झापा– इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय शाहकै मिलेमतोमा किर्ते नागरिकता वितरण भएको आशंकामा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
कार्यालय प्रमुख शाहसहित तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत अनुसन्धान शुरू गरेको हो । प्रशासनले यसको जिम्मा जिल्ला प्रहरी कार्यालय झापालाई दिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा कार्यालय प्रमुख शाह, कार्यालय सहयोगी आसिर आलम र गौरादह ७ का कृष्णप्रसाद तिम्सिना रहेका छन् । तीमध्ये तिम्सिना विचौलिया रहेको प्रहरीले जनाएको छ ।
झापाकै साबिक जुरोपानी ८ हाल गौरादह नगरपालिका वडा नं. ७ स्थायी ठेगाना देखाई अमृत राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९१, दीपिका राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९२ र बिशाल राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९३ को नागरिकता बितरण गरेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तर, ती नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभएको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
सफ्वेयरकै दुरूपयोग
उनीहरुले नागरिकता सम्बन्धी सफ्टवेयर नै प्रयोग गरी ति नागरिकताहरु किर्ते गरेको हुन सक्ने अनुमान गरिएको छ ।
अनुसन्धानका क्रममा ति नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात ति बिवरण सम्पादन गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरिएको पनि पाईएको छ ।
उनीहरु माथि प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दा चलाएको छ । जिल्ला अदालतले समेत अनुसन्धानका लागि ५ दिन म्याद थप गरी दिएको छ ।
नागरिकता वितरणमा किर्ते भएको आशंकापछि थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न पत्राचार भए अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया