गोरखाको रुईला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प « Khabarhub

गोरखाको रुईला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुईला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन् । त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन ।

भौगोलिक विकटताका कारण सडक विस्तारमा समस्या परेको हो । अहिले नेपाल सरकारले प्रत्येक पालिकाको केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयनमा लगेको छ । चुमनुब्री गाउँपालिका हालसम्म सडक सञ्जालले नछोएको पालिका हो ।

वर्षाले तल्लो बाटो भत्किएको र उत्तरी नाका पनि बन्द भएकोले माथिलो गाउँहरूमा दैनिक उपभोग्य समानको अभाव छ । चुमनुब्री क्षेत्रका नागरिकको दैनिक उपभोग्य सामग्री काठमाडौंबाट भन्दा चीनतिरबाट झर्छ ।

३५ नम्बर पिलर अर्थार रुईला भन्ज्याङबाट उनीहरू सामग्री खरिद गर्छन् । दुई वर्षदेखि बन्द नाका खुलाउने प्रयास कतैबाट नभएकोले खाद्यान्न अभाव सुरु भएको चुमनुब्री १ का सदस्य निमा लामाले बताए ।

‘हामी मात्रै कराएर भएन । राजनीतिक मान्छेहरूलाई भनेको हो । हामीलाई खानपिनमा समस्या भयो । हाम्रो जीवनशैली माथिबाटै चल्छ । नाका खोल्न धेरै प्रयास गरेको हो । खै अहिलेसम्म खुलेन,’ उनले भने, ‘घ्यु, चिया, नुन र पिठो तिब्बततिरबाट किन्नुपर्छ । तिब्बती नुन र चिया छुट्टै हुन्छ । काठमाडौंमा त्यस्तो पाउँदैन । पाए पनि ल्याउन पनि गाह्रो हुन्छ ।’

नाका खोल्न नेपाल पक्षले कुनै पहल नगरेकोले अहिले खुल्ने सम्भावना नभएको लामाले सुनाए । ‘वडाबाट पत्र गएको छ । मैले व्यक्तिगत रूपमा तिब्बत केरुङ प्रमुखसँग कुरा गरेको छु । उनीहरू नेपाली प्रतिनिधिले कुनै कुरा नगरेको जवाफ फर्काउँछन्,’ उनी भन्छन्, ‘केरुङ प्रमुखले तत्काल नखोल्ने कुरा गरेका छन् । दैनिकी चलाउन मुस्किल परिसक्यो ।’

तिब्बतबाट रुईला भञ्ज्याङसम्म मोटरबाटो खुलेको छ । गोरखामा ६ वटा नाका भए पनि रुईलाबाट मात्र सामान आयात निर्यात हुन्छ । कोरोना भाइरसका कारण दुई वर्षदेखि नाकामा हुने व्यापार मेलासमेत नलागेको लामाले बताए ।

‘एक वर्षमा तीन पटकसम्म बजार खुल्थ्यो । त्यतिबेला यहाँका मान्छेले सामान भण्डार गरिराख्थे । अहिले घरमा खाने अन्न छैन, जनताले धेरै दवाव दिएका छन्,’ उनी अघि भन्छन्, ‘माथि नाका बन्द हुँदा मनाङ र गोरखाबाट ढुवानी गथ्र्यौं । यता पनि बाटो अवरुद्ध भएको छ । के खाएर बस्ने ?’

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले स्थानीयकै माग बमोजिम नाका खोल्न गृह मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए । ‘उहाँहरूले निवेदन दिनुभएको छ । हामीले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई नाका खोल्न सहजीकरणको लागि पत्र पठाएका छौं,’ उनले भने, ‘नाका नखुल्दासम्म हेलिकोप्टरमार्फत भए पनि सामग्री ढुवानी गर्ने सरकारको दायित्व हो । तर, छिटै नाका खुल्छ होला ।’

चुम क्षेत्रका लागि हेलिकोप्टरमार्फत चामल ढुवानी भइरहेको छ । बाढीले बगाएका बाटाहरू मर्मत चलिरहेको छ । खासगरी मनाङतिरबाट उत्तरी गोरखाको ढुवानी सहज हुने भएकोले लार्के नाकालाई चुस्त राख्न पहल गरिएको मनाङको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले यो नाका तत्कालै खोल्नुपर्ने बताए । ‘माथिल्लो गोरखाको जीवन धान्ने नाका नै यही हो । लामो समय बन्द हुँदा दैनिकीमा समस्या परेको छ,’ उनले भने, ‘जतिसक्दो छिटो पहल होस् । तत्कालै नाका खुलोस् । म सरकारको ध्यानाकर्षण गराउँछु ।’ त्यहाँबाट साम्दो, ल्हो, विहि, प्रोक, चुम्चेत, सामागाउँ क्षेत्रमा सामान आयात हुन्छ । नेपालतिरबाट पनि च्याङग्राको ब्ल्यांकेट, जडिबुटीलगायत सामग्री चीनतिर निर्यात हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ०० बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ