महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, १५ घर डुबानमा « Khabarhub

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, १५ घर डुबानमा


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।”

महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीय छ सोनाह परिवार विस्थापित भएका छन् ।

“विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”,  गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ ।

तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए ।

“गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको थियो”, उनले भने, “त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । “अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो”, उनले भने, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।”

१५ घर डुबानमा

महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् ।

राति २:४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सात जनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शङ्कर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको परिवार छन् । “घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ”, सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भने, “मानवीय र भौतिक क्षति भएको छैन ।”

महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि छ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ ।

महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ । सोही स्थानबाट नदी बगिरहेको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान छ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्यूसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ५९ बजे

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी

काठमाडौं- काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न