काठमाडौं – बाग्लुङसहितका ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकामा एक बालिका, एक महिला र १४ जना पुरूष छन् ।
संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका पुरूष हुन् ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमण भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया