नवलपुर– सानै उमेरदेखि गीत गाउने गरेका राजेन्द्र गन्धर्वको श्वर पहिलेजस्तो छैन । ऊबेला सबैको मन मुटुमा बस्ने गरेका राजेन्द्रले सारङ्गी बोक्दै हिडेको ५० वर्ष भयो ।
सात वर्षको उमेदेखि नै सारङ्गी बोकेर गीत गाउन शुरु गरेका उनी अहिले ५७ वर्षका भए । तर पनि गीत गाउने पेशामा बिराम लागेको छैन ।
गन्धर्व समूदायको पुर्ख्यौली पेशा सारङ्गी बजाउने हो । यो समुदायका मानिसहरु घरघरमा गएर सारङ्गीको मिठो धुनसँगै देश विदेशका घटनाहरुलाई गीतका माध्यामबाट प्रस्तुत गर्छन् ।
तर पछिल्लो पुस्ताले भने यो पेशालाई छाड्दै गएको छ । गुल्मी ठूलो पोखराका राजेन्द्रले भने आफ्नो पुर्ख्यौली पेशाको बिँडो थामिरहेका छन् ।
स्कुल पढ्दादेखि नै राजेन्द्रलाई सारङ्गी बजाउन र गीत गाउँन शिक्षकहरुले उत्प्रेरित गरे । घरबाटै सारङ्गी र मादल बोकेर विद्यालय गएको सम्झना उनलाई अहिले पनि ताजै छ ।
‘हरेक शुक्रबार स्कुलमा नाचगानको कार्यक्रम हुन्थ्यो, नाटक देखाउनु पर्दथ्यो,’ राजेन्द्रले बालपान सम्झिए, ‘हामी नभए विद्यालयमा नाचगान र नाटकको कार्यक्रम हुँदैनथ्यो ।’
आम्दानी भलपानीजस्तो
गन्धर्व समुदायको पुर्ख्यौली पेशाबाट मनग्गे आम्दानी हुने राजेन्द्रले उल्लेख गरे । तर यति नै आम्दानी हुन्छ भन्ने अवस्था भने नभएको उनको भनाइ छ ।
‘आम्दानी त हजुर भलपानी हो’, उनले भने, ‘कहिले मनग्गे हुन्छ, कहिले दुई चार पैसामा चित्त बुझाउनुपर्छ ।’
पुर्ख्यौली पेशाबाट आम्दानी मनग्गे नभएको होइन तर नयाँ पुस्ताले भने यो स्वीकार्न नसकेको उनको बुझाइ छ ।
आफ्नो पुर्ख्यौली पेशालाई यो उमेरसम्म पनि छाड्न नसकेकाका राजेन्द्रको छोराछोरीले भने पुर्ख्यौली पेशालाई अंगाल्न नचाहेको उनले बताए ।
सारङ्गी मात्र होइन, मादल र बाँसुरी बजाउने कला पनि उनीसँग छ । उनले सारङी, मादल, बाँसुरीहरु बजाउने मात्र होइन, आफै बनाउँछन् ।
स्थानीय रेडियोदेखि रेडियो नेपालसम्म
राजेन्द्र गन्धर्व गाउँघरमा मात्रै डुल्ने काम गरेनन् । सारङ्गी बोकेरै उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगे । ७७ जिल्ला मध्ये ६८ जिल्ला पुगेका उनले स्थानीय एफएम रेडियोदेखि रेडियो नेपालसम्म पुगेर गीत रेकर्ड गराएका छन् ।
१३ वर्षको सानै उमेरमा राजेन्द्रको श्वर मसिनो थियो । तिख्खर भइसकेको थिएन । त्यही उमेरमा उनले रेडियो नेपालमा गएर गीत रेकर्ड गराउने अवसर पाए ।
सानैदेखि जातीय विभेदको मर्म बुझेका उनले रेडियो नेपालको केन्द्रीय प्रशारणस्थल काठमाडौं पुगेर जातीय उन्मुलनकै गीत गाए । ‘ऐसेलुको पात, घर मिल्यो, मन मिल्यो, किन चाहियो जात’ भन्ने गीत उनले रेडियो नेपालमा रेकर्ड गराएका हुन् । आफूले रेकर्ड गराएको गीत रेडियो नेपालबाट बज्छ कि बज्दैन, उनलाई थाहा छैन । तर अहिले पनि त्यो गीत गाएर आफ्नो सारङ्गीमा ताल भर्न भने उनले बिर्सेका छैनन् ।
राजेन्द्र गन्धर्वले चर्चित लोकदोहोरी गायक राजु परियार, टीका पुनदेखि रामकृष्ण ढकालको साथ लागे पनि हिडे । विभिन्न ठाउँमा हुने मेला महोत्सवमा राष्ट्रिय कलाकारको साथमा बाद्यबादन टोलीसँगै उनले सारङ्गी बजाउने काम पनि गरे ।
कार्यक्रमहरुमा दिनभरी बाद्यबाधन टोलीमा रहेर सारंगी रेट्दा पाँच सय रुपैँया पाउने गरेको उनले सुनाए । कृष्ण कण्डेलको चर्चित कार्यक्रम इन्द्रेणीमा पनि पुगे । तर उनलाई त्यसरी पाउने आम्दानी चित्त बुझेन ।
हामी पत्रकार थियौं, नयाँ पुस्ताले अपमानित ठाने
गाउँघरमा डुलेर सबैको घरघरमा पुग्दा मायाँ ममता पाउने गरेको राजेन्द्रको स्मरण छ । पहिलेजस्तो मायाँममता पाइन्थ्यो, त्यस्तो मायाँ ममता छ अहिले छैन तर पनि उनले आफूलाई अपहेलित महशुस गरेका छैनन् ।
उनले आफूहरु पहिलेको समयमाका लागि पत्रकार भएको स्मरण गर्छन् । ‘त्योबेला पत्रपत्रिका, रेडियो, टेलिभिजन थिएनन्, हामीले नै समाचारको काम गर्थ्यौं’, राजेन्द्रले भने–‘देश विदेशमा भएका घटनाहरु घरघरमा गएर सुनाउथ्यौं, तर अहिले त कतिछिटो युट्युबमा आइहाल्छ ।’
आफ्ना लागि घटनाहरु पुराना भइदिने गरेको उनले बताए । प्रविधिको विकासले गर्दा अहिले आफूले पनि मोबाइल बोकेर हिडेको उनले देखाए ।
अर्काको घर आँगनमा गीत गाएर माग्दै हिडेको अनुभूति अहिलेको पुस्ताले गर्यो । राजेन्द्र भन्छन्, ‘पुर्ख्यौली पेशा अनि, आफ्ना कला संस्कृति संरक्षण गर्ने अभियान भए पनि समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको सोँच अहिलेको पुस्तालाई छ ।
प्रतिक्रिया