदायिक संघ संस्थाहरुमा दलीय प्रतिनिधित्वले पार्टीको चुनाव जस्तो हुने गरेको छ ।

सामाजिक संस्थाहरुमा राजनीतिक दलहरुले पार्टीको प्यानल नै बनाएर चुनाव भाग लिने मात्र नभई हरतरहले कब्जा गर्ने परिपाटी बढ्न थालेको छ ।

नवलपरासीपूर्व मध्यविन्दु नगरपालिका ११ कुसुण्डेको सामुदायिक वनमा विवादकाबीच नेपाली कांग्रेसले विजयी भएको स्वघोषणा गरेको छ ।

यसको पछिल्लो उदाहरण वनेको छ, नवलपरासीपूर्व मध्यविन्दु नगरपालिका ११ अरुणखोलास्थित जनजागरण सामुदायिक वन उपभोक्ता समूह ।

मंसिर २० गते उक्त सामुदायिक वनको ८ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि समूहमा कब्जा जमाउन मुख्यतः दुई राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच रस्साकस्सी चल्यो ।

दुई पार्टीका स्थानीय नेताहरुबीच सहमति नजुटेपछि निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्न भन्दै निर्वाचन प्रक्रिया सुरु भयो ।

मतदानबाटै नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएपछि दुई दलको संघर्ष झनै उत्कर्षमा पुग्यो ।

निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवार मनोनयन दर्तासम्म आइपुग्दा एउटा समूहले अर्को समूहको उम्मेदवार अपहरण गर्नेसम्मका घट्ना भए । मध्यविन्दु नगरपालिका ११ नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर दरैका छोरा जनक दरैले नेकपा समूहबाट उम्मेदवार बनेका जीतबहादुर कुमाललाई उम्मेदवार दर्ता गर्ने अवधिभर बेपत्ता बनाएपछि अर्को खैलाबैला मच्चियो ।

आफ्नो उम्मेदवारलाई निर्वाचनमै भाग लिनबाट रोकेर वातावरण असहज वनाएको भन्दै नेकपा समूहले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन प्रक्रियाबाट बाहिरियो । उम्मेदवार नै धपकपड गर्ने अवस्था आएपछि उपभोक्ताले सहज रुपमा मतदान गर्ने वातावरण नबन्ने भन्दै आफ्नो समूह निर्वाचन प्रक्रिया रोक्न माग गर्दै बाहिरिएको नेकपा समूहबाट अध्यक्षका प्रत्यासी इमानसिंह बस्नेतले बताए ।

विवाद चर्किँदै जाँदा निर्वाचन मण्डलका नेकपाका सदस्य कृष्ण पाण्डे पनि निर्वाचन मण्डलबाट बाहिरिएका थिए । निर्वाचन मण्डलकै सदस्य बाहिरिए पनि निर्वाचन मण्डलका अध्यक्ष सूर्यप्रसाद भण्डारीले निर्विरोध घोषणा गरी प्रकाशित गरिदिएपछि नेकपा समूहले अस्वीकार गर्दै आएको छ ।

नेपाली कांग्रेस समूहले भने अर्को समूह निर्वाचन प्रक्रियाबाटै बाहिरिएकाले आफूहरु निर्विरोध भएको दाबी गर्दै आएका छन् ।

निर्वाचनमा भाग नलिनेबारे भनेर निर्वाचन मण्डललाई निवेदन दिएका नेकपा समूहलाई पटक पटक बोलाउँदा पनि नआएकाले रित बमोजिम आफूले अन्तिम नामावली प्रकाशित गरेको र मंसिर २७ गते निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन मण्डलका अध्यक्ष भण्डारीले दाबी गरे ।

सहमतिमा जान पनि नमानेको र चुनावमा पनि जान नमानेपछि निर्वाचन मण्डलले आफूलाई अध्यक्षमा निर्विरोध घोषणा गरेको कांग्रेस समूहका अध्यक्षका प्रत्यासी ज्ञानबहादुर दरैले दाबी गरे ।

दुबै पक्षबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा भाग नलिएर एउटा समूह बाहिरिएपछि अध्यक्ष मण्डलले घोषणा गरेकाले आफूहरु बैध भएको कांग्रेस समूहबाटै कोषाध्यक्षमा निर्वाचित भनिएका प्रकाश ढकालले उल्लेख गरे ।

सहमतिको प्रयास गरिए पनि विगतदेखि नै दलीय भागबण्डा हुने गरेको स्वीकार्दै रित बमोजिम निर्विरोध घोषणा गरिएकाले आफूले पद हस्तान्तरण गरिसकेको निवर्तमान अध्यक्ष विमला सापकोटाले बताइन् । सापकोटा यसअघि दुई कार्यकाल वन समूहको नेतृत्व सम्हालेकी थिइन् ।

आफूहरुलाई उम्मेदवार मनोयन गर्नै नदिएर घोषणा गरिएको निर्वाचन आफूहरुलाई स्वीकार्य नभएको भन्दै नेकपा समूहले बहुमत उपभोक्ताको हस्ताक्षर जुटाएर डिभिजन वन कार्यालय नवलपरासीपूर्वमा बुझाएको छ ।

३ सय ७९ उपभोक्ता सदस्य रहेको जनजागरण सामुदायिक वनमा बहुमत उपभोक्ताको हस्ताक्षर डिभिजन वन कार्यालय नवलपुरमा बुझाइएको बस्नेतले बताए ।

निर्वाचन मण्डलका एक सदस्य बाहिरिएपछि पनि सहमति नजुटाइ एकपक्षीय निर्विरोध नयाँ कार्यसमितिलाई बहुमत सदस्यले अस्वीकार गर्दै आएका छन् । यसले गर्दा वन समितिको कार्यसञ्चालन मात्र होइन, वन संरक्षणमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  २ : १३ बजे

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर

जुनियर टेनिस प्रतियोगिता आजदेखि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा बुधबारदेखि पोखरामा चौथो संस्करणको

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

कञ्चनपुर– शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको

सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम- वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो ।