महानगरकै सडक डेढ महिनादेखि पहिरोले अवरुद्ध « Khabarhub

महानगरकै सडक डेढ महिनादेखि पहिरोले अवरुद्ध


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिरोले अवरुद्ध बनेको छ ।

महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ्रे सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिरोले अवरुद्धपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

पक्की सडक लामो समय अवरुद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन् । अहिले माछापुच्छ्रे गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन् । माछापुच्छ्रे गाउँपालिकाका आधाभन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवतजावत गर्ने गरेका थिए ।

माछापुच्छ्रे–२ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौँ सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ्रे गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरुद्ध हुँदा आफूहरुले ठूलो दुःख र सास्ती पाएको बताए । उनले पहिरोले बन्द सडक डेढ महिना व्यतित हुँदासमेत खुलाउने प्रयास नभएकामा आक्रोश व्यक्त गरे ।

उनले भने, “बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौँ । अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद् र लाजमर्दो भएको छ ।”

बेंसीचोकमा सडकमाथिबाट खसेको पहिरोले बाटो अवरुद्ध बनेको हो । यसैगरी सडकको तल्लो भागसमेत पहिरोले बगाएको छ । गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो । त्यस बेला पनि लामो समय सडक अवरुद्ध बनेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिरोले पुनः बगाएको हो ।

पूर्वाधार कार्यालय कास्कीका इञ्जिनीयर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी महानगरपालिकाको भएको बताउनुभयो । गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उहाँले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले बर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिए ।

पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताए ।

महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिवी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उनले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिए ।

दिनहुँ पानी परेकालेसमेत सडक खुलाउने काम तीव्रताका साथ अघि बढाउन समस्या भएको उहाँ बताउनुहुन्छ । “छिटो कसरी सडक खुलाउने भनेर अहिले हामीले काम शुरु गरेका छौँ”, वडाध्यक्ष पौडेलले भने, “पहिरोभन्दा तल सिँचाइ नहर र खानेपानीको पाइप रहेकालेसमेत काममा केही कठिनाइ छ । तत्कालका गाडी वारपार कसरी गर्न मिल्ने बनाउन सकिन्छ,त्यसतर्फ केन्द्रित छौँ ।”

पटकपटक सोही ठाउँमा पहिरोले दुःख दिएकाले बर्खा रोकिएपछि पहिरोको समस्या दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँगसमेत सहकार्य गरेर काम अघि बढाइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ०१ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा