विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साउन २१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ६ , २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

दक्षिण कोरियामा कोरोना भाइरस

दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १ लाख पुग्न थालेको छ । पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित पाइएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।

एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।

अफगानिस्तानमा हिंसा

अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ ।

सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो । घटनाको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको छ ।

अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ । यसअघि पनि सो समूहमाथि पटक पटक आक्रमण हुने गरेको थियो ।

बङ्गलादेशमा इन्धनमा मूल्यवृद्धि

बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।

बङ्गलादेश सरकारले इन्धनको मूल्य ५१ दशमलब ७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका पुगेको छ । हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रालको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२ दशमलब ५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ ।

खुद्रा स्तरमा पछिल्लो मूल्य वृद्धि राज्य सञ्चालित वितरण कम्पनीहरूलाई दिइएको सहुलियतको बोझ कम गर्न अपरिहार्य भएकाले इन्धनको मूल्य बढाइएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । साथै मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बङ्गलादेशको भन्दा धेरै बढी भएको बताएको छ ।

आर्थिक क्षेत्रका जानकाररूले इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई बढाउने बताएका छन् गत जुनमा मुद्रास्फीति बढेर ७ दशमलब ५६ प्रतिशत पुगेको थियो । बितेका नौ वर्षयता पहिलोपटक यति उच्च बिन्दुमा मूल्यवृद्धि पुगेको हो ।

श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने

श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।

सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो । विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलङ्कामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताए ।

सन् २०२२ जुनमा श्रीलङ्काको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति दिएको थियो । आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धन अभावपछि श्रीलङ्काले यो कदम चालेको हो ।

बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु

बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् ।

उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो ।

रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए ।

उक्त दुर्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पाकिस्तानमा उपनिर्वाचनको मिति घोषणा

पाकिस्तानमा उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।

आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।

गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गरेका थिए । उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।

उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो ।

जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …
अमेरिकाको पेन्सलभेनिया राज्यको नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।

अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होज पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए ।

आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुई सन्तानसम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै रह्यो ।

बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो । ज्यान गुमाउनेहरू पाँच, छ र सात वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्ध छन् । घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन । आगोले ज्यान लिएकाहरूको शवको परीक्षण आगामी साता गरिने अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन । त्यसको अनुसन्धान भइरहेको छ ।

बेकरले पाएको आगालागीको सूचनाअनुसार उनको परिवारका सदस्यहरूको बासस्थान नजिकको कुनै घरमा आगो लागेको थियो तर उनले घटनास्थलमा आइसकेपछिमात्र आफ्नै घर जलेको थाहा पाए । चालीस वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए । अधिकारीहरूका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्नसक्ने अवस्था नै थिएन ।

आशियान बैठक

कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) अघिल्लो जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताएका छन् ।

‘आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ… व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,’ उनले भने । उनले आसियान विदेश मन्त्रीहरूको ५५ औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

शुक्रबार जारी गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा विदेशमन्त्रीहरूले क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताएका छन् ।

‘यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

यसमा १० सदस्य राष्ट्रहरू ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया–प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् ।

विश्वको सबैभन्दा ठूलो व्यापार समूहले २ दशमलब २ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६ दशमलब २ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ । यसले विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ०१ बजे

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक