नेपाली कम्युनिस्ट‍ आन्दोलनका तीन धार | Khabarhub Khabarhub

नेपाली कम्युनिस्ट‍ आन्दोलनका तीन धार



भारतको कोलकातामा २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलाश श्रेष्ठले नेपालको पहिलो कम्युनिस्ट पार्टी गठन गरेका थिए । यसमा मोतिदेवी श्रेष्ठ पनि थपिइन् ।

त्यसको चार वर्षपछि, २०१० माघ १७ गते, ललितपुरको पाटनमा भूमिगतरूपमा सम्पन्न पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गर्‍यो। चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन अधिकारी नेतृत्वको प्रतिनिधि मण्डल चीन गएपछि केशरजङ्ग रायमाझी पार्टीको कार्यवाहक महासचिव भए ।

२०१४ जेठ १५ देखि २५ सम्म चलेको दोस्रो अधिवेशनमा पार्टीको दुई लाइन देखापर्‍यो। अधिवेशनमा पुष्पलालले पेश गरेको गणतन्त्रको कार्यक्रम र कार्यनीति पास भए पनि अधिवेशनबाट रायमाझी महासचिव बन्न सफल भए ।

२०१७ साल पुस १ गते संसद् विघटन गरी प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेर सबै राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएपछि कम्युनिस्ट आन्दोलनमा झनै ठूलो प्रभाव पर्‍यो। नेकपा महासचिव रायमाझीले राजाको कदमको स्वागत गरे । पुष्पलालले विरोध गरे ।

राजाको कदमलाई लिएर २०१७ साल फागुनमा भारतको दरभङ्गामा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा रायमाझी, पुष्पलाल र मोहनविक्रम सिंहको स्पष्ट तीन लाइन देखापर्‍यो। रायमाझी संसदीय व्यवस्थाको स्थापनाको, पुष्पलाल विघटित संसद् पुनःस्थापनाको र मोहनविक्रम संविधानसभाको पक्षमा देखिए । मत विभाजनबाट मोहनविक्रमको लाइन पास भयो ।

शाही ‘कू’ को समर्थन गरेको भन्दै दरभङ्गा प्लेनमले रायमाझीलाई महासचिवबाट हटाएर उनीसहित शम्भुराम श्रेष्ठ र डीपी अधिकारी रहने गरी तीन सदस्यीय सचिवालय गठन गर्‍यो। दरभङ्गा प्लेनमको विपरित नेतृत्व तहबाट काम हुन थालेपछि २०१८ भदौमा पाँच वटै क्षेत्रका प्रतिनिधिसहितको अन्तरजोन सामञ्जस्य समिति गठन गरियो ।

त्यही समितिको आयोजनामा २०१९ साल वैशाखमा भएको तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव चुनिए ।

तेस्रो अधिवेशनबाट कारबाहीमा परेको रायमाझी समूहले २०२३ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गरी २०२४ सालमा छुट्टै महाधिवेशन गर्‍यो। तुलसीलालसँगै रहेको पुष्पलाल समूहले पनि २०२५ सालमा छुट्टै सम्मेलन गरी पुष्पलाललाई महामन्त्री बनायो । तुलसीलाल र पुष्पलालले छुट्टाछुट्टै पार्टीको नेतृत्व गरे ।

यता, जेलमा रहेका नेताहरू मनमोहन, शम्भुराम र मोहनविक्रम जेलमुक्त भएसँगै उनीले २०२८ मंसिर २० गते केन्द्रीय न्युक्लियस गठन गरेर विभाजित पार्टीहरूको एकताको प्रयास गरेका थिए । तर, वार्ता सफल नभएपछि न्युक्लियसको एउटा समूहले २०३१ साल भदौ अन्तिममा भारतमा चौथो महाधिवेशन गर्‍यो । त्यसको नेतृत्वमा मोहनविक्रम आए । भक्तबहादुर श्रेष्ठ र निर्मल लामा पनि मोहनविक्रमकै पार्टीमा संलग्न थिए ।

२०२८ सालमै नेपाली कम्युनिस्ट आन्दोलनमा दुई वटा धार देखापर्‍यो। पूर्व कोशी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले विद्रोह गरी सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो, जसको नेतृत्व सीपी मैनालीले गरेका थिए । वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओली सोही झापाली समूहमा आबद्ध थिए ।

झापा विद्रोहीकै क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरिएको थियो ।

त्यस वेलासम्म कम्युनिस्ट पार्टी छिन्नभिन्न अवस्थामा पुगिसकेको थियो । झापा विद्रोहमा ठूलो क्षति हुने देखिएपछि २०३१ सालमा झापाली विद्रोही कमिटी र मोरङको क्रान्तिकारी सङ्गठनले २०३२ साल जेठमा संयुक्त सम्मेलन गरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी गठन गर्‍यो। त्यसपछि मुक्तिमोर्चा, क्रान्तिकारी कम्युनिस्ट सङ्गठक गण्डकी र दाङको सन्देश समूह पनि कोअर्डिनेशन कमिटीमा समेटिए ।

कोअर्डिनेशन केन्द्रले राष्ट्रिय सम्मेलन गरी २०३५ पुस ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठन गर्‍यो।

यता, २०३५ साल साउनमा पुष्पलालको निधनपछि बलराम उपाध्याय र सहाना प्रधानले पुष्पलालको पार्टी चलाए । पुष्पलालको पार्टी २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बन्यो ।

२०४६ सालमा संयुक्त आन्दोलनमा सहभागी मनमोहन नेतृत्वको मार्क्सवादी र सीपी मैनाली नेतृत्वको मालेबीच २०४७ चैतमा एकता भई नेकपा एमाले बन्यो । मदन भण्डारी महासचिव रहेको एमालेले संसदीय व्यवस्था अङ्गीकार गर्दै जनताको बहुदलीय जनवाद प्रतिपादन गर्‍यो।

यता, २०३२ सालमै पुष्पलाल समूहबाटै विभाजित भई नेपाल मजदुर किसान सङ्गठन तथा २०३६ सालमा सर्वहारावादी श्रमिक सङ्गठन गठन भएका थिए ।

अलग धारका रूपमा रहेको मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत संग्रह बहिष्कार गर्‍यो। सोही पार्टीका निर्मल लामाहरू जनमत संग्रह उपयोग गर्ने पक्षमा रहेपछि पार्टीभित्र गुटहरू सिर्जना भए ।

अन्ततः २०४० सालमा निर्मला लामा समूहले पार्टी फुटाएर नेकपा (चौम) बनायो । मोहनविक्रम समूहले नेकपा (मसाल) राख्यो । मोहन वैद्य (किरण), पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरू पनि मोहनविक्रमको मसालमा थिए ।

यता, २०४१ सालमा मोहनविक्रम नेतृत्वको मसालको पाँचौ महाधिवेशनमा आइपुग्दा फेरि अर्को विभाजनको रेखा कोरियो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको निष्कर्षसहितको प्रतिवेदन पेश गरेका थिए । महाधिवेशनको बहुमतले महामन्त्री सिंहको राजनीतिक लाइन पास गरे पनि सिंहलाई यौनदुराचारको आरोप लगाउँदै मोहन वैद्यलाई महामन्त्रीमा चयन गर्‍यो।

आफूलाई कारबाही गरेको वर्षदिनपछि मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नेकपा मसाल बनाएपछि किरण नेतृत्वमा नेकपा (मशाल) बन्यो । दुई पार्टी मोटो मशाल र पातलो मसालका रूपमा चिनिए । जतिबेला डा. बाबुराम भट्टराई लगायतका नेताहरू भने मोहनविक्रमसँगै रहे ।

किरण नेतृत्वका मोटो मशालले काठमाडौँमा नै प्रहरी बिटमा आक्रमण गर्नेजस्ता काम गरेपछि पार्टीले क्षति व्यहोर्नुपर्‍यो। पार्टीको योजना असफल भएपछि किरण महामन्त्रीबाट राजीनामा दिए ।

२०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्री चयन गर्‍यो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्तको रूपमा अङ्गीकार गर्‍यो । २०४६ सालको जनआन्दोलनमा मशालसहित विभिन्न साना पार्टी मिलेर बनेको संयुक्त जनआन्दोलन संयोजन समितिले सहभागिता जनायो ।

२०४७ सालमा पुनः प्रचण्ड नेतृत्वको मशाल, निर्मल लामा नेतृत्वको नेकपा (चौम), रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक सङ्गठनबीच एकता भई नेकपा एकता केन्द्र बन्यो । ०४७ सालमै बाबुराम भट्टराई, हरिबोल गजुरेल लगायतका नेताहरू मोहनविक्रम नेतृत्वको मसालबाट विद्रोह गरी एकता केन्द्रमा समाहित भए । सो पार्टीले २०४८ सालको संसदीय निर्वाचनमा समेत सहभागिता जनाई ११ सिटमा विजयी भयो ।

२०५१ सालको राष्ट्रिय सम्मेलनले सशस्त्र संघर्षमा जाने निर्णय गरेपछि निर्मल लामाहरू पार्टीबाट अलग भई नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल लगायतलाई समेटेर अर्को पार्टी बनाए ।

२०५१ साल फागुनमा प्रचण्डको नेतृत्वमा एकताकेन्द्रको विस्तारित बैठकले नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा तय गर्‍यो भने पार्टीको नाम नेकपा (माओवादी) राख्यो । नेकपा माओवादीले नै २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको घोषणा गर्‍यो।

मुख्यतः नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारले दक्षिणपन्थी संशोधनवाद अङ्गीकार गर्ने देखिएको भने एउटा मध्यमार्गी धारका रूपमा आउने देखिएको छ । संसदीय व्यवस्था नमान्ने अर्का कम्युनिस्ट शक्तिहरू क्रान्तिकारी धारका रूपमा आउने देखिएको छ ।

नेपालको कम्युनिस्ट पार्टीमा फुटको शृंखला यतिमा मात्रै सीमित रहेन । बहुदलीय प्रतिस्पर्धामा आई ठूलो पार्टी बनेको एमालेमा २०५४ सालमा फेरि विवाद भयो । भारतसँग महाकाली सन्धिका विषयमा भएको मतभेद हुँदा बामदेव गौतमले पार्टी फुटाएर नेकपा (माले) बनाए । उनीसँगै सीपी मैनालीसमेत थिए । त्यसपछिको निर्वाचनमा लज्जाजनक हार व्यहोरेपछि गौतम पुनः एमालेमै फर्किए । मैनालीले अझैसम्म नेकपा मालेको नेतृत्व गर्दै आएका छन् ।

यता, प्रचण्डसमूह जनयुद्धमा होमिएपछि २०५९ सालमा  मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो । दश वर्षे जनयुद्धमा होमिएर आएको माओवादीलाई हेर्ने दृष्टिकोणमा मतभेद भएपछि २०६३ सालमा नारायणकाजी समूह फेरि एकताकेन्द्रबाट अलग भए र प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भए ।

२०६२/६३ को जनआन्दोलनपछि शान्तिप्रक्रियामा आएको माओवादीले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लियो । पहिलो संविधासभाको असफलतासँगै नेकपा माओवादीबाट मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव छुट्टिएर नेकपा (माओवादी) बनाए ।

उनीहरूले दोस्रो निर्वाचनसमेत बहिष्कार गरे । डा. बाबुराम भट्टराईले मालेमावाद छाडेर नयाँ शक्ति बनाए । पार्टी विभाजनपछि दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड नेतृत्वको पार्टी नेकपा (माओवादी केन्द्र) तेस्रो पार्टीमा खुम्चियो ।

दश वर्षे जनयुद्धमा होमिएर आएको शक्ति छिन्नभिन्न भएपछि फेरि एकताको पहल गरियो । माओवादी शक्तिहरूबीच एकताको छलफल भइरहेकै बेला जनताको बहुदलीय जनवाद प्रतिपादन गरी संसदीय व्यवस्था अङ्गीकार गर्दै आएको एमालेसँग २०७५ जेठ ३ गते एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो ।

दुई पार्टी एकता घोषणा भएको अढाइ वर्ष नबित्दै विभाजनको रेखा कोरिएको छ । नेकपाको केपी ओली एकातिर र प्रचण्ड–माधव नेपाल अर्कातिर बनेका छन् ।

कम्युनिस्ट पार्टीमा अबको धार

पार्टी एकता घोषणाअघि नै मिलेर चुनावमा होमिएको एमाले र माओवादी केन्द्रको दुई तिहाई नजिकको बहुमत प्राप्त सरकारमा भएको किचलोकै कारण प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संसदवादी दलहरूमा रुवाबासी चलिरहेको छ ।

पछिल्लो राजनीतिक परिघटनाले संसदवादी दलहरूमा मात्र नभई संसदीय व्यवस्था अस्वीकार गर्ने पार्टीहरूमा समेत नयाँ हलचल पैदा हुने अवस्था आएको छ । अहिले पनि ठूला र साना गरी दर्जन बढी कम्युनिस्ट पार्टीहरू अस्तित्वमा रहेका छन् ।

पार्टीभित्रको अराजनीतिक झगडाले संसद विघटन गरिएपछि एकाथरी संसद पुनःस्थापना र अर्काथरीले नयाँ निर्वाचनका भनिरहेका छन् । यही परिदृश्यमा अब छिन्नभिन्न रहेको नेपाली नेपाली कम्युनिस्ट आन्दोलनलाई नै नयाँ ढङ्गले लैजाने अवस्था सिर्जना भएको छ । यसले नयाँ ध्रुवीकरण पैदा गर्ने निश्चित छ ।

मुख्यतः नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारले दक्षिणपन्थी संशोधनवाद अङ्गीकार गर्ने देखिएको भने एउटा मध्यमार्गी धारका रूपमा आउने देखिएको छ । संसदीय व्यवस्था नमान्ने अर्का कम्युनिस्ट शक्तिहरू क्रान्तिकारी धारका रूपमा आउने देखिएको छ ।

अहिलेको परिदृश्यले दक्षिणपन्थी संशोधनवादको नेतृत्व ओलीले गर्ने देखिएको छ भने मध्यमार्गी धारमा प्रचण्ड–माधव नेपाल देखापरेका छन् । मोहन वैद्य र विप्लवले क्रान्तिकारी धारको अगुवाइ गर्ने देखिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : १५ बजे

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ