मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य « Khabarhub

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।

तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए ।

“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।”

विसं २०५४ मा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारामार्फत औलाका विभिन्न टोलमा खानेपानी वितरण गरिएको थियो । पछिल्लो समय प्रायजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको मुहान पूर्णरुपमा सुकेको चार महिना भयो । मुहान सुकेपछि रिजर्भ ट्याङ्कीमा संसारेखोलाको पानी हालिएको छ ।

खोलाको पानी दूषित भएको, गाईबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताइन् ।

“खोलाको पानी दूषित छ”, उनले भनिन्, “गाईभैँसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौँ । साह्रै गाह्रो भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाइ गर्न र गाईबस्तुलाई खुवाउन समस्या भएको छ ।

मण्डली आधारभूत विद्यालयका विद्यार्थी पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । विद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ ।

धारामा पानी नआउँदा औलावासी घण्टौँ पालो कुरेर त्यही मुहानको पानी भर्छन् । बुहउद्देश्यीय सभाहल निर्माण योजनासमेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

खोलाको मुहानभन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ ।

लामो खडेरीले भूकम्पले खल्बलाएको मुहानमा असर परेर सुकेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गराउने तथा दीर्घकालीन हिसाबले निजी धारासहितको आयोजना निर्माण गर्न पहल गरेको बताए ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाँडफाँट भइसकेकाले बजेटको अभाव भयो”, उनले भने, “आउने वर्षमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारमार्फत बजेट विनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।”

रिमामा यो वर्ष प्रदेश सरकारले ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ४१ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व