दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर सत्ता गठबन्धनको बैठक भोलिसम्मका लागि स्थगित, गठबन्धन नटुट्नेमा देउवा ढुक्क , अध्ययनको पहुँच पु¥याउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, कोरोनाका कारण थप २ जनाको मृत्यु, कैलालीमा लागुऔषध सहित एक जना पक्राउ लगायतका समाचारले प्रमुख स्थान पाए ।

 

सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक भोलिसम्मका लागि स्थगित

सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । नेपाली काँग्रेस , नेकपा माओवादी एकिकृत समाजवादी बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

गठबन्धन नटुट्नेमा देउवा ढुक्क 
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको पनि उनले जिकिर गरे ।

पार्टीलाई बेफाइदा हुनेगरी सिट बाँटफाँटमा सम्झौता नहुने उनको भनाइ थियो । गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको पनि उनले तर्क गरे । गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । देउवाले प्रजातन्त्र सुदृढीकरणका लागि बीपीको भूमिका अग्रणी रहेको उल्लेख गरे ।


नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिको राजीनामा दिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन्।

पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनस् दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ,’ उनले भने, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँले यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ यो ‘इस्यु’। अदालतको फैसलापछि त्यो अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ।’

यस्तै प्रचण्डले अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नतोकिने भन्दै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने बताए। उनले भने, ‘मैले त भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुन सक्थेँ। ०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो। तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो।’ अहिले पनि प्रधानमन्त्रीको कुरामा छलफल नभएको उनको भनाइ छ।

व्यापार घाटा कम गर्न सरकारले ध्यान दिएन : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको बताएका छन् ।

काठमाडौंमा आज नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौति गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान नसकेको बताए । उनले धेरै कमिशन खोज्ने व्यक्तिहरु नै सरकारमा पुग्ने गरेकाले मुलुकको बिकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए ।

आफ्नो मात्र लाभ खोज्ने नेताहरु धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाई छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र बिकास गर्ने आधार रहेको भएपनि त्यसलाई बिकसित र आधुनिकिकरण गर्न नसकिएको जिकिर गरे नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भएपनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदाशिन रहेको जिकिर गरे ।

जनताकाे इच्छा अनुसार विकास हुनुपर्नेमा पम्फा भुसालको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।

ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै मन्त्री भुसालले जनता सहभागिता नभएको विकास सफल नहुने भन्दै जनतासँग सहमति लिएर मात्र विकासका आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् ।

नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अध्ययनको पहुँच पु¥याउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छिन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा आज काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन् ।

उनले आम नागरिकसम्म अध्ययनको पहुँच पु¥याउनुपर्नेमा जोड दिइन् । यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् । त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन ।

कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो । भोलिसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

कोरोनाका कारण थप २ जनाको मृत्यु
नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइयो
काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए त्यस्तै राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगाएतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभएको थियो ।

विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ
कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै उता मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित एकनम्बर ढाटबाट पनि ४ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने ३१ वर्षीय रणबिर बज्राचार्य रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ३७ बजे

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन

कांग्रेस तेलको कि पानीको ?

नेपाली कांग्रेसमा यतिखेर भावी नेतृत्वको चर्चा चलिरहेछ । वर्तमान सभापति

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग

दमौली– जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन

नेपालले प्यालेस्टिनलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय क्रान्तिकारी मोर्चाले पनि प्यालेस्टाइनमा भइरहेको इजरायल र अमेरिकी हस्तक्षेपविरुद्ध

इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन