काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिएको भन्दै कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तुरून्त पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार वाग्मती प्रदेशसभामा सम्बोधन गर्दै वैद्यले ओलीले सत्ता जोगाउन जे पनि गरिरहेकाले देश जोगाउन नाथुराम गोड्से बन्न आफू तयार रहेको बताएका थिए ।
लगत्तै नेता बस्नेतले उनलाई तुरून्त पक्राउ गरि कारबाही नगरिए एमाले नेताको रक्षाका लागि कार्यकर्ता जे पनि गर्न तयार रहेको चेतावनी दिएका छन् ।
उनले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मार्ने षडयन्त्र बनाएको हो भन्दै कांग्रेसलाई प्रश्न समेत गरेका छन् ।
‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन् । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ । के पी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’
प्रतिक्रिया