चिनियाँ ठेकेदारको ढिलासुस्तीले राजमार्गको बिजोग « Khabarhub

चिनियाँ ठेकेदारको ढिलासुस्तीले राजमार्गको बिजोग



कावासोती (नवलपरासी)– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले राजमार्गको अवस्था नाजुक भएको छ ।

सडक विस्तारको क्रममा दर्जनौँ ठाउँमा सडक भत्काइएको छ तर काम भएको छैन । ठेकेदार कम्पनीले अनेक समस्या देखाएर ढिलासुस्ती गर्दै आएको छ ।

सडक विस्तारका क्रममा पुल निर्माणका लागि विभिन्न ठाउँमा बनाइएका डाइभर्सन भत्किएर बाटो अवरुद्ध हुने गरेको छ । ठाउँ ठाउँमा खोतल्दा सडक कमजोर भई भत्किन थालेको छ । यसले अत्यावश्यक सवारी साधनहरू समेत घण्टौँसम्म रोकिनुपर्ने बाध्यता आइलागेको छ ।

बुटल–नारायणघाट खण्डको ११३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले पाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा उक्त सडक खण्ड स्तरउन्नतिका लागि शिलान्यास गरेका थिए । यसपछि गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नति शुरु गरिएको थियो । सम्झौता अनुसार हालसम्ममा ७० प्रतिशत काम भइसक्नुपर्नेमा ६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

वर्षा शुरू भएसँगै गैँडाकोट र सुनवल खण्डमा डाइभर्सनहरू पटक पटक भत्किएर यातायात अवरुद्ध हुने गरेको छ। बुधबार रातिदेखिको वर्षाको कारण जङ्गलबाट आएको खोल्सोको भेलले बिहीबार बिहान नवलपरासीपूर्वको सदरमुकामस्थित राजमार्गको जग भत्काउँदा ३० घण्टा यातायात बन्द भयो ।

बाढीले कावासोती नगरपालिकाको थानाचोक नजिकै कल्भर्ट भत्किएको छ । बिहीबार बिहान ८ बजेदेखि अवरुद्ध सडक खुलाउन ढिलो गर्दा सयौँ गाडी अलपत्र परेका छन् । साना गाडीहरू कावासोतीबाट उत्तर वा दक्षिणतर्फको करिब किलोमिटर भित्री बाटो घुमेर वारपार गरिरहेका छन् ।

सडकको जग नै बगाएकोले मर्मतको काम भइरहेको र अस्थायी डाइभर्सनबाट हलुका गाडी पार भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । एक साताअघि गैँडाकोटमा एकै पटक चार वटा डाइभर्सन भत्किँदा यातायात चालु हुन दुई दिन लागेको थियो ।

यसअघि भूमही सुनवल तथा रुपन्देहीको देवदह क्षेत्रमा पनि डाइभर्सन भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । बेलैमा काम नगर्दा राजमार्गको अवस्था बिग्रिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) की प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकेदार कम्पनीलाई तीव्र गतिमा काम गर्न आफूले पटकपटक निर्देशन दिएको उनको भनाइ छ । मनसुनी वर्षा शुरू भएपछि उक्त मार्गको ठाउँ ठाउँमा साना ठूला धेरै खाल्डाखुल्डी छन् । सडकको खाल्डाखुल्डी नपुर्दा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाली मजदुरमाथि आक्रमण गर्ने र तलब नदिने जस्ता व्यवहारले ठेकेदार कम्पनी शुरूदेखि नै विवादमा पर्दै आएको छ । कम्पनीले काममा विलम्ब गर्दा कहिले हिलो र कहिले धुलोको सास्ती व्यहोर्नु परेको भन्दै राजमार्ग आसपासका बासिन्दाले पनि पटक पटक विरोधमा उत्रिने गरेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद ढकालका अनुसार कम्पनीले काममा ढिलासुस्ती गर्दा वायु प्रदूषण बढेकोमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अन्य निकायमा धेरै पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । उनीहरूले गाउँपालिकाको कार्यालयमा एकपटक तालाबन्दी पनि गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : १२ बजे

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यक : मुख्यमन्त्री थापामगर

काभ्रेपलाञ्चोक– बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले

लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

वेलिङ्टन- न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ