सलहले बाली नष्ट गरेपछि किसान चिन्तित « Khabarhub

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्‍याएपछि चिन्तित छन् ।

बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्‍याएको किसानको जिकिर छ ।
भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गर्दै भने, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।”

सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने ।

स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पुर्‍याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।

मन्त्री आफैँ खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए । प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् ।

सलहले क्षति पुर्‍याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पुर्‍याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन ।

एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पुर्‍याएको छ ।

दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्‍याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : २३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना